Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाले २९ कम्पनीको ९६ अर्ब कर्जा जोखिममा !

अर्थ संसार

आइतबार, ०७ असार २०७७, ०८ : १७ मा प्रकाशित

कोरोनाले २९ कम्पनीको ९६ अर्ब कर्जा जोखिममा !

अर्थ संसार, काठमाडौं- बन्दाबन्दीले २९ ठूला कम्पनीको कर्जा तिर्ने क्षमता ह्रास हुँदै गएकाले तिनमा भएको ९६ अर्ब ऋण लगानीमा जोखिम बढेको छ । नेपाली क्रेडिट रेटिङ एजेन्सीहरूले गरेको अध्ययनअनुसार निर्माण क्षेत्रका सिमेन्ट र छड उद्योग, पर्यटन क्षेत्रका होटेल तथा एयरलाइन्स र अटोमोबाइल कम्पनीहरूको कर्जा तिर्ने क्षमतामा ह्रास आएको देखिएको हो ।

त्यसैले यी कम्पनीहरूलाई ‘वाच विथ नेगेटिभ इम्लिकेसन’मा राखिएको छ । अर्थात्, यी कम्पनीहरूमा नकारात्मक प्रभाव देखिएकाले ऋणीको स्तर केही ओरालो लाग्न सक्ने देखिएको हो । यी कम्पनीहरूले अधिविकर्ष, आवधिक कर्जादेखि ट्रस्ट रिसिप्ट, बैंक ग्यारेन्टी, प्रतीतपत्र पेस्कीका रूपमा विभिन्न बैंकहरूबाट ९६ अर्ब रुपैयाँबराबरका कर्जा तथा ग्यारेन्टी लिएका छन् ।

 यो रकम सबै जारी कर्जा मात्रै होइन, कर्जाको सीमासमेत हो । यसमध्ये कति रकम कर्जाका रूपमा प्रवाह भएको भन्नेचाहिँ खुल्न सकेको छैन । ‘यी व्यवसायमा नकारात्मक प्रभाव परेको र पहिलेका भन्दा यी कम्पनीहरू दबाबमा रहेका छन् भन्ने हो,’ क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालका विश्लेषक किशोर विमलीले भने, ‘यी सबै कर्जा बिग्रिए वा बिग्रिनै लागेभन्दा पनि दबाबमा देखिएका छन् भन्ने हो ।’ कम्पनीहरूको अवस्था थप खराब भए एजेन्सीहरूले दिँदै आएको रेटिङको ग्रेड (स्तर) घटाउनेछन् । अवस्था ठीकै भए हाल कम्पनीहरूले पाइरहेको स्तर यथावत् रहनेछ ।

‘बन्दाबन्दीले यिनमा कस्तो असार पर्छ भनेर अहिले यकिन गर्न सकिने अवस्था नै छैन,’ केयर रेटिङ नेपालका प्रमुख कार्यकारी अधिकृत साजन गोयलले भने, ‘राष्ट्र बैंकले असारसम्ममा साँवा र ब्याजको किस्ता बुझाउन समय दिएको छ, त्यसपछि के हुन्छ ? अहिले नै भन्न सकिने अवस्था छैन ।’ हाल मुलुकमा इक्रा र केयर रेटिङ मात्रै क्रेडिट रेटिङ कम्पनीका रूपमा सञ्चालनमा छन् । ५० करोड रुपैयाँदेखि माथि कर्जा लिने संस्थागत ऋणीले अनिवार्य रेटिङ गराउनैपर्ने व्यवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको