Like us!
Follow us!
Connect us!
Watch us!

हावाबाट विद्युत् सेवा शुरु, गाउँ उज्यालै

निशा हुमाँगाई

आइतबार, ०६ पुस २०७६, १० : ५२ मा प्रकाशित

हावाबाट विद्युत् सेवा शुरु, गाउँ उज्यालै

अर्थ संसार, काठमाडौं – पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको रु एक करोड ८० लाख र गाउँपालिकाको रु ४२ लाख १३ हजार ८०० को लागतमा हावाबाट बिजुली निकालिएको हो ।

हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणलीमार्फत १० किलोवाट गरी २५ किलोवाट क्षमताको बिजुली निकालिएको उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारी मगरले जानकारी दिएका छन् । करीब साढे दुई वर्षअघिदेखि शुरु भएको आयोजना अहिले सम्पन्न भएर घरघरमा बिजुली बत्ती बल्न थालेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।

गाउँपालिकाको झ्याल्टुङ्ग, मौलाथर, रुप्सेभन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशङ्कर मावि, मित्याल आधारभूत विद्यालय र मौलादेवी आधारभूत विद्यालयमा बिजुली बत्ती उपयोग भएको छ । विद्यालयका कामकाज गर्न विद्युत् सेवा पुगेपछि सजिलो भएको गौरीशङ्कर माविका प्रधानाध्यापक केशबहादुर सुनारीले जानकारी दिए ।

कृष्ण ग्रिल एण्ड इञ्जिनीयरिङ वर्क प्रालि विराटनगरमार्फत यहाँ विद्युत् उत्पादन गरिएको हो । यस आयोजनाबाट यहाँका करीब ८०० जनसङ्ख्या लाभान्वित हुनेछन् । बिहान ४ बजेदेखि ७ बजेसम्म र १० बजेदेखि राति ११ बजेसम्म विद्युत् लाइन सञ्चालन गरिएको छ । मित्यालको रुक्सेभन्ज्याङ डाँडामा दुई पङ्खा घुमाएर विद्युत् सेवा दिइएको छ ।

यसअघि निस्दी गाउँपालिकाको एउटा वडामा हावाबाट निकालिएको बिजुली प्रयोगमा ल्याइएको थियो । थप सेवा विस्तार गर्न दोस्रोपटक बिजुली उत्पादन गरी स्थानीयवासीलाई सुविधा दिइएको छ ।

सडक पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । दुर्गम र विकट क्षेत्रमा बसोबास गरेका यहाँका स्थानीयवासीले सडक समस्याका कारण हैरानी खेप्दै आइरहेका थिए । सडक पुगेपछि सहजरूपमा सवारी साधनमा यात्रा गर्न, गाउँघरमा उत्पादित कृषिजन्य वस्तु शहरबजार लैजान सजिलो भएको सडक उपभोक्ता समितिका अध्यक्ष दानबहादुर ठाडाले बताए ।

गाउँपालिकाको केन्द्र रिङ्नेरहबाट दुई घण्टाको उकालो पैदल हिँडेर साठीकोलमा पुगिन्छ । वडा कार्यालय पुग्न करीब दुई घण्टाकै पैदल हिँडेर समय खर्चन बाध्य स्थानीयवासी अब सडकको सुविधा पुगेपछि विकासको अनुभूति गर्न थालेका छन् । ठूला–ठूला पहाडको खोँचमा बस्ती रहेकाले कठिनाइका बाबजुद पनि गाउँमा सडक पुर्याउन सफल भएको वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिए ।

यस वर्ष गाउँपालिकाबाट रु २५ लाख र वडा कार्यालयबाट रु २५ लाख गरी रु ५० लाख बराबरको रकम विनियोजन गरी सडक निर्माण गर्ने काम भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको