Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तहको निर्वाचन भएर छाड्ने सभापति देउवाको उद्घोष

मंगलबार, ०५ बैशाख २०७४, १८ : ३४ मा प्रकाशित

स्थानीय तहको निर्वाचन भएर छाड्ने सभापति देउवाको उद्घोष

अर्थ संसार 

दमक– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ । 

नेपाली काँग्रेसले झापाको कमल गाउँपालिकास्थित आदिवासी रङ्गशालामा आयोजना गरेको निर्वाचन लक्षित १ नम्बर प्रादेशिक सभालाई सम्बोधन गर्दै सभापति देउवाले आन्दोलनरत मधेसवादी दललाई समेत समेटेर संविधान कार्यान्वयन गर्न निर्वाचन हुने विश्वास दिलाउनुभयो । 

सभापति देउवाले वर्तमान सरकारले संसदमा पुनः संविधान संशोधनको प्रस्ताव दर्ता गरेर मधेसका भावनालाई समेट्न चाहेको र त्यसलाई मधेसवादी दल र एमालेले समेत सहयोग गरेर निर्वाचनको माहोल थप बनाउनुपर्नेमा जोड दिनुभयो । 

घोषित मितिमा नै निर्वाचन हुने उल्लेख गर्दै सभापति देउवाले दुई दशक जनप्रतिनिधिविहीन स्थानीय तहमा जनताको प्रतिनिधि चुन्ने अवसरलाई सदुपयोग गरेर जानु नै सबैको राष्ट्रिय दायित्व भएको जोड दिनुभयो । 

नेता रामचन्द्र पौडेलले जनताका सबैखाले हकअधिकारलाई संस्थागत गर्न निर्वाचनबाट संविधान कार्यान्वयन हुने भएकाले निर्वाचनमा सबैको सहभागिता हुनुपर्छ भन्नुभयो । 

महामन्त्री शशाङ्क कोइरालाले मधेसवादी दललाई समेटेर गएमात्र निर्वाचनले सार्थकता पाउने भन्दै त्यसका लागि दलीय सहमति निर्माण गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । 

नेता कृष्णप्रसाद सिटौलाले वैशाख ३१ मा नै स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुलुकले आर्थिक, सामाजिक प्रगति हासिल गर्ने बताउनुभयो । 

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले २०७४ माघ ७ गतेभित्रमा तीनवटै तहको निर्वाचन गराउनु वर्तमान सरकारको प्रमुख कार्यभार भएको जोड दिनुभयो । 

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यहरू शेखर कोइराला, मीन विश्वकर्मा, भीष्मराज आङदम्बे, नेवि सङ्घका सभापति नैनसिंह महर, तरुण दलका सभापति जीतजङ बस्नेत, महिला सङ्घकी सभापति उमा रेग्मी, प्रदेश १ का १४ वटै जिल्ला सभापतिलगायतले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो । 

सोही अवसरमा विभिन्न जिल्लाबाट अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गरिएको थियो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको