Like us!
Follow us!
Connect us!
Watch us!

सरकारलको ‘पर्यटनका लागि एक दशक’ कार्यक्रम घोषणा गर्ने योजना

मिलन खड्का

शुक्रबार, २० मंसिर २०७६, ०९ : १० मा प्रकाशित

सरकारलको  ‘पर्यटनका लागि एक दशक’ कार्यक्रम घोषणा गर्ने योजना

–नारायण ढुङ्गाना 

अर्थ संसार, काठमाडौं– आगामी नीति तथा कार्यक्रममा सरकारले ‘पर्यटनका लागि एक दशक’ कार्यक्रम घोषणा गर्ने योजना बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । एक दशक अवधिमा अहिलेका पूर्वाधारलाई सुधार गर्दै आवश्यक सबै पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटन विकासमा ध्यान केन्द्रित गर्ने सरकारको तयारी छ ।  

“नेपाल भ्रमण वर्ष २०२० त सफलतातर्फ उन्मुख छ, त्यसका साथसाथै आगामी दशक ‘पर्यटनका लागि एक दशक’ अभियान चलाउने सोच बनाएका छौँ”, संस्कृति पर्यटन तया नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भन्नुभयो ।  एक दशकमा सबै क्षेत्रमा पूर्वाधार सम्पन्न गर्ने, विमानस्थलदेखि प्रमुख गन्तव्य स्थानसम्मको यातायात, होटलको स्तरोन्नति र स्तरीकरणको काम सक्ने, दक्ष जनशक्ति उत्पादन गरेर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठान बनाएर जनशक्ति उत्पादन गरिने मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

आगामी १५ औँ पञ्चवर्षीय योजनामा हरेक वर्ष कम्तीमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य छ । हालको तीन प्रतिशतबाट कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु-याउने र पर्यटन क्षेत्रमा हरेक वर्ष एक लाख ५० हजारदेखि दुई लाखसम्म रोजगारी सिर्जना गर्ने योजनामा छ । उक्त लक्ष्य प्राप्त गर्नका लागि मन्त्रालयले पर्यटन दशक घोषणा गरेर आवश्यक पूर्वाधार निर्माण गरी मुलुकलाई विश्वकै आकर्षक गन्तव्यस्थल बनाउने सोच मन्त्रालयको हो ।  

पर्यटन दशकका लागि साझा प्रतिबद्धता आवश्यक रहेको र अभियानमा राजनीतिक दल पनि सँगसँगै लाग्नुपर्नेमा मन्त्री भट्टराईले आज सिंहदरबारमा भएको भ्रमण वर्षसम्बन्धीको छलफलमा बताउनुभयो । अहिले तत्कालका लागि मुलुक भ्रमण वर्षको तयारीमा रहेको र यस आगामी दशकका लागि आधार तयार पर्ने उहाँको विश्वास थियो । यो बेलामा हरेक सङ्घसंस्थाले कम्तीमा एउटा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम नेपालमा गर्नुपर्ने उहाँले बताउनुभयो । 

पर्यटन क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारस्तम्भ बनाउँदै विश्व बजारमा नेपाललाई चिनाउन भ्रमण वर्ष आयोजना गरिएको हो । त्यसका लागि गन्तव्यस्थलको सुदृढीकरण, हवाई र यातायत पूर्वाधार महत्वपूर्ण पक्ष हो । विनाशकारी भूकम्पले थला पारेको पर्यटन क्षेत्र मुलुक सिर्जना भएको राजनीति एकता र अन्तर्राष्ट्रिय सहयोगले माथि उठाएको हो । भूकम्पले ८९१ सांस्कृतिक सम्पदामा क्षति भएकोमा ३७८ वटा पुनःनिर्माण भएको ३७९ र्निाणाधीन रहेकाले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने सरकारी लक्ष्य रहेको जनाएको छ । 

विमानस्थल पूर्वाधारमा ध्यान 

समयमै काम भएको भए गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्नुपर्ने थियो । विगतमा दिशाहीन अवस्थामा रहे पनि अहिले गति लिएकाले ९० प्रतिशतमाथि प्रगति छ । भवितव्य नपरे आगामी मार्चबाट सञ्चालनको तयारी छ । पोखराको क्षेत्रीय विमानस्थलको काम ५५ प्रतिशत पूरा भइसकेकाले सन् २००० को डिसेम्बरसम्ममा सक्ने योजना छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काम चलिरहेको छ । 

“कसरी यात्रुमैत्री सेवा बनाउन सकिन्छ र प्रविधिमैत्री बनाउन सकिन्छ भनेर काम अघि बढाएका छौँ, निजगढ विमानस्थलको पनि निर्माण कार्य छिट्टै अगाडि बढ्ने छ, प्रधानमन्त्रीको स्वास्थ्यलाभ पछि बस्ने मन्त्रिपरिषद् बैठकमा एउटा ब्रेक थ्रो हुनेछ”, मन्त्री भट्टाईले भन्नुभएको छ ।  

मुलुकको पर्यकट घुम्ने ठाउँको बाटाघाटाको अवस्था अझै सन्तोषजनक छैन । सरकारले सुधारको काम गरिरहेको छ । भ्रमण वर्षमा एउटा विदेशीले एउटा नेपाली पठाउने योजना अघि बढाउनसमेत सरकारले विदेशमा रहेका नेपालीलाई आग्रह गरेको छ । पर्यटन सचिव केदारबहादुर अधिकारीले हवाई सेवाको विस्तार गरेर अघि बढेको र कतिपय एयरलाइन्सले थालनीसमेत गरिसकेको बताउनुभयो । 

नेपालले १९९८ मा भिजिट नेपाल आयोजना गरेको र सन् २०११ मा पर्यटनका लागि सँगसँगै नारा तय गरेर भ्रमण वर्ष आयोजना गरेको थियो । यो वर्ष ‘लाइफटाइम एक्सपिरियन्स’ भन्ने नारा तय गरी नेपाल भ्रमण वर्ष २०२०  आयोजना गर्न लागिएको छ । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार नेपालमा पर्वतीय पर्यटन मात्रै छ भन्ने बुझाइ छ तर यहाँको विविधताअनुसार वर्षेभरि पर्यटक आउन सक्ने छन् भनेर उक्त ‘लाइफटाइम एक्सपिरियन्स’ नारा तय भएको जोशी बताउनुहुन्छ । उहाँले अहिले भ्रमण वर्षको प्रचारप्रसारका कार्यक्रम तीव्र पारिएको बताउनुभयो । भारत र चीनसँगै नयाँ बजार भियतनाम, कम्बोडिया, म्यान्मामा समेत प्रचारात्मक कार्यक्रम केन्द्रित गरिएको छ । उहाँले अहिलेको अवस्थामा २५ लाख पर्यटक राख्न सक्ने क्षमता नेपालमा भइसकेको जानकारी दिनुभयो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको