Like us!
Follow us!
Connect us!
Watch us!

सभामुखको उम्मेदवार टुङ्गिएसँगै राजीनामा दिएँ : तुम्वाहाङ्फे

निशा हुमाँगाई

सोमबार, ०६ माघ २०७६, १६ : ०९ मा प्रकाशित

सभामुखको उम्मेदवार टुङ्गिएसँगै राजीनामा दिएँ : तुम्वाहाङ्फे

अर्थ संसार, काठमाडौं – उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले सभामुखको उम्मेदवारको टुङ्गो लागेसँगै आफूले पदबाट राजीनामा दिएको बताएकी छिन् । प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर उनले संविधानले संसद्लाई नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेदवारको टुङ्गो लाग्नेबित्तिकै आफूले राजीनामा गरेको बताइन् ।

उनले आफू दलको नभई संसद्को उपसभामुख भएकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजीनामा गर्न दिएको निर्देशन मान्न नसकेको प्रस्टीकरण दिइन् । “संसदीय मर्यादालाई ख्याल गरी मैले मार्गप्रशस्त गर्न राजीनामा गरेको हुँ”, तुम्वाहाङ्फेले भनिन् ।

उपसभामुखबाट राजीनामा गरेसँगै ट्र्याक परिवर्तन भएको उनको भनाइ थियो । उनले आफ्नो दुईवर्षे कार्यकालमा संविधान र कानूनबमोजिम कर्तव्य निर्वाह गरेको जिकिर गरिन् । असोज १४ गतेपछि सभामुख पद रिक्त रहेको असहज परिस्थितिमा संविधानले दिएको अधिकारअनुसार आफूले प्रतिनिधिसभाको नेतृत्व गरेको उनले स्पष्ट पारिन् ।

“उपसभामुखबाट राजीनामा गर्दा म अत्यन्त खुशी छु, राजीनामासँगै मेरो प्रगतिका लागि थप उत्साह मिलेको छ”, उनले भनिन् ।

संसद सचिवालयको कर्मचारीले दुर्व्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा गरेका थिए । गत असोज दोस्रो सातादेखि प्रतिनिधिसभा सभामुखविहीन छ । आइतबार नेकपाको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको