Like us!
Follow us!
Connect us!
Watch us!

कालापानी नेपालको भूभाग हो - नेता नेपाल

अर्थ संसार

आइतबार, ०१ मंसिर २०७६, १९ : ५९ मा प्रकाशित

कालापानी नेपालको भूभाग हो - नेता नेपाल

अर्थ संसार, काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कालापानी लगायतको भूमि नेपालको रहेको भन्नेमा कुनै दुविधा नरहेको बताउनुभएको छ । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कालापानी क्षेत्र नेपालको भएको उहाँले उल्लेख गर्नुभयो ।

 “सरकारले यो विषयलाई स्पष्ट पारिसकेको छ । अब कूटनीतिक पहल गरी तत्काल नेपाली भूमि फिर्ता ल्याउनुपर्छ”, नेता नेपालले भन्नुभयो । नेपाल वैकल्पिक अध्ययन समाजले आज यहाँ आयोजना गरेको ‘नेपाल–भारत–चीन सम्बन्ध टु प्लस वान कि त्रिपक्षीय’ विषयक छलफलमा उहाँले नेपालको हितलाई केन्द्रमा राखेर सीमा समस्या समाधान गर्न कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

 सबै छिमेकी देशसँग मैत्रीपूर्ण सम्बन्ध राखेको दृष्टान्त पेश गर्दै नेता नेपालले विश्वका दुई उदीयमान अर्थतन्त्र भएका छिमेकी चीन र भारत जस्ता देशसँग थप विकसित सम्बन्ध जरुरी रहेको प्रष्ट पार्नुभयो । द्विपक्षीय विषयमा नेपालका राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रले राम्रो तयारी नगर्दा वार्ताका क्रममा अपेक्षित परिणाम आउन नसकेको भन्दै उहाँले आवश्यक तयारी गरेर तर्क सङ्गत तरिकाले छलफल गर्दा जस्तोसुकै समस्याको समेत समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

 चीन र भारतको बीचमा रहेको नेपाल एकअर्का मुलुकलाई जोड्ने पुल बन्नुपर्नेमा जोड दिँदै उहाँले अन्य देशसँग पनि सम्बन्ध विकास र विस्तारमा कुनै कञ्जुस्याइँ गर्न नहुने बताउनुभयो । उहाँले आफू परराष्ट्रमन्त्री भएका बेला फूलबारी–बङ्गलाबन्ध मार्ग खुलाउने विषयमा भारतसँग स्पष्ट संवाद गरेको प्रतिफल प्राप्त भएको उल्लेख गर्नुभयो ।

 कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले दुई छिमेकीसँग राष्ट्रिय हितलाई केन्द्रमा राखेर विभिन्न खालका संयन्त्र बनाउन सकिने धारणा राख्नुभयो । उहाँले दुई देशसँग विशिष्ठ प्रकारको सम्बन्ध रहेको भन्दै अन्तरराष्ट्रियस्तरमा नै चीन र भारतले गर्ने सम्झौताको प्रभाव पर्ने भन्दै त्यसबाट नेपालले समेत फाइदा लिन सक्ने बताउनुभयो । डा महतले नेपाल र भारतका बीचमा रहेको सीमा समस्या कूटनीतिक तवरबाट संवाद गरी हल गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले बोलाउनुभएको सर्वपक्षीय छलफलमा समेत आफूले सोही विचार राखेको उहाँको भनाइ थियो । कार्यक्रममा कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माले ‘नेपाल–भारत–चीन सम्बन्ध टु प्लस वान कि त्रिपक्षीय’ कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको