Like us!
Follow us!
Connect us!
Watch us!

२०७३ मा ऊर्जा क्षेत्रमा के के भए त उपलव्धीहरु ?

विहीबार, ३१ चैत्र २०७३, १७ : १३ मा प्रकाशित

२०७३ मा ऊर्जा क्षेत्रमा  के के भए त उपलव्धीहरु ?

अर्थ संसार 
 
काठमाडौं–गत साल चैतमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुन्थ्यो । उद्योग व्यावसाय चौैपट थियो । मुलुकमा केही हुँदैन भन्नेहरुको जमात पनि ठूलो थियो । सरकारले कार्ययोजना भने नयाँ नयाँ ल्याएको थियो तर कार्यान्वयनको अवस्था भने कछुवाको गतिमा नै थियो ।

नेपाली नागरिकमा आशा भन्दा निराशा बढी थियो । सरकारले वायु देखि थर्मल ऊर्जाको विषयमा समेत चर्चा परिचर्चा गरकै थियो ।तर उपभोक्ता दैनिक १२ घन्टाको विद्युत्भार कटौतीका कारण आहात थिए । सरकारको उक्त चर्चालाई धेरैले हावादारी भन्दै उडाएका पनि थिए ।

दैनिक मैनबत्ती किन्नुपर्ने वाध्यता एकातिर थियो भने मोबाइल फोन चार्ज गर्न समेत कति बेला विजुली आउँछ भनेर बस्नुपर्ने बाध्यता थियो । समय बदलियो, सरकार परिवर्तन भयो, मान्छेका आशा पनि बदलिए । गत साउन २० गते नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो ।

सरकारले ऊर्जा मन्त्रालयको जिम्मा जनार्दन शर्मालाई दियो । शर्मा सार्वजनिक लेखा समितिको सभापतिको भूमिकामा रहेर मुलुकको ऊर्जा क्षेत्रको समस्याका बारेमा जानकार हुनुहुन्थ्यो । प्रधानमन्त्री भएकै दिन दाहालले विद्युत्भार कटौतीकोे अन्त्य र उज्यालो नेपालको परिकल्पना नै सरकारको महत्वपूर्ण कार्यभार भएको घोषणा गर्नुभयो ।

सरकारले उज्यालो नपाल अभियानको घोषणा त ग¥यो, कार्यान्वयन गर्ने निकाय नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मुकेशराज काफ्ले हुनुहुन्थ्यो । उहाँको कार्यशैलीका बारेमा सकारात्मक भन्दा नकारात्मक टिप्पणी नै बढी हुने गरेको थियो ।

केही नयाँ काम गर्ने लक्ष्यका साथ ऊर्जा मन्त्रालयको जिम्मेवारीमा पुगेपनि प्राधिकरणको नेतृत्वबाट काम नहुने देखेपछि ऊर्जा मन्त्री जनार्दन शर्मा गत भदौको दोस्रो साता नेपाली काँग्रसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्नु भयो । प्रसंग अरु थिएन, प्राधिकरणका कार्यकारी प्रमुख रहेका काफ्लेलाई हटाएर सो स्थानमा कुलमान घिसिङलाई ल्याउने ।

ऊर्जा मन्त्री शर्माले केही समय पहिले पत्रकारहरुसँगको अनौपचारिक छलफलमा भन्नुभएको थियो ‘‘ सभापति देउवाको हटाउनुस काफ्लेलाई भन्ने वचनले नै काम गर्यो ।’’ सरकारले गत भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ नियुक्त हुनुभयो ।

प्राधिकरणको उच्च कर्मचारी मध्ये वरियतामा एघारौ नम्बरमा रहनुभएका घिसिङको नियुक्तीलाई प्राधिकरणका उपकार्यकारी निर्देशकहरुले स्वीकार गर्न तयार भएनन् । त्यसमध्ये केही त सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगे ।

घिसिङलाई कार्यकारी बनाउनु भन्दा पहिल्यै प्रधानमन्त्रीको नेतृत्वमा दर्जनौ बैठक भए काठमाडौँ उपत्यकामा पहिलो चरणमा कसरी विद्युत्भार कटौती अन्त्य गर्न सकिन्छ भनेर । प्रधानमन्त्री, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जा मन्त्री शर्मा, प्राधिकरणको निर्देशकको हैसियतले घिसिङ, ऊर्जा विज्ञ मोहनराज पन्तलगायतको छलफलले एउटा निष्कर्ष निकाल्यो ।

त्यो निष्कर्ष थियो, काठमाडौँ उपत्यकालाई दशै आसपासमा नै विद्युत्भार कटौती अन्त्य गर्र्न र जनतामा नयाँ आशाको सञ्चार गराउने । त्यसका लागि अर्थ मन्त्रालयले आवश्यक बजेट दिने भयो, गृह मन्त्रालयले सुरक्षा प्रदान गर्ने र प्राधिकरणले आवश्यक तयारी गर्ने ।

प्राधिकरणको कार्यकरी प्रमुखमा नियुक्त हुनु अगावै सरकारको योजनाअनुसार ऊर्जा मन्त्रालयमा विद्युत् भार प्रेषण केन्द्र, प्राधिकरणका केही अधिकारी र केही ऊर्जा क्षेत्रका जानकारकाबीचमा समेत दर्जनौ छलफल भए ।

कार्यकारी प्रमुख घिसिङले भार प्रेषण केन्द्रमा बसेर उपत्यकाको माग र आपूर्तिको वस्तुगत प्रतिवेदन तयार पारे । निष्कर्ष निकालियो ३१० मेगावाट विद्युत् साँझमा काठमाडौँ उपत्यकामा ल्याउन सकियो भने विद्युत्भार कटौती अन्त्य गर्न सकिन्छ ।

भदौ २९ गते आधिकारिक रुपमा सरकारले नियुक्त गरेपछि ऊर्जा मन्त्री शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, घिसिङ,लगायतले भपली सवस्टेशन, बानेश्वर सवस्टेशन तथा काठमाडौँका अन्य सवस्टेशन तथा प्रसारण लाइनको स्थलगत अवलोकन गरे ।

दशै लगत्ते अनौपचारिक रुपमा काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती अन्त्य भयो , तर घोषणा भने भएको थिएन । उपभोक्ता होइन के चमत्कार भयो, विजुली त जाँदैन त भन्न थालेका थिए । २४ सै घन्टा विद्युत् पाउनुपनि चमत्कारकै विषय थियो । गत तिहार लागेपछि प्राधिकरणले अनौपचारिक रुपमा २४ सै घन्टा विद्युत् उपलब्ध गराउन  थाल्यो । तिहारको लक्ष्मी पूजाको दिन घिसिङ साँझ पाँच बजेपछि विद्युत् भार प्रेषण केन्द्र स्यूचाटार पुगे । साँझ पर्दै गयो, विद्युत् मागको पारो क्रमशः बढ्दै गयो ।

तिहारका कारण एकाध बाहेक उद्योग धन्दा चलेका थिएनन् । विद्युत् माग ३१५ मेगावाट हुँदै ३२० मेगावाटमा पुगेर रोकियो । घिसिङ त्यो दिन सम्झदै भन्नुहुन्छ ‘‘ मलाई असाध्यै डर लागेको थियो । प्रधानमन्त्री, ऊर्जा मन्त्रीको कडा निर्देशन थियो । जसरी भएपनि काठमाडौँकाृे विद्युत् कटौती पूर्ण रुपमा शुन्यमा झार्ने । विद्युत् माग बढ्दै गर्दा म वेचैन भएको थिए ।

साथमा भार प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठ, एक दर्जन इन्जिनियरको टोली साथमा थियो । माग बढ्दा धान्न सकिदैन कि भन्ने डरले के होला के होला भन्ने लागेको थियो । भार प्रेषण केन्द्रको छतमा बसेर काठमाडौँ उपत्यकालाई हेरे । जताततै उज्यालो थियो । सबैका घरमा बत्ती बलेको थियो ।’’ रातको नौ बजेपछि विस्तारै विद्युत् माग घटन थाल्यो ।

प्राधिकरणको परिक्षण सफल भएको थियो । ऊर्जा मन्त्रीले योजना सफल भएको भन्दै घिसिङ र उहाँको समूहलाई फोन गरेर वधाइ दिनुभयो । प्रधानमन्त्रीले ऐतिहासिक सुरुवात भएको भन्दै थप के गर्नुपर्छ सोझै आफूकहाँ आएर भन्न आग्रह गर्नुभयो ।

अघिल्लो साल मैनवत्ती, जेनेरेटरका भरमा उज्यालोको पर्व दिपावली मनाउने नागरिक विद्युत् पाएर खुसी भए । प्राधिकरणको सफलता राजधानी विद्युत्भार कटौती मुक्त भन्ने समाचार सार्वजनिक भएपछि मात्रै खुसीको कारण थाहा पाएका थिए नागरिकले ।  बर्षाकालमा समेत अध्यारोमा बसेका राजधानीबासी मात्रै होइन यतिखेर मुलुक नै विद्युत्भार कटौतीमुक्त भएको छ ।

  औद्योगिक कोरिडोरमा दैनिक चार घन्टा मात्रै विद्युत् कटौती हुने गरेको छ । गत वर्ष १० घन्टा विद्यु्त पाउने उद्योगी व्यावसायीले यस वर्ष दैनिक २० घन्टा विद्युत् पाएका छन् ।

सरकारले अगाडि सारेका कार्यक्रमहरु मध्ये हालसम्म २७ बुँदामा उपलब्धि हासिल गरेको छ । आयोजनाबाट कम क्षमतामा विद्युत् उत्पादन गर्ने, उद्योगलाई विद्युत् दिएर उपभोक्तालाई अध्यारोमा राख्ने, कमिसन लिएर सोलार, इन्भटर र व्याट्रीको कारोबार गर्नेहरु भने सरकारको निर्णय पछि विरोधमा उत्रिए ।

तर नेपाल उद्योग वाणिज्य महासङ्घले विद्यत्भार कटौतीको अन्त्य पछि उद्योग व्यावसायमा सुनौलो युग सुरु भएको भन्दै सरकारको पक्षमा वक्तव्य जारी ग¥यो । विरोध गर्नेहरु तै चुप मै चुपको अवस्थामा पुगे । यस अवधिमा ‘ऊर्जा संकट तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना २०७२’कार्यान्वयनका लागि धेरै काम भएका छन् ।

यस अवधिमा ३० मेगावाटको चमेलियाको प्रगति ९८ प्रतिशत पुगेको छ भने १४ मेगावाटको कुलेखानी तेस्रोको सम्पन्न हुने चरणमा पुगेको छ ।सरकारले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ आम लगानीकर्तालाई लगानीका लागि अनुरोध गरेको छ । सो अवधारणामा हालसम्म  रु पाँच अर्ब बराबरको प्रतिवद्धता प्राप्त भएको छ ।

पछिल्लो सात महिनामा प्राधिकरणको आम्दानी रु  ६ खर्ब २ करोड ७२ लाख बढेको छ । चार प्रतिशत चुहावट कम हुँदा रु एक अर्ब २० करोड प्राधिकरणलाई नाफा भएको छ । गतवर्ष रु ११ अर्ब रुपैयाँ घाटा बेहोरेको प्राधिकरणको हालसम्मको घाटा रु ३७ अर्ब पुगेपनि केही समयभित्रै घाटा पूर्ति गर्न सकिने विश्वास बढेर गएको छ । गत भदौमा प्राधिकरणको वार्षिकोत्सवमा ऊर्जामन्त्री शर्माले घाटामा गएको प्राधिकरणलाई नाफामा लैजाने घोषणा गर्नुभएको थियो ।

यस्तै सरकारको जोड बलका कारण हालसम्म नीजि प्रवद्र्धकले उत्पादन गरेको १४५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । भारतबाट ३६५ मेगावाट विद्युत् आयात भइरहेको छ । यस्तै कालीगण्डकी, मध्यमस्र्याङदी, मस्र्याङदी र कुलेखानी पहिलो र दोस्रोलाई साँझको समयमा मात्रै चलाएर पिकिङ लोड धानिएको छ ।

यस्तै वर्तमान सरकार गठन भए लगत्तै पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन गर्न डीपीआर मस्यौदा तयार भएको छ । लामो समयदेखि विवादमा फस्दै आएको रक्सौल परवानीपुर, कुशाहा कटैया प्रसारण लाइन सम्पन्न भएको छ । यस्तै न्यू बुटवल गोरखपुर प्रसारण लाइनको काम सुरु हुने चरणमा पुगेको छ ।

यस्तै सरकारले सुनकोसी, दुधकोसी, ठोसे–खिम्ती–शिवालय, नौमुरे, बबई, नलसिंहगाड, उत्तरगंगाजस्ता जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने आवश्यक प्रक्रिया सुरु गरिसकेको छ ।

राष्ट्रिय गौरवको आयोजानको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितलाई रु पाँच अर्ब मुआब्जा वितरण सुरु भएको छ भने नलसिंहगाड जलविद्युत् आयोजनाको डिपिआरको काम पचास प्रतिशतको हाराहारीमा पुगेको छ । यस्तै चीन, भारत तथा सार्क क्षेत्रका मुलुकको सहयोगमा १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनाको अध्ययन अगाडि बढाउने तयारी गरिएको छ ।


खिम्ती–ढल्केबर रहेटौंडा–स्युचाटार प्रसारणलाइन निर्माण सम्पन्न भएको छ । ती आयोजना वर्षौदेखि विवादको भूमरीमा फसेका थिए । कुल  १४० मेगावाटको तनहुँ सेती आयोजनाको निर्माण कार्य अघि बढेको छ ।

 कोसी करिडोर, मस्र्याङ्दी–काठमाडौं,समुद्रटार–काठमाडौंलगायतका प्रसारणलाइन आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  विद्युत् सेवा वितरणलाई प्रभावकारी बनाउन स्मार्ट ग्रिड एन्ड मिटरिङ कार्यका लागि बोलपत्र आव्हान भइसकेको छ ।

त्यसैगरी विद्युत् उत्पादन तथा राष्ट्रिय प्रसारण ग्रिड स्थापना भई प्रमुख कार्यकारी अधिकृतहरू छनौट भई काम सुरु भइसकेको छ । विद्युत् व्यापार कम्पनी तथा इन्जिनियरिङ परामर्श कम्पनी स्थापना हुने चरणमा छन् ।

मन्त्रालयका अनुसार, जलविद्युत् अनुमतिपत्रलाई सरलीकृत गरी एक सय मेगावाटसम्मका विद्युत् आयोजनाहरूको अनुमतिपत्र सम्बन्धी अधिकार विद्युत् विभागका महानिर्देशकलाई दिइएको तथा कानुनी सुधारको व्यवस्थाअन्तर्गत विद्युत् नियमन आयोग विधेयक संसदमा पेस भइसकेको छ । ऊर्जा संकट विधेयकको मस्यौदा तयार भई सकेको छ ।

ऊर्जा क्षेत्रमा सबैभन्दा बढी सफलता पाएको र अध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेको वर्षमा रुपमा २०७३ विदा भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको