Like us!
Follow us!
Connect us!
Watch us!

चिसाेले निम्त्यायाे खाेकी र निमाेनिया, यसरी बच्नुहाेस्

निशा हुमाँगाई

आइतबार, १३ पुस २०७६, १४ : ४६ मा प्रकाशित

चिसाेले निम्त्यायाे खाेकी र निमाेनिया, यसरी बच्नुहाेस्

 

अर्थ संसार, काठमाडाैं - पछिल्लाे समय अत्याधिक चिसाे बढेकाे कारण विभिन्न समस्या देखा पर्न थालेका छन् । रसुवामा रातको समयमा अत्याधिक तुषारो र धाराको पानीसमेत जमेर बरफ बन्न थालेपछि त्यसको प्रत्यक्ष असर वृद्ध र बालबालिकामा देखापर्न थालेको छ । ८३ वर्षीय रसुवाका वरिष्ठ समाजसेवी दावाफिञ्जो तामाङका अनुसार चिसोका कारण बालबालिकालाई निमोनिया र ज्येष्ठ नागरिकलाई खोकीको समस्या देखापर्न थालेको छ ।

चिसोकै कारण रूघाखोकीका साथै घाँटीमा टन्सिल हुने समस्यासमेत देखापर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । चिसोको असरबाट निमोनिया एवं दमखोकीका बिरामी दैनिक सरदर १५ जना उपचारार्थ आउने गरेको रसुवा अस्पतालका प्रमुख डा.अनिलकुमार खरेलले बताएका छन् ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

चिसोयामभर बालबालिका र ज्येष्ठ नागरिकलाई कम नुहाउने, नुहाउनै परेमा अत्यन्तै कममात्रामा हल्का तातोपानीले नुहाइ तेलको मालिस गर्ने, तातो/तातो खुवाउने, सिरक वा कम्बल ओडाएर घरभित्रै राख्ने र आगो ताप्न परेमा हिटर वा कोइलाको तातो मात्र प्रयोग गर्न सुझाव दिँदै डाक्टर खरेलले दाउरा बालेर आगो नताप्न समेत सुझाव दिएका छन् ।

डा खरेलका अनुसार चिसोको असरले निमोनिया, रूघाखोकी लागि राखेको अवस्थामा दाउरा बाल्दा धुवाँको असरले थप समस्या बनाउँछ । मदिरा तथा सुर्तीजन्य वस्तु प्रयोग नगर्न, समयसमयमा तातो खाना तथा खाजा खुवाउने, हातमा पञ्जा, शिरमा कानेटोपी घाँटीमा मखुलर र शरीरमा बाक्लो खाले लुगा उनीको ट्राउजर तथा जुत्ता लगाउनसमेत सबै दाजुभाइ दिदीबहिनीसमक्ष आग्रह गरिएको पनि चिकित्सकले बताएका छन् ।

कुनै पनि रोग लाग्ना साथ स्वास्थ्य संस्था वा अस्पताल जाने बानीको विकास गर्न जिल्लावासीलाई आग्रह गर्दै डा खरेलले रसुवा अस्पतालमा भिडियो एक्स–रेबाट पेटको परीक्षण कार्य शुरू भइसकेको र जिल्लाभित्र सात जना चिकित्सकसमेत कार्यरत रहेको जानकारी दिए । प्रत्येक नागरिकलाई प्रभावकारी उपचार सेवा प्रदान गर्ने वर्तमान सरकारको नीतिअनुरूप क्रमिकरूपले जिल्ला अस्पतालको सुदृढीकरणअन्तर्गत गत हप्तादेखि रसुवामा पहिलोपटक भिडियो एक्स–रे सेवा सञ्चालनमा आएको रसुवा अस्पतालले जनाएको छ ।

पेट दुख्नासाथ काठमाडौँ जानुपर्ने अवस्थामा रसुवा अस्पतालले सञ्चालन गरेको भिडियो एक्स–रेले स्थानीयस्तरमै सेवा दिन थालेपछि जिल्लावासीमाझ खुशी छाएको नागरिक समाज अध्यक्ष बाबुलाल तामाङले बताए । यस्तै स्थानीय अस्पतालमा सबैखाले उपचार सेवा प्रदान गर्ने नीतिअनुरूप एक वर्षदेखि १४ वर्षसम्मका जटिल प्रकृतिका बालबालिकाका लागि छुट्टै विशेष सघन उपचारकक्ष र अन्यका लागि भेन्टिलेटरबाहेकको सघन उपचार कक्षसमेत सञ्चालनको तयारी भइरहेकोे अस्पतालले जनाएको छ ।

समुन्द्री सतहदेखि एक हजार ९०० मिटरभन्दामाथिका भू–भागमा पानी जम्न थालेको पाइएकाले लुगा धुँदा वा धुलाउन लगाउँदा तातोपानी मात्र प्रयोग गर्न÷गराउनसमेत चिकित्सकले सुझाव दिएका छन् । यस्तै हिमाली भेकमा हिमपात र सेताम्बे तुसारोले पशुको चरण क्षेत्र प्रभावित बनाएपछि बेंशीका तातो स्थानमा चौपाय सार्ने काम भइसकेको चौँरीपालक कृषकले बताएका छन् । -रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको