अर्थ संसार
काठमाडौं – नेपालको मुख्य विकास साझेदार एसियाली विकास बैंक (एडीबी) ले यो वर्ष नेपालको आर्थिक वृद्धि दर ६ प्रतिशत नाघ्ने प्रक्षेपण गरेको छ ।
यसअघि बैंकले साढे ५ प्रतिशत आर्थिक वृद्धि दर हुने प्रक्षेपणलाई संशोधन गरी ६.२ प्रतिशतसम्म हुने अनुमान मंगलबार सार्वजनिक गरेको हो । एडीबीको प्रक्षेपण सरकारले लिएको लक्ष्य नजिक देखिएको छ । सरकारले साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यका साथ चालु आर्थिक वर्षका लागि १० खर्ब ४९ अर्ब रुपैयाँको विस्तारकारी बजेट ल्याएको छ ।
एडीबीले नेपालको वृहत् आर्थिक परिदृष्य सार्वजनिक गरी न्यूनतम ५.२ देखि ६.२ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरेको छ । यो लक्ष्य हासिल गर्न एडीबीले राजनीतिक स्थायित्व, स्थानीय तह चुनाव र औद्योगिक वातावरणमा सुनिश्चितता हुनुपर्ने बताएको छ ।
कृषि उत्पादनमा अधिक वृद्धि, भूकम्पपछिको पुनर्निर्माणले गति लिएको र लगानीको वातावरणमा देखिएको सुधारले विप्रेषण आम्दानीमा कमी आएर सेवा क्षेत्र खुम्चिएको भए पनि नेपालले यो वर्ष ६.२ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने बताए ।
औसतभन्दा बढी वर्षा र रासायनिक मलको उपलब्धताले यो वर्ष कृषि उत्पादन उल्लेख्य वृद्धि हुने सम्भावना रहेको उनले औँल्याए । अनुकूल मौसम, वस्तु आपूर्ति र व्यापारमा सामान्यीकरण, पुनर्निर्माण, लोडसेडिङ कमी र स्थानीय निकाय चुनावमा हुने खर्चले आर्थिक वृद्धिलाई सहयोग गर्ने छ ।
विद्युत् आपूर्तिमा आएको सुधारले मन्द गतिमा रहेको औद्योगिक उत्पादन बढाउने अनुमान एडीबीको छ । विप्रेषण आप्रवाहमा कमी र भारतमा ठूला नोटलाई गरिएको अमौद्रीकरणको सीमान्त असरले सेवा क्षेत्रलाई खुम्च्याउन सक्ने अनुमान गरिएको छ ।
यस्तै, तराई क्षेत्रमा देखिएको राजनीतिक अस्थिरताले पनि केही मात्रामा सिर्जित मागमा कमी आएको प्रतिकूल असरलाई पुनर्निर्माणका क्रममा घर निर्माणमा दिएको अनुदान वितरणका कारण मागमा आएको थोरै वृद्धि र स्थानीय निकायको निर्वाचन खर्चले अनुकूल अवस्थाले कम गरिदिन सक्ने आकलन एडीबीको छ ।
डेढ महिनाअघि बजेट आए पनि खर्चको अवस्थामा सुधार आउन नसकेको ठहर एडीबीको छ । सरकार बजेट कार्यान्वयनमा कमजोर देखिएको भण्डारीले बताए ।
नेपालमा मूल्यवृद्धिमा भारी गिरावट आउनुमा सहज आपूर्ति र भारतमा घट्दै गएको मूल्य वृद्धिको असर नेपालमा परेको एडीबीको ठम्याइ छ । सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे ७ प्रतिशत हुने प्रक्षेपण गरेकोमा एडीबीले बढीमा साढे ६ प्रतिशतमात्र हुने अनुमान गरेको छ ।
यस्तै, नेपालले वैदेशिक लगानी ल्याउन नसकेको एडीबीले जनाएको छ । नेपालले हालसम्म कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १ प्रतिशतमात्र वैदेशिक लगानी ल्याएको छ । वैदेशिक लगानीको विषयमा अन्य मुलुकको तुलनामा नेपाल पछि रहेको एडीबीले देखाएको छ ।
चालु आवमा उच्च आर्थिक वृद्धि हासिल गर्न वैदेशिक लगानीले सहयोग नगर्ने भएको छ । वैदेशिक लगानी भित्र्याउन भिसा दिन र आम्दानी फिर्ता लैजाने प्रक्रियालाई सुधार हुनुपर्ने एडीबीले औंल्याएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस