Like us!
Follow us!
Connect us!
Watch us!

शेयर लगानीकर्ता संघले घोषणा गरेको आन्दोलनमा विश्लेषक बिष्णु प्रसाद बस्यालको टिप्पणी, जायज माग पुरा गर्न सरकारलाई आग्रह

मंगलबार, २० जेठ २०७७, १९ : १९ मा प्रकाशित

शेयर लगानीकर्ता संघले घोषणा गरेको आन्दोलनमा विश्लेषक बिष्णु प्रसाद बस्यालको टिप्पणी, जायज माग पुरा गर्न सरकारलाई आग्रह

शेयर लगानीकर्ता दबाब समुहले आन्दोलन को घोषणा गर्दै राखेको 25 बुँदे मांग को बुँदा सहित विश्लेषण। गैरजिम्मवारपूर्ण मांग हरुले जायज मांग हरुलाई ओझेलमा पार्छ यो कुरा को ध्यान दिनु जरुरी छ।

१. अर्थ मन्त्रालयको अध्ययन समितिले सिफारिस गरेका ५८ बुँदे सुझाव मध्ये अरु क्षेत्रसम्बद्ध कामहरु भईसके पनि पूँजी बजारसम्बन्धी २० वटा मुख्य कामहरु २०७५ असार मसान्तसम्म भईसक्नु पर्नेमा अर्थ मन्त्रालय र सम्बद्ध निकायहरुको गैर जिम्मेवारीका कारण हालसम्म पनि नभएकाले सो काम तत्काल पुरा हुनुपर्ने ।

विश्लेषण: नियामक निकायको ढिला सुस्ती भएको हो। धेरै समय बितिसक्दा पनि केही उल्लेख्य काम हुन नसक्नु मा सम्बन्धित निकाय जिम्मेवार दिखिन्छ तसर्थ यो मांग जायज देखिन्छ।

२. कोरोना संक्रमण र लकडाउनका कारण बन्द भएको शेयर बजार बैंक, हितग्राही खाता ईन्टिग्रशेन गर्नुका साथै यसअघि लकडाउनको बीचमा दुई दिन भएको कारोबार रद्द गरेर मात्र खोल्नुपर्ने ।

विश्लेषण: जायज माग।

३.नागरिक स्टक डिलरलाई काम गर्ने अनुमति दिएर उसले शेयर किन्ने तयारी पुरा भएर माग सिर्जना गरेपछि मात्र शेयर बजारको कारोबार चालु गरिनुपर्ने ।

विश्लेषण: के स्टक डिलर ले बाजार मा लगानी नगरे बाजार कहिले नखोल्ने?

४. हाल कायम रहेको ब्रोकर कमिशन दक्षिण एशियामै सबैभन्दा महंगो भई लगानीकर्ताहरुमा नकारात्मक असर पर्न गएकाले कोरोना राहत स्वरुप ब्रोकर कमिशन सबै कारोबारमा ०.२० प्रतिशत लाग्ने बनाउने र नेप्सेले लिदै आएको २० प्रतिशतलाई कटौति गरी २ प्रतिशत मात्र लिने ब्यवस्था गरेर मात्र बजार खोल्नुपर्ने ।

विश्लेषण: सत्य यो होइन। ब्रोकर कमिसन दक्षिण एसियामा सबैभन्दा महँगो होइन नेपालमा। दबाब समुहले अलिकति अध्ययन गरेर मात्र मांग राख्नु पर्छ। फेरि ब्रोकर कमिसन को कुरा ले बाजार मा खासै केही प्रभाब पार्ने देखिन्न। मार्केटको टर्नओभर बढाउँने प्रयास गरियो भने यो कुरा आफैं हुन्छ।

५. कोरोना संकट र लकडाउनका कारणले पूँजी बजारका लगानीकर्ताहरुलाई पनि गंभीर खालको क्षति हुन गएकाले सरकारले तत्काल दुई अर्ब रुपैयाँको पुनरकर्जा कोष ब्यवस्था गरी हाल शेयर धितो कर्जा उपभोग गरिरहेकाहरुलाई सोही धितोमा र शेयर कर्जा उपभोेग नगरेकाहरुलाई नयाँ शेयर धितो लिएर प्रति एकाघरको परिवारलाई १० लाख रुपैयाँसम्म बार्षिक ५ प्रतिशत ब्याज दरमा एक बर्षका लागि कर्जा उपलब्ध हुने ब्यवस्था गरेर मात्र बजार खोल्नुपर्ने ।

विश्लेषण: असम्भव मांग राखेर लगानीकर्ता दबाब समुह आफैं हाँस्य पात्र नबनाऊ। सरकारको प्राथमिकता यो होइन। विश्वभरिका सरकारको काम अर्थतन्त्रलाई बलियो बनाउनमा ध्यान दिने हो। पुँजीबजरमा लगानी गर्न ऋण दिने चलन कहीँ पनि छैन। यो सरकारको काम होइन। यस्तो कुतर्कले उल्टा सरकारले यो समुह प्रति हेर्ने दृष्टिकणमा नकारात्मक असर पार्न सक्छ।

६. शेयर धितो कर्जाको सिमा ८० प्रतिशत पुर्याउनुपर्ने र मार्जिन कलको सामना गर्ने अबस्थामा रहेका लगानीकर्ताहरुलाई २०७७ असोज मसान्तसम्म मार्जिन कल नगर्ने ब्यवस्था हुनुपर्ने । कोरोना संकट र लगातारको लकडाउनका कारणले असार मसान्त भित्र तिर्न नसकेको बक्यौता सावाँ ब्याज तिर्न असोज मसान्तसम्मको म्याद कायम गरिनुपर्ने ।

विश्लेषण: 80% वा 90% नै पुर्याए पनि हुन्छ तर मार्जिन कल नगर्ने ब्यवस्था हुनुपर्ने मांग अति नै अव्यावहारिक मांग हो। मार्जिन कल नगरेको अवस्थामा के तपाईं शेयरको मूल्य एउटा निश्चित मूल्य भन्दा तल जाँदैन भनेर ग्यारेन्टी गर्न सक्नु हुन्छ? त्यसो हो भने आफ्नो घर जग्गा धितो राखेर ग्यारेण्टी गर्नुहोस। हावा कुरा नगरेको भए तपाईंको गम्भीरता देखिन्थ्यो। मार्जिन कल गर्न नपाउने भए बैंकले तपाईंलाई ऋण किन दिने? यस्ता नाजायज माग राख्नु भन्दा पहिले सोच विचार गर्नु पर्ने देखिन्छ।

७. शेयर धितोका लागि शेयर रोक्का तथा फुकुवा गर्दा सम्बन्धित बैंकले पूर्णतः विद्युतीय माध्यमबाट मात्र रोक्का वा फुकुवा गर्नुपर्ने ब्यवस्था अनिबार्य गर्ने । रोक्का भएको शेयर सम्बन्धित ब्रोकरको विद्युतीय पत्रको आधारमा सम्बन्धित बैंकले बिक्री गर्न स्वीकृति दिई सो वापतको सम्पूर्ण रकम धितो रोक्का राख्ने बैंकको खातामा विद्युतीय माध्यमबाट राफसाफकै दिन जम्मा हुने ब्यवस्था गर्ने ।

विश्लेषण: यो कुरा संभव छ र गर्नु पर्ने पनि यही हो।

८. शेयर धितो कर्जा लिएकाहरुको सवालमा सो शेयर वापत प्राप्त हुने बोनस, हकप्रद स्वतः रोक्का हुनेगरी सम्बन्धित लगानीकर्ताको हितग्राही खातामा पठाउने र नगद लाभांश सम्बन्धित लगानीकर्ताकै बैंक खातामा गएर स्वतः जम्मा हुने ब्यवस्था गर्नुपर्ने ।

विश्लेषण: नितान्त जायज मांग।

९. ब्रोकरले कतिपय लगानीकर्ताले शेयर खरिद गरिएको रकम कोरोना संकट, लकडाउन र अन्य कारणले प्राप्त हुन नसकेकाले ब्रोकरहरुलाई सेटलमेन्ट गर्ने रकमको समस्या भएकाले उनीहरुको लाईसेन्स र जायजेथा धितोमा ५० लाख रुपैयाँसम्म तीन महिने अवधिका लागि बार्षिक ५ प्रतिशत ब्याजमा उपलब्ध गराउनुपर्ने ।

विश्लेषण: रकम अलि बढी उपलब्ध गराउन सकिन्छ। 50 लाखले मात्र केही हुनेवाला छैन। तर ब्याजको निर्धारण भने बजारलाई छोड्दा हुन्छ। साथै ब्रोकर ले लिएको ऋण को ब्याज लगानीकर्ता ले नै तिर्नु पर्छ।

१०. २०७७ साउन १ गतेदेखि साधारण शेयर किनेर ७ बर्षसम्म शेयरधारण गर्ने दीर्घकालीन लगानीकर्ताहरुलाई सुन्य प्रतिशत, पाँच बर्षसम्म धारण गर्नेलाई १ प्रतिशत, तीन बर्षसम्म धारण गर्नेलाई दुई प्रतिशत, कट अफ डेट भन्दा अघि शेयर धारण गरेकालाई हालकै पाँच प्रतिशत र कट अफ डेट भन्दा पछि शेयर किनेर अल्पकालीन लाभ लिनेलाई सात प्रतिशत पूँजीगत लाभकर लाग्नेगरी ब्यक्तिगत लगानीकर्तालाई अन्तिम लाभकर घोषणा गरिनुपर्ने । बार्षिक रुपमा १० हजारसम्म पूँजीगत लाभ गर्नेलाई पुरै लाभकर छुट गरिनुपर्ने । प्यान नम्बर लिएकाहरुको कर दाखिला विवरण ब्रोकरले लगानीकर्ताकै खातामा अभिलेखन हुने गरी सेटलमेन्टकै दिन लाभकर दाखिला हुने ब्यवस्था मिलाउने र लगानीकर्ता आफैले विद्युतीय कर चुक्ता लिनसक्ने ब्यवस्था गर्ने ।

विश्लेषण: यो कुरा गर्न सकिने कुरा हो। तर यस्तो मांग सँगै सम्पूर्ण पोर्टफोलियो को लाभ मा मात्रै कर लाग्नु पर्छ भन्ने मांग भेटिन। सम्पूर्ण पोर्टफोलियो माथि लाभकर को व्यवस्था गरियोस् भन्ने मांग लाई जोरदार रूपमा उठाउनु पर्यो। यो पहिलो प्राथमिकतामा हुनु पर्यो।

११. ब्रोकरहरुलाई आधिकारिक एजेन्ट मोडलमा तत्काल जिल्ला जान स्वीकृति प्रदान गरी पूँजी बजारमा सर्बसाधारण लगानीकर्ताको पहुँच र ब्रोकरको कार्यक्षेत्र बिस्तार गरिनुपर्ने ।

विश्लेषण: जायज।

१२. ५० करोड चुक्ता पूँजी कायम गर्ने ब्रोकरहरुलाई डिलरशीपसहित सबै खाले काम गर्ने फुल ब्रोकर र हालको ब्यवस्था बमोजिमको पूँजी कायम गरेकाहरुलाई कमिशन ब्रोकरको रुपमा बर्गीकरण गरीे काम गर्न दिईनुपर्ने ।

विश्लेषण: जायज। गर्न सकिने कुरा हो र तुरुनतै हुनु पनि पर्छ।

१३.ं ब्रोकरबाट प्रबाह हुने मार्जिन ट्रेडिड. कर्जाको ब्याज दर अधिकतम रुपमा ८ प्रतिशत र सेवा शुल्क १ प्रतिशत कायम हुने गरी वास्तविक लगानीकर्तालाई तत्काल सेवा प्रबाहको ग्यारेन्टी गरेर मात्र शेयर बजार खोलिनुपर्ने ।

विश्लेषण: ब्याजको निर्धारण तपाईंले गर्ने होइन। बजारलाई नै यसको निर्धारण गर्न दिनु पर्छ।

१४. बाणिज्य बैंकका सहायक कम्पनीहरुलाई तत्काल ब्रोकर लाईसेन्सको स्वीकृति प्रदान गरी उनीहरुबाट हरेक शाखा र जिल्लाबाट कारोबार शुरु गरिनुपर्ने ।

विश्लेषण: sub-broker मोडेल मा नगए सम्म जसलाई लाइसेंस दिए पनि बजार विस्तार हुने वाला छैन। तसर्थ, पहिले
sub-broker अनी मात्र अरू कुरामा जोर दिनु पर्यो।

१५. गैरआवासीय नेपालीहरुले जुन विदेशी मुद्रामा रकम ल्याउने हो त्यही मुद्रामा लाभांश र तीन बर्षपछि सावाँ फिर्ता लैजान पाउने गरी एक लाख देखि पाँच लाख डलरसम्म वा सो बराबरको विदेशी मुद्रा ल्याएर पूँजी बजारमा लगानी गर्न तत्काल ढोका खोलिनुपर्ने । उनीहरुका लागि १५ प्रतिशत मात्र लाभकर लाग्ने ब्यवस्था गरिनुपर्ने ।
विश्लेषण: जायज।

१६. कोरोना संकटका कारण अधिकांश सूचीकृत कम्पनीहरुको आयमा गंभीर क्षति पुगी उनीहरुले चालु आर्थिक बर्षमा शेयरधनीलाई लाभांश खुवाउँन नसक्ने अबस्था देखिएको हुँदा उनीहरुबाट असुल गरिने कर्पोरेट कर कटौति गरी यस आर्थिक बर्ष र नयाँ आर्थिक बर्षका लागि २० प्रतिशत कायम गरिनुपर्ने । होटल ब्यवसायमा दीर्घकालीन क्षति पुग्ने अबस्था भएकाले यो समेत दुई आर्थिक बर्षका लागि कर्पोरेट कर सुन्य दर कायम गरिनुपर्ने ।

विश्लेषण: जायज। तर यो मांग उद्योग तथा व्यवसाय जगतबाट आउनु पर्यो।

१७. बार्षिक रुपमा २० हजार रुपैयाँसम्म नगद लाभांश बुझ्ने सर्बसाधारण लगानीकर्ताका लागि लाभांश कर पुरै छुट हुने दीर्घकालीन ब्यवस्था गर्र्नुपर्ने र बोनस शेयर प्रस्ताब गर्ने कम्पनीहरुको सवालमा दोहोरो कर ब्यवस्था समाप्त गरी यस बर्षको नाफाबाट बोनस मात्र प्रस्ताब गर्नसक्ने बाध्यकारी ब्यवस्था गर्ने ।

विश्लेषण: जायज।

१८. बैंक तथा बित्तीय संस्थाहरुले आफ्नो जम्मा लगानीयोग्य रकमको ५० प्रतिशतसम्म शेयर धितो कर्जा प्रबाह गर्न पाउने र पब्लिक कम्पनीहरुले आफ्नो प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्म दोस्रो बजारमा प्रत्यक्ष रुपमा लगानी गर्न पाउने तत्काल ब्यवस्था गर्ने ।

विश्लेषण: के सबै पैसा पुँजीबजारमा मात्र लगानी गर्ने हो र? यस्तो नाजायज माग राख्नु नै गलत हो। अहिले जे व्यवस्था छ त्यो नै प्रयाप्त छ। मार्जिन ऋण को लागि छुट्याइएको रकम पूर्ण रूपमा परिचालन गरे पनि पुग्छ। हुँदा हुँदा भोलि बजार अझै तल आयो भने सम्पूर्ण रकम पुँजीबारमा लगानी गर्नु पर्छ भन्ने मांग पो आउने भन्ने डर।

१९. सामुहिक लगानी कोषहरुले आईपीओमा प्राप्त गरेका शेयरहरु तीन बर्षसम्म बिक्री गर्न नपाउने गरी बन्देज लगाउने, कोषको पूँजी बजारमा लगानी गर्नुपर्ने रकम मध्ये २० प्रतिशत भन्दा बढी बैंक निक्षेपको रुपमा राख्न नपाउने बनाउनुपर्ने । सामुहिक लगानी कोष र पूँजी बजारमा लगानी गर्ने सबै कोषहरुलाई दोहोरो करबाट मुक्ति गर्ने । कोषहरुको ५० हजार रुपैयाँ बराबरका ईकाई खरिद गरी तीन बर्षसम्म धारण गर्नेलाई बार्षिक रुपमा ५० हजार रुपैयाँ बराबरको आय कर मिलान सुविधा दिनुपर्ने ।

विश्लेषण: जायज। तर lock-in period हुनु पर्छ भन्ने कुरा चाहिं जायज लागेन। यदि कर मा छुट छ भने मात्रै lock-in period हुनु पर्छ।

२०. पूँजी बजारमा लगानी गर्ने उद्धेश्यसहित स्थापना भएका लगानी कम्पनीहरुले आफुले दीर्घकालीन लगानी गर्न चाहेको उल्लेख गरी तोकिएको मितिबाट शेयर खरिद गरेर पाँच बर्षसम्म धारण गरेमा ५ प्रतिशत मात्र लाभकर लाग्ने ब्यवस्था गर्ने । एक अर्ब भन्दा बढी पूँजी तथा जगेडा कोष भएका लगानी कम्पनीहरुलाई डिलरशीपको काम गर्न स्वीकृति दिनुपर्ने ।

विश्लेषण: जायज।

२१. बुक विल्डिड. प्रणाली तत्काल लागु गर्ने । सो कार्यका लागि योग्य संस्थागत लगानीकर्ताका लागि सूचीकृत हुन कम्पनीहरुलाई तत्काल आब्हान गर्ने र अब आउने सबै आईपीओ तथा ऋण पत्रहरुमा बुक विल्डिड. लागु गरी बजारमा संस्थागत लगानीकर्ताको संख्या बढाउने र आपुर्ति नियन्त्रणको रणनीति अख्तियार गर्ने ।

विश्लेषण: जायज। तर ऋण पत्रहरुमा बुक विल्डिड कसरी हुन्छ? यदि तपाईंलाई जानकारी छ भने कृपया सुझाब दिनु होला।

२२. शेयर बजारमा सर्बसाधारणलाई शेयर बिक्री गरी बजारबाट बेपत्ता भएका कम्पनीहरुका बारेमा खोजी गरी त्यसका संस्थापक, संचालक, प्रमुख कार्यकारी र उनीहरुका एकाघरका परिवारको समेत विवरण संकलन गरेर कम्पनी चालु नरहेको भए शेयरधनीलाई रकम फिर्ता गर्न लगाउने, निश्चित समय भित्र रकम फिर्ता नगरे कालोसूचीमा राख्ने र कम्पनीले ब्यवसायिक कारोबार गरिरहेको भए जरिवाना र पछिल्लो वित्तीय विवरणसहित शेयर बजारमा पुनः कारोबारमा आउन बाध्य पार्ने नीति, नियम, रणनीति अख्तियार गर्ने ।

विश्लेषण: तुरुन्तै लागू गर्न सकिन्छ। म त भन्छु यी अपराधी हरुलाई जेल हाल्ने काम समेत हुनु पर्छ।

२३. कम्पनीहरुले त्रैमाशिक बित्तीय विवरण प्रकाशन गर्दा विद्युतीय माध्यम उपयोग गर्न लगाउनु पर्ने, बित्तीय विवरण पहिलो दिन नेप्सेको वेभसाईटमा प्रकाशन गरेपछि मात्र दोस्रो दिन राष्ट्रिय पत्रिकामा प्रकाशन गर्नुपर्ने, त्यसो नगर्ने कम्पनीहरुलाई पटकपिच्छे ५० हजार रुपैयाँ जरिवाना लगाउने ।

विश्लेषण: जायज। तुरुन्तै लागू गर्न सकिन्छ।

२४. कम्पनीको साधारणसभा प्रयोजनका लागि प्रोक्सी संकलन गर्दा धेरै बिकृति रहेकोले अबदेखि प्रोक्सी संकलन गर्दा शेयरधनीले आफ्नो विवरणमा दर्ता गराएको ईमेल ठेगानाबाट मात्र कम्पनीमा प्रोक्सी पठाउँनसक्ने गरी विद्युतीय माध्यम अनिबार्य गर्ने ।

विश्लेषण: जायज। तुरुन्तै लागू गर्न सकिन्छ।

२५. पूँजी बजारका बारेमा सर्बसाधारणका लागि विश्लेषण प्रस्तुत गर्ने विश्लेषक, परामर्शदाता र आर्थिक पत्रकारका लागि धितोपत्र बोर्डबाट सूचीकरणको ब्यवस्था गर्ने र उनीहरुको नियमनको ब्यवस्था मिलाई स्वच्छ र बस्तुनिष्ट जानकारी प्रबाहको सुनिश्चितता गर्ने ।

विश्लेषण: जायज। तुरुन्तै लागू गर्न सकिन्छ। तर परीक्षा पास पनि गर्नु पर्ने व्यवस्था गरियोस। सबैभन्दा पहिले सामान्य आर्थिक ज्ञान नभएका झोले पत्रकार लाई यसको दायरामा ल्याउनु पर्यो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको