Like us!
Follow us!
Connect us!
Watch us!

आलेख : न्यून लगानीबाट सफल उद्यमी बन्दैछन् ग्रामीण महिला

आइतबार, २० चैत्र २०७३, १२ : ५८ मा प्रकाशित

कालिका खड्का
काठमाडौँ–“जिन्दगीमा सीप भन्ने ठूलो कुरा रहेछ, च्याउ खेती राम्रो भएपछि ममा आत्मबल थपिएको छ”–मकवानपुर पदमपोखरी–१३ की देवमाया सिन्तान च्याउ खेतीको कमाइबाट आफ्नो परिवारलाई धान्न सकेकीमा खुसी छिन् । 

देवमायाले एक पटकमा रु १० लाख बराबरको परालले च्याउ खेती गर्छिन । एक पटक खेती गर्दा तीन महिनासम्म फल लाग्छ । “च्याउ खेती गर्दा एकमहिनादेखि फल्न सुरु हुन्छ र तीन महिनासम्म फल लिन सकिन्छ, एक पटक उत्पादन गर्दा रु पाँच लाख नाफा हुन्छ” – उनले थपिन् । 

सामान्य लेखपढ मात्रै गरेकी च्याउ उद्यमी ३३ वर्षीया देवमायाले गृहिणी शिक्षामार्फत गतवर्ष एसएलसी उत्तीर्ण गरिन् । फरवार्ड नामक संस्थाबाट दुई दिनको तालिम लिएर महिला बचत तथा ऋण सहकारी संस्थाबाट रु डेढ लाख ऋण लिएर पाँचवर्षदेखि उनले च्याउ खेती गर्दै आएकी छिन् । 

च्याउ खेतीमा सुरुमा एकपटक राम्रोसँग ध्यान दिएमा तीनमहिनासम्म उत्पादन लिन सकिन्छ । फल्न सुरु भएपछि प्रतिकूल हावापानी र रोग लाग्नबाट बचाउनुपर्छ । च्याउ खेतीबाट नै उनले दुई छोरा छोरीलाई पढाउन सकेकी छिन् । वैदेशिक रोजगारीमा गएका उनका श्रीमान् पनि अहिले च्याउ खेतीमै लागेका छन् । 

मुहारमा सन्तोषको भाव देखिएकी देवमायाले थपिन् –“च्याउ खेतीबाट राम्रो आम्दानी भएकामा धेरै खुसी छु । पैसा हातमा भएपछि हरेक काम गर्न आत्मबल बढदो रै’छ । अरु महिलालाई पनि म केही गर्न प्रेरणा दिइरहेका छु ।” 

च्याउ व्यवसाय गरेर सफलता प्राप्त गरेकी देवमायाजस्तै पर्वत कुस्मा बजारकी जसमाया पुनले पनि अल्लो व्यवसायबाट राम्रो आम्दानी गरिरहेकी छिन् । विसं २०५६ सालमा छ महिना लघु उद्यम विकास कार्यक्रममार्फत घरेलु विकास समिति पर्वतबाट तालिम लिएर पुनले अल्लो व्यवसाय सुरु गरेकी हुन् । 

जसमायाले भनिन् – “अल्लो व्यवसायबाट राम्रोसँग परिवारको आर्थिक स्तर उकास्न सकेकामा खुसी लाग्छ । पहिला केही किन्न मन लागे पनि पैसा नहुँदा दुःख लाग्थ्यो । अहिले सानोतिनो कामका लागि कुनै चिन्ता छैन ।” उनीसँग दुई चर्खा र दुई तान छन् ।

अल्लोबाट बनेको कपडाको देशभित्र मात्र हैन बाहिरबाट पनि राम्रै माग आउँछ । अल्लोबाट कपडा, कोट, पर्स, झोला, चप्पल लगायत धेरै सामान निर्माण गर्न सकिन्छ । 
सामान्य लेखपढ मात्र गर्न सक्ने जसमायाले मासिक रु २५ देखि ३० हजार फाइदा लिन सकेकी छिन् । उनी छोरीलाई राम्रो शिक्षा दिलाउन सफल भएकी छिन् भने साउदी अरबमा रहेका श्रीमान् समेत आएर अल्लो व्यवसायमा सघाइरहेका छन् ।

काम गर्दै जाँदा उनलाई आधुनिक खालको मेसिनको आवश्यकता भयो र यस्तो मेसिन किन्न केयर नेपाल नामक संस्थाले रु ४० हजार सहयोग पनि गर्यो । “आफू मात्र हैन, अरु दिदीबहिनी पनि व्यवसायी बनून् भनेर १५ जनालाई तालिम दिएकी छु, केही गर्नुपर्छ भनेर दिदीबहिनीलाई प्रोत्साहन पनि गरिरहेको छु” – उनले सुनाइन् । 

देवमाया र जसमायाजस्तै कैलालीकी पार्वती चौधरी पनि वेतबाँस (लहरा) का सामग्रीका सफल उद्यमी हुन् । वेतबाँसबाट निर्मित फर्निचर व्यवसाय गर्ने उनले कुर्ची, टेबल जस्ता आकर्षक सामग्री बनाएर बजारमा बेच्छिन् । 

लघु उद्यम विकास कार्यक्रमबाट सातदिनको तालिम लिएर काम सुरु गरेकी पार्वतीले रु पाँचहजारबाट यो व्यवसाय सुरु गरेकी हुन् र अहिले लगानी रु एक लाखबाट नाघिसक्यो । उनलाई यस्ता सामग्री बनाएर मासिक रु ३०/३५ हजार फाइदा हुन्छ । 

“सुरुमा धेरै दुःख थियो, अहिले दुई छोरासहित ११ जनाको परिवारलाई राम्रैसँग धानेकी छु, अझै धेरै गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ” – सबै महिलालाई केही न केही उद्यम गर्न सल्लाह दिने पार्वती भन्छिन् । 

देवमाया, जसमाया र पार्वती उदाहरणीय महिला उद्यमी हुन् । उनीहरुको सफलतामा केयर नेपाल नामक संस्थाले सहयोग रहेको छ । यो संस्थाले यी सफल महिला उद्यमीको वृत्तचित्र बनाएर भिडियोमार्फत अन्य महिलाहरुलाई उद्यमी बन्न उत्प्रेरित गर्दै आएको छ । 

केयर नेपालका परियोजना व्यवस्थापक हरि घिमिरेले देशभरबाट १५ सफल महिला उद्यमीको वृतचित्र तयार पारेर अन्य महिलालाई उत्प्रेरित गर्न ठाउँ–ठाउँमा अभियान नै सञ्चालन गरेको बताए । 

“भिडियोमार्फत पूर्वदेखि पश्चिमसम्म १९ जिल्लामा सफल महिला उद्यमी अभिप्रेरणा अभियान सुरु गरेका छौं, वृत्तचित्रमार्फत १२ हजारलाई उद्यमी बन्न प्रोत्साहन गरिएको छ”– उनले थपे ।

यी सफल महिला उद्यमीलाई थप प्रोत्साहन दिन केयर नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ । यी महिलाका सफल उद्यम अरुका लागि प्रेरणादायी छन् । उनीहरुबाट प्रेरणा लिएर अघि बढ्ने जो कोही आत्मनिर्भर बन्न सक्छन् भन्नेमा द्विविधा छैन । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको