Like us!
Follow us!
Connect us!
Watch us!

माघ १७ गतेदेखि ललितपुरमा चौथो 'प्राङ्गारिक कृषि मेला –२०७६' हुँदै, एक करोडको कारोबार हुने अनुमान

निशा हुमाँगाई

आइतबार, १२ माघ २०७६, १५ : ४५ मा प्रकाशित

माघ १७ गतेदेखि ललितपुरमा चौथो 'प्राङ्गारिक कृषि मेला –२०७६' हुँदै,  एक करोडको कारोबार हुने अनुमान

अर्थ संसार, काठमाडौं – अर्गानिक एशोसिएसन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा यही माघ १७ गतेदेखि माघ २० गतेसम्म ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला–२०७६ को आयोजना गरिने भएको छ । चार दिनसम्म चल्ने उक्त मेला पाटन संग्राहलय, ललितपुरमा गरिनेछ । मेलाको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले गर्नेछन् । 

आइतबार पत्रकार सम्मेलन गर्दै उक्त मेलाबारे जानकारी गराईएको हो । नेपालका अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरूलाई समेत आकर्षित गर्न अन्तर्राष्ट्रिय अर्गानिक एग्रो फेयरको आवश्यकत्ता महशुस गरि अर्गानिक मेलाको आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएका छन् ।

यस्तै, मेलाको सह–आयोजकका रूपमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, सांग्रिला एग्रो वल्र्ड प्रा.ली. र बाँस्कोटा ग्रुप अफ ईण्डष्ट्रिज प्रा.ली. रहेका छन् । 

यसैगरी, आयोजक संस्थाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हरेक प्राणी एवं मनुष्यका लागि स्वास्थ्य सबैभन्दा पहिलो शर्त रहेछ । अस्वस्थ मानिसबाट परिवार वा समाजले केही अपेक्षा गर्न सक्दैन् । घरको एक सदस्य अवस्थ हुँदा पुरै परिवारलाई त्यसको नकारात्मक असर पर्छ । जल, जंगल, जमिन र जीवनलाई सुरक्षित राखी समाजलाई स्वास्थ्य राख्नको लागि उत्पादनदेखि नै ध्यान दिनु आवश्यक भएकोले सबै प्रकारका कृषि उत्पादनहरू जैवीक र वैदिक हुन पर्दछ । जसको सेवनबाट मानिस निरोगी हुन सकोस भन्ने यो मेलाको उद्देश्य रहेको छ ।’

त्यस्तै, आयोजक संस्थाका अनुसार उक्त मेलाको मुख्य उद्देश्यमा नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरूको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने उत्पादक र उपभोक्ताहरूलाई एउटै थलोमा ल्याउने रहेको छ । त्यस्तै, उत्पादक र उपभोक्ता बीचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दै उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक तथा प्राकृतिक उपभोग्य सामाग्रीहरू उपलब्ध गराउने वातावरण बनाउने, स्वस्थ भई बाँच्न पाउने अधिकारको रक्षा र उपभोक्ता हितको संरक्षण र सम्बद्धनमा सहयोग पुर्याउने र अर्गानिक विषयसँग सम्बन्धित कार्यपत्र प्रस्तुत तथा अन्तरक्रियामार्फत सरोकारवालाहरूलाई जानकारी उपलब्ध गराउने पनि अन्य मुख्य उद्देश्य रहेको जनाइएको छ । 

त्यसैगरी, कार्यक्रममा बोल्दै मेलाकी संयोजक शान्ता बाँस्कोटा कोइरालाले मेलामा ५० भन्दा बढि स्टलहरू रहने जानकारी दिईन् । उनका अनुसार त्यस सम्बन्धमा नेपालभित्र विभिन्न स्थानका अर्गानिक उत्पादक व्यवसायीहरूसँग समन्वय गरिएको छ । उनले भनिन्,‘मेलाको गतिविधि आमसञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गराउन सजिलो होस भन्ने उद्देश्यले मेला अवधिभर मिडिया कर्नरको समेत व्यवस्थापन गरिएको छ ।’ 

उनले मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गारिक मल, च्याउ, डेरी उत्पादन, हर्वल उत्पादनहरू, मसलाहरू, चामल, गहुँ, मकै, दाल, फापरलगायतका अन्य उत्पादनहरू, फलफूल, विउ विजन, मह, तेल, राडी, पाखीलगायत रहने जानकारी दिईन् । त्यस्तै, मेलामा अन्य कृषि उपजहरू तथा कृषि तथा वाणिज्य, व्यापारसम्बन्धी प्रोजेक्टहरू सम्बन्धमा पनि जानकारी तथा सूचना समेत प्रवाह गरिने उनको भनाई छ । आयोजक संस्थाकाअनुसार उक्त मेलामा ३० लाख खर्च हुने अनुमान गरिएको छ । र, मेलामा एक करोडको कारोबार हुने पनि आयोजकले अपेक्षा लिएको छ । 

यस्तै, कार्यक्रममा पूर्वमन्त्री समेत रहेका अर्गानिक एशोसिएसन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले पनि मेलाको बारेमा प्रकाश पारेका थिए । उनले नेपालको पूरानो वैदिक कृषि प्रणाली नै अहिलेको प्राङ्गारिक कृषि प्रणाली रहेको स्पष्ट पारेका छन् । उनले भने,‘नेपाल सरकारले कृषि मन्त्रालयको तर्फबाट प्रत्यक्ष रूपमा किसान तथा कृषकहरूलाई लाभ हुने गरि नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।’ उनले मलमा अनुदान दिनुभन्दापनि किसानलाई कृषिपालनमा अनुदान दिनुपर्नेमा जोड दिए । ‘सरकारले यस्तो कदम चाले हाम्रो देश अर्गानिक राष्ट्रको रूपमा अघि बढ्ने सम्भावना बोकेको छ’– बाँस्कोटाले भने । 

त्यस्तै, आजको पत्रकार सम्मेलनमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका प्रतिनिधि मिन बहादुर कुँवर, अर्गानिक एशोसिएसन नेपालका उपाध्यक्ष प्रेम लामा, सांग्रिला एग्रो वल्र्डको तर्फबाट सञ्चालक तारा बाँस्कोटा, प्राविधि सल्लाहकार तथा अर्वन प्लानरबाट अर्जुन कोइराला र बाँस्कोटा ग्रुप अफ ईण्डष्ट्रिजका तर्फबाट सञ्चालक चन्द्रकला बाँस्कोटा र प्रवन्ध निर्देशक समिक्षा बाँस्कोटाको उपस्थिति रहेको थियो । आजको पत्रकार सम्मेलनको सञ्चालन भने समिक्षा बाँस्कोटाले गरेकी थिईन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको