Like us!
Follow us!
Connect us!
Watch us!

सगुनको दोस्रो चरणको शेयर निश्कासन, कम्तीमा ३० कित्ता किन्न सकिने

अर्थ संसार

बुधबार, २१ जेठ २०७७, ०८ : १६ मा प्रकाशित

सगुनको दोस्रो चरणको शेयर निश्कासन, कम्तीमा ३० कित्ता किन्न सकिने

अर्थ संसार, काठमाडौं- अमेरिकामा रहेका नेपालीहरूको एक समूहले स्थापना गरेको सामाजिक इ–कमर्स स्टार्ट अप कम्पनी सगुनले अर्को चरणको शेयर निष्कासन गरेको छ । विश्वभरबाट लगानी जुटाउने उद्देश्यले कम्पनीले दोस्रो चरणको शेयर निष्कासन गर्न लागेको हो ।

सगुनमा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएको कम्पनीले दाबी गर्दै आएको छ । अमेरिकी शेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी)ले केही समयअघि सगुनको विवरणपत्रलाई बिक्रीयोग्य
तोकेको कम्पनीले जनाएको छ ।
सगुनले यस चरणमा ‘ग’ श्रेणीको साधारण शेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने योजना ल्याएको छ । शेयरमा विश्वभर रहेका सर्वसाधारणले कम्तीमा ३० कित्ता शेयर (९ सय डलरको) खरिद गर्न सक्ने जनाइएको छ । कम्पनीले उक्त शेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निष्कासन गरेको जनाएको छ ।
सन् २०१७ मा यसको पहिलो ‘रेज ए प्लस’ मिनी आइपिओ प्रतिकित्ता २३ डलरका दरले निष्कासन गरेको थियो ।
त्यतिखेर सगुनको शेयरमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेको कम्पनीको दाबी छ । यसले मोबाइलको एन्ड्रोइड प्लेटफर्ममा सगुन लाइट, एप्पलको आइओएस प्लेटफर्म र एन्ड्रोइडमा सोसियल स्मार्ट कार्ड तथा वेब ब्राउजरहरूका लागि वेब एप्लिकेसन सार्वजनिक गरेको जनाएको छ ।
सगुनका संस्थापक गोविन्द गिरीले सगुनले विश्वभरिका प्रयोगकर्ताको आवश्यकता र चासो पूरा गर्ने बताए ।
उनले भने, ‘विश्वभरका मानिसले सगुनलाई फरक खालको अर्थपूर्ण सामाजिक सम्पर्क माध्यम बनाउन हामीले देखेको सपनालाई विश्वास गर्नुभएको छ । उहाँहरूको सहयोगले सगुनलाई हामीले बालकदेखि वृद्ध अवस्थासम्मका मानिसलाई जोड्ने प्लेटफर्म बनाउन सकेका छौँ ।’ सगुनले विश्वभरका प्रयोगकर्ताको आवश्यकता र चासोलाई पूरा गर्ने उनको दाबी छ ।
सगुनमा मानिसहरूले साथीहरूसँग सम्पर्क गर्ने मात्र होइन, सोसियल इ– कमर्समा समेत सहभागी हुन सक्ने उनले बताए । नेपाल र भारतका प्रयोगकर्ताले सगुनलाई अझ धेरै मन पराएको उनको दाबी छ । ‘रेज ए प्लस’ मिनी आइपिओ निष्कासनले सर्वसाधारणलाई स्टार्ट अप कम्पनीमा सेयर लगानी गरेर स्वामित्व हासिल गर्ने सुनौलो अवसर प्रदान गरेको उनको भनाइ छ । सगुनले अमेरिकी शेयर बजारमा लगानी प्रक्रियाको सहजीकरण र नियमनका लागि फन्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको