Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनको अवधिमा रु २९ करोडभन्दा बढी राजश्व सङ्कलन

निशा हुमाँगाई

आइतबार, २३ चैत्र २०७६, १७ : ४६ मा प्रकाशित

लकडाउनको अवधिमा रु २९ करोडभन्दा बढी राजश्व सङ्कलन

अर्थ संसार, काठमाडौं - भैरहवा भन्सार कार्यालयले कोभिड–१९ सङ्क्रमण तथा रोकथामका लागि शुरु भएको लक डाउनको अवधिको १२ दिनमा रु २९ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

उक्त भन्सारले चैत ११ गते देखि २२ गतेसम्मको १२ दिनको अवधिमा रु २९ करोड २५ लाख राजश्व सङ्कलन गरेको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ ।

यस अवधिमा उक्त भन्सार नाकाबाट ग्यास बुलेट १९९, पेट्रोल ट्याङ्कर ३५, डिजेल ट्याङ्कर १२ र अन्य एक हजार ३१७ मालवाहक ट्रक भन्सार पास भएको भैरहवा भन्सार कार्यालयका कार्यालय प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए । लकडाउनको अवधिमा चामल, हरियो तरकारी, फलफूल, सर्जिकल तथा मेडिकल सामानहरु, साबुन, प्लाई, कोइला र अन्य समानहरु भारतबाट आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूण्यप्रसाद लम्सालले बताएका छन् ।

नेपालको दोस्रो ठूलो यस भन्सार कार्यालयको दैनिक राजश्व सङ्कलनको लक्ष्य रु २६ करोड ६७ लाख रहेको छ । लक डाउनका कारण राजश्व सङ्कलनमा पनि असर परेको सूचना अधिकारी लम्सालले बताएका छन् ।

भन्सार एजेन्ट सङ्घ भैरहवा शाखाका उपाध्यक्ष मधुप्रसाद पन्थीले खाद्यान्न तथा आलु, प्याज र हरियो तरकारी आउनमा कुनै कमी नआएको बताउँदै बढी भन्सार शुल्क लाग्ने जीप, कार भ्यान, मोटरसाइकल, मार्बल, मोटर पार्टपूर्जा, विद्युतीय सामानहरु र उद्योग कच्चापदार्थहरु नआउँदा भन्सार राजश्वमा कमी आएको जानकारी दिएका छन् । नेपाल सरकारले भन्सार नाकामा मानिसहरुको आवतजावतमा रोक लगाए पनि ढुवानी गर्नमा भने खुला गरेको छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको