Web Analytics Made Easy - StatCounter
शुक्रबार, १६ जेठ २०७७
भोलि किनारामा बसेर धुरूधुरू रूँदै धारे हात लाएर नेतालाई सराप्नुभन्दा आजै सचेत बनौं
शनिबार, ०७ मङि्सर २०७६

संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपश्चात पहिलो ऐतिहासिक निर्वाचन सम्पन्न भइनै सकेको छ । निर्वाचन पछि जे जस्ता परिदृश्यहरू देखिए, त्यसको समीक्षा जरूरी छ ।

मंसिर १४ गते सम्पन्न हुन गइरहेको उप-निर्वाचनको जिम्मा दल र नेताहरूलाई मात्र सुम्पिएर हामी मतदाता कानमा तेल हालेर बस्ने अबस्था छैन । कुनै एकजना नेतालाई जिताएर वा कुनै एउटा पार्टीलाई बहुमत दिलाएर मात्र हाम्रो कर्तब्य पुरा हुँदैन । त्यसबाट दलहरू, नेताहरूले मात्रै नभएर हामी मतदाताहरूले पनि सिक्न पर्ने शिक्षा र सच्याउनु पर्ने धेरै कुराहरू छन् ।

मतदाताहरूले पनि आफ्नो मनोवृत्ति फेर्ने होभने देशलाई चाहिने असल, कुशल र दूरदृष्टि राख्ने ब्यक्तिहरूलाई विजयी गराउन सम्भव छ । सरोकारवाला सबै पक्ष यसो गर्न प्रतिबद्ध छ ? सरकार र उम्मेदवारलाई छाडिदिउँ, के हामी मतदाता तयार छौं र ?

हामी मतदाताहरूले हेक्का राख्नु पर्ने कुरा के छ भने, हाम्रो एक भोट कतै भ्रष्टाचारको लाइसेन्स त बन्दै छैन ? अहिले चुनावमा करोडौं रूपैयाँ खर्च गर्नेले भोलि त्यसको साँवा र ब्याज नअसुली छोड्छ ? पक्कै असुल्छ । त्यो हामी जनताको नाममा आएको बजेटबाटै अयो देशलाई बिगार्ने राजनीतिक ठेकेदारहरूको हामी मतदाता पनि मतियार हुनेछौं । देश बनाउने हतियार हाम्रो हातमा छ, हतियार सही निसानामा भेदन गरौं; कोही कसैको मतियार नबनौं । तपाईं हाम्रो एक मतले देश सुखी र समृद्ध बन्न सक्छ । भोलि किनारामा बसेर धुरूधुरू रूँदै धारे हात लाएर नेतालाई सराप्नुभन्दा आजै सचेत बनौं ।

निर्वाचनको अर्थ वास्तवमा जनता आफ्नो मालिक आफैँ बन्नु हो । तर बिडम्बना, हामीले जुन लोकतन्त्र र निर्वाचन प्रणालीको प्रयोग गरिरहेका छौं, यसले जनतालाई मालिक होइन; दास नै बनाइरहेको छ । समाजको सबभन्दा पीँधमा पारिएको बर्ग, लिंग, जाति यस्तो निर्वाचनबाट कहिल्यै माथि उठ्न सकिरहेका छैनन्।

प्राय: सबै दलहरूभित्र टिकट वितरणमा पक्षपात र पैसाको लेनदेन भएको गुनासो सार्बजनिक भइरहेका हुन्छन् । अझ महिलाको सन्दर्भमा भन्ने होभने सबै दलहरूभित्र झनै पक्षपात भएको देखिन्छ । टिकटको लागि शरीरसम्म सुम्पिनु पर्ने लज्जास्पद खबरहरू पनि बजारमा आउन सुनिन थालिएको छ । हाम्रा पुरूष नेतागणहरूको भविष्यवाणी छ- महिलाले प्रत्यक्ष निर्वाचन जित्दैन । त्यसैले टिकट दिएर के काम ?प्रतिस्पर्धैविना परिणाम सुनाउने यो कस्तो तरिका हो ? प्रतिस्पर्धा गर्न दिएपछि न थाहा हुन्छ, परिणाम कसले ल्याउँछ भनेर । दलहरूको कस्तो लोकतन्त्र हो ?

अहिले पनि नबगठित मन्त्रीमण्डलमा महिला मन्त्रीको सङ्ख्या २ मात्र छ भने महिला तथा बालबालिका मन्त्रालयमा महिला मन्त्री नभई पुरुषलाई सुम्पिएको छ यस्तो अवस्थामा नेपालमा महिला हक अधिकार तथा आरक्षणको कुरा कानुनमा मात्र सिमित छ ।अधिकार सुनिश्चित नभएसम्म कसैको निगाहमा बाँच्नु पर्ने वाध्यता रहिरहन्छ । यसको लागि आवश्यक परे नीति निर्माण तहमा रहेका महिला नेतृत्वले पार्टीको घेराभन्दा माथि उठेर संघर्षको अगुवाई गर्ने र सबै महिलाले निशर्त सहयोग गर्ने आँट गर्न जरूरी छ ।

मलाई महिलावादीको आरोप पनि लगाउन सक्नुहुन्छ । स्वीकार गर्छु म आरोप । किनकि, नारी सौन्दर्यको ब्यापार चलुन्जेल समाजमा नारी-पुरूष समानताको नारा फगत नारामा मात्र सीमित रहनेछ ।

निर्वाचन जनताको लागि उत्सव हुनु पर्ने हो । तर शासकहरूको स्वार्थ, नेता-कार्यकर्ताको अदुरदर्शिता र मतदाताहरूको अचेतनताको कारण यो निर्वाचन देश र जनताका लागि अभिशाप बन्दैछ । मतदाताहरूलाई डर, धाकधम्की र बिभिन्न प्रलोभनमा पारी मत प्राप्त गर्ने उही पुरानो खेलको पुनरावृत्ति हुने देखिन्छ । हामीले अझै पनि यिनैलाई जिताएर भ्रष्टाचार दुगुना पार्ने ? अझै पनि यिनलाई जिताएर दण्डहिनता तीनगुणा पार्ने ? अझै यिनीहरुलाई जिताएर राज्यकोषको दोहन चौगुणा पार्ने ?

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved