Like us!
Follow us!
Connect us!
Watch us!

बैंकले ऋण दिन छाडेपछि जग्गाको कारोबार  प्रभावित

सोमबार, १६ फागुन २०७३, १४ : ०७ मा प्रकाशित

बैंकले ऋण दिन छाडेपछि जग्गाको कारोबार  प्रभावित

अर्थ संसार 
चितवन– बैंक एवम् वित्तीय संस्थाले ऋण नदिएपछि यहाँ निकै फस्टाएको जग्गाको व्यवसाय प्रभावित हुन थालेको छ ।घर जग्गा र अन्य कुनै पनि शीर्षकमा बैंकले सहजै ऋण दिएका छैनन् । कतिपयले महँगो ब्याजदरमा बैंक र सहकारीबाट ऋण लिएर आफ्नो गर्जो टारिरहेका छन् । साना टुक्रादेखि ठूला प्लटसम्म नपुग रकम बैंकको भरमा बैनाबट्टा गर्नेहरु अहिले समस्यामा परेका हुन् । 

गत महिनाको माघ १५ गतेदेखि जिल्लाका थप तीन स्थानमा मालपोत र नापी कार्यालय खुलेका कारण यकिन तथ्याङ्क आउन नसके पनि कारोबारमा कमी आएको मालपोत र नापी कार्यालयका कर्मचारी बताउँछन् । 

भरतपुर मालपोत कार्यालयका प्रमुख दिवाकर पौडेलले कार्यालय सरेको हुँदा वास्तविक तथ्याङ्क नआए पनि वित्तीय संस्थाबाट कारोबार गर्न नपाएपछि घर जग्गाको कारोबारमा कमी आएको बताए ।

बिहान ९ देखि बेलुका ६ बजेसम्म भरिभराउ हुने मालपोत कार्यालयमा सेवाग्राही घटेका छन् । व्यवसायीका अनुसार एक देखि छ महिनासम्मको भाकामा घर जग्गाको कारोबार हुने हुँदा पहिले बैना गरिएका जग्गाको काम भइरहेको भए पनि आउँदो महिनाबाट यसको प्रत्यक्ष प्रभाव देखिने भएको छ । 

बैंकले पैसा दिँदैन जनतासँग पैसा छैन अनि कारोबार कसरी हुन्छ ? बैंकिङ क्षेत्रमा समेत लगानी गर्नुभएका पुराना जग्गा व्यवसायी वामदेव गौली गौलीले प्रश्न गरे । उनको भनाइमा कारोबार निश्चित रुपमा घट्छ । 

जग्गा व्यवसायी दिनेशकुमार चुके बैंकको ऋण लगानीको असरले ठूला जग्गाको किनबेच हुन नसके पनि सानातिना जग्गाको कारोबार भइरहेको बताउछन् । व्यवसायी–व्यवसायीबीचमा हुने किनबेच रोकिने बताउँदै उहाँले सानातिना टुक्रा किन्ने व्यक्ति चितवन आउने बताए । 

नारायणी जग्गा तथा आवास व्यवसायी सङ्घका जिल्ला अध्यक्ष बाबुराम अधिकारीले काठमाडौँमा झँै चितवनमा कारोबार नघटेपनि यसको असर देखिएकाले बैंक वित्तीय संस्थाकै भर पर्नेहरुको कारोबार बिग्रन बताए । 

ब्याज तिर्नका लागि जग्गा सस्तोमा बेच्ने अवस्था क्रमशः आउने देखिएको छ । जग्गाको कारोबार बढ्दै जाँदा सर्वसाधारण जो कोहीले नगद हात पार्नासाथ जग्गामा लगानी गरेकाले बैंक वित्तीय संस्थाबाहेक व्यक्ति विशेषसँग पैसा नभएको बैंङ्कर्स विजय भुसालको भनाई छ । 

मालपोत कार्यालयको पुस महिनासम्ममा कुल रु ७० करोड ३५ लाख ५५ हजार ७३३ राजस्व असुली भएको थियो । चितवन जग्गाको कारोबारमा अग्रणी जिल्ला मानिन्छ । देशको मध्यभागमा रहेकाले विभिन्न क्षेत्रबाट बसाइँ सराइ र मूल्य बढ्ने भएकाले जग्गा किन्न धेरैले रुचाएका थिए । रासस
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको