Web Analytics Made Easy - StatCounter
मङ्गलबार, २० जेठ २०७७
हर्ड इम्युनिटी उपयुक्त मोडेल हो कि हैन ? – डा. रवीन्द्र पाण्डे
शुक्रबार, ०९ जेठ २०७७

अर्थ संसार, काठमाडौं - यदि अधिकांश जनसंख्या कुनै संक्रमणबाट इम्युन ( रोगसंग लड्ने एन्टिबोडी विकास ) भयो भने बाँकी जनसंख्याले त्यो रोगसँग लड्ने जुन क्षमता प्राप्त गर्छन, त्यसलाई हर्ड इम्युनिटी भनिन्छ । उदाहरणको लागि यदि कुनै ठाउँमा ७० % जनसंख्यालाई कोरोना संक्रमण भयो भने बाँकी ३० % जनसंख्याले स्वत: कोरोना संक्रमणको इम्युन प्राप्त गर्छन् अर्थात् १४ जना संक्रमित भए भने ५ जनालाई स्वत: संक्रमणविरुद्ध लड्ने क्षमता विकास हुन्छ भन्ने अबधारणा नै हर्ड इम्युनिटी हो ।

लकडाउन नगर्ने, स्कुल / कलेज / कार्यालय / कलकारखाना सबै खोल्ने अर्थात कोरोना संक्रमणलाई वास्ता नगर्ने , समाजमा मजाले कोरोना संक्रमण फैलिन दिने, बालबालिका, युवा तथा बयस्क उमेरका सबै आफ्नो काममा जाने अनि घरमा जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई आइसोलेसनमा राख्ने... यसो गरेपछि जोखिम समुहमा कोरोना संक्रमण सर्दछ | यसरी कोरोना संक्रमण व्यापक भएपछि जेष्ठ नागरिक तथा जोखिम बर्ग स्वत : इम्युन हुन्छन् भन्ने अबधारणा अहिले धेरै ठाउँमा घनिभूत भएको छ ।

हर्ड इम्युनिटी २ किसिमबाट प्राप्त हुन्छ ः

१. संक्रमण व्यापक फैलिएर ।

२. अधिकांश जनसंख्याले खोप लगाएर ।

खोप विकास हुनुभन्दा पहिले रोगबाट बच्ने उपाय हर्ड इम्युनिटी नै थियो ।

हाम्रो समाजमा व्यापक फैलिएका कुष्ठरोग, दादुरा, पोलियो, बिफर आदि त्यो समयमा संक्रमण फैलिएर तथा हाल खोपको कारण इम्युन भएका छन् । हर्ड इम्युनिटी खास गरेर जनावरमा रोग फैलिने, रोगले मर्ने, हर्ड इम्युनिटी गेन गरेका बाँच्ने कन्सेप्टबाट लिइएको हो ।

- सामान्य रुघाखोकी अर्थात फ्लुको भ्याक्सिनले १ बर्षमात्र काम गर्छ । तसर्थ कोरोना संक्रमणको हर्ड इम्युनिटी १ – २ बर्ष रहने कतिपय भाइरोलोजिस्टको मत छ भने कतिपयले लामो समयका लागि इम्युनिटी हुने अनुमान गरेका छन् ।

- नराम्रो अवस्थालाई बिचार गर्दा यदि हामीले लकडाउन खोल्यौं, सामाजिक दुरी कायम गरेनौं, कोरोना संक्रमणलाई बेवास्ता गर्यौं भने लाखौं व्यक्ति संक्रमित हुने, अस्पतालको क्षमताले नधान्ने तथा हजारौंको मृत्यु हुनसक्छ ।

- यदि हामीले सामाजिक दुरी र रोकथामका उपाय अबलम्बन गर्यौं, आवश्यकता अनुसार लकडाउन गर्यौं तथा आवतजावतलाई नियन्त्रण गरेर १ वर्ष कोरोना संक्रमणबाट बच्न सक्यौं भने त्यो बेलासम्म खोप तथा औषधिको पत्ता लाग्नेछ | यसरी हामीले न्यून मानबिय क्षतिमा कोरोना संक्रमणलाई पराजित गर्न सक्नेछौं ।

- सामान्य रोग जस्तै चिकन पक्स, भाइरल फ्लु आदिमा हर्ड इम्युनिटीको यात्रा ठिक भएपनि कोरोना संक्रमणमा घातक हुनसक्छ । सामान्य रुघाखोकीभन्दा कोरोना संक्रमण धेरै गुणा घातक भएको र यसले दीर्घबिरामी तथा जेष्ठ नागरिकलाई घातक हुनसक्छ ।

- विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक डा. माइक राइनका अनुसार मान्छे हर्ड अर्थात जनावर हैनन् । तसर्थ संक्रमण फैलाएर इम्युन हुनको लागि हामीले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ ।

- सुरुमा बेलायतले लकडाउन नगरेर हर्ड इम्युनिटीको बाटोमा जान खोजेको हो । तर अमेरिकामा मृतकको संख्या बढिरहेको कारण बेलायत सामाजिक दुरी लगायतको बाटोमा फर्किएको अनुमान गर्न सकिन्छ ।

- स्वीडेनका अधिकारीले भनेका थिए – लकडाउनले कोरोना संक्रमणलाई हराउन सकिँदैन । केवल संक्रमण र मृत्युलाई केहि समय धकेल्ने मात्र हो । केहि समय धकेल्दैमा कोरोना भाइरस हराउँदैन । डा. जेसेकमा अनुसार जुनको अन्त्यसम्म स्विडेनको स्टकहोमका ४० – ६० % नागरिक कोरोना संक्रमणबाट इम्युन हुनेछन् । स्विडेनले आफ्नो अर्थतन्त्र बचाउनको लागि यो कदम चालेको तर यसले धेरै नागरिकको मृत्यु भएको भनेर आलोचना गरिएको छ । यद्यपी स्वीडेनले ५० जनाभन्दा बढीको जमघट, रंगशाला, नाइट क्लब, जिम आदिलाई बन्द गरेको छ ।

डा. जेसेकको धारणाको प्रतिबाद गर्दै जोन हप्किन विश्वविद्यालयले भनेको छ – ‘ यो खतरनाक र गलत धारणा हो | यो अवधारणा यस्तो ठाउँमा उपयुक्त हुन्छ, जहाँ अचानक संक्रमण फैलियो र त्यो रोगसँग लड्नको लागि कुनै पूर्वाधार छैनन् ।’

नर्डिक देशहरुको बर्तमान तथ्यांक हेर्दा सामाजिक दुरी, संक्रमित ठाउँमा लकडाउन तथा रोकथामका उपाय अपनाउने देशहरुको तथ्यांक यस्तो छ –
१. नर्बे – संक्रमित = ८३०९, मृतक = २३५
२. फिनल्याण्ड – संक्रमित = ६४९३, मृतक = ३०६
३. डेनमार्क – संक्रमित = १११८२, मृतक = ५६४
४. आइसल्याण्ड – संक्रमित = १८०३, मृतक = १०

हर्ड इम्युनिटीको बाटोमा हिड्न अग्रसर भएको स्वीडेनमा संक्रमितको संख्या ३२,१७२ र मृतकको संख्या ३,८७१ रहेको छ । यो अन्य नर्डिक मुलुकको भन्दा उच्च छ ।

स्वीडेनजस्तो विकसित, उच्च कोटीको सामाजिक सुरक्षा भएको, आर्थिक रुपमा सम्पन्न तथा स्वास्थ्य सुबिधा र चेतना उच्च भएको देशमा संक्रमण यसरी बढेको छ भने अन्य गरिब मुलुकले यो बाटो अपनाउंदा संक्रमण तथा मृत्युदर धेरै उच्च हुन्छ । अहिले विश्वभर अधिकांश उद्योगपतिहरुले आफ्नो टाट पल्टेको व्यवसाय उकास्नको लागि हर्ड इम्युनिटीको वकालत गर्ने गरेको आरोप लागेको छ । त्यस्तै दैनिक काम गरेर परिवार पाल्ने न्यून आय भएका नागरिकहरु ज्यान बचाउनको लागि लकडाउन हटाउनुपर्ने भन्दै आएका छन् ।

निम्न आय भएका जनतालाई राहत दिने, रोजगारीका अवसर खोज्ने एवम कृषि तथा अन्य उत्पादनमुलक क्षेत्रमा राज्यले प्राथमिकता दिनुपर्छ । हटस्पोट शिल गर्ने, अवस्था अनुसार लकडाउन गर्ने, सामाजिक दुरी तथा सुरक्षाका उपाय अपनाएर कोरोना संक्रमणलाई जति सक्यो पर धकेल्नु नै नागरिक बचाउने सर्बोत्तम उपाय हो ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved