Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको कोरोनाविरुद्ध खोपमा डब्ल्युएचओले देखायाे चासाे

निशा हुमाँगाई

शुक्रबार, २३ जेठ २०७७, १२ : ४६ मा प्रकाशित

नेपालको कोरोनाविरुद्ध खोपमा डब्ल्युएचओले देखायाे चासाे

अर्थ संसार, काठमाडौं - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले नेपालमा बनेको कोरोनाविरुद्धको खोपमा चासाे देखाएकाे छ । 

डब्ल्युएचओले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो देखाएकाे हाे । 

अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेका भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो ।

जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा डा दासले जानकारी दिएका छन् । यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओमा पठाइएको थियो । अध्ययन संस्थानका प्रा दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ ।

करीब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा प्रश्न सोधिनाका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको प्रा गैरेले जानकारी दिएका छन् । “सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्छ, त्यसपछि डब्ल्युएचओसँग त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि पहल गरिनेबारे कुराकानी भयो”, प्रा गैरेले बताए ।

उक्त खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको छ । प्रा डा दासले दुई महिनादेखि कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप(औषधि) निर्माण गरेकाे जिकिर गरेका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको