Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो तामाकोशी २०७५ असार अगावै सक्न कुलमानले दिए कडा निर्देशन

सोमबार, ११ बैशाख २०७४, १६ : ०२ मा प्रकाशित

माथिल्लो तामाकोशी २०७५ असार अगावै सक्न कुलमानले दिए कडा निर्देशन

अर्थ संसार 
 काठमाडौँ– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना २०७५ असार अगावै सम्पन्न गर्ने गरी कार्ययोजना बनाइएको छ ।आयोजना स्थल दोलखामा नै बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

आयोजना स्थलमा नै पुगेर सञ्चालक समितिको बैठक बसेको यो नै पहिलो पटक हो । यसअघि काठमाडौँमा मात्रै बस्दै आएको सञ्चालक समितिको बैठक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजना अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा बसेको हो ।

बैठकले तिनवटै ठेकेदारलाई दैनिक तीन सिफ्टमा काम गर्न समेत निर्देशन दिएको छ ।बैठक समापन गर्दै कार्यकारी निर्देशक घिसिङले तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः निर्देशन दिनुभएको छ ।

 सो आयोजनामा लगानी गर्ने नेपाल टेलिकम, बिमा संस्थान, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषका प्रमुख तथा प्रतिनिधिसहित आयोजनास्थल पुग्नुभएका कार्यकारी निर्देशक घिसिङले दोस्रोपटक सो निर्देशन दिनुभएको हो । कुल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिट २०७५ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएकामा समयभन्दा अगावै सम्पन्न गर्न प्राधिकरणले उपाय खोजिरहेको छ ।

 ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गर्न के के उपाय अपनाउन सकिन्छ भन्ने विषयमा तयारी गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको थियो । मन्त्री शर्माको सो निर्देशनपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका घिसिङले आयोजनामा प्रमुख लगानी गर्ने साझेदारको बैठकसमेत आयोजनास्थलमा नै राख्नुभएको प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनाको हाल भौतिक प्रगति करिब ८८ प्रतिशतको हाराहारीमा पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री शर्माको पटक पटकको स्थलगत अनुगमनका कारण पनि पछिल्लो दिनमा आयोजनाको भौतिक प्रगति उच्च भएको हो ।

विद्युत् आयातलाई कम गर्न महत्वपूर्ण मानिएको माथिल्लो तामाकोसी आयोजना गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दी नभएको भए यतिखेर सञ्चालनमा आइसक्ने  अनुमान थियो ।

आयोजनाको सुरुको लागत रु ३५ अर्ब रहे पनि नाकाबन्दी र भूकम्पका कारण लागत रु ४१ अर्ब पुगेको छ । प्रवक्ता न्यौपानेले आयोजनालाई सहजरूपमा अगाडि बढाउने र तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउन के के गर्न सकिन्छ भनेर कार्यकारी निर्देशक घिसिङले आवश्यक निर्देशन दिनुभएको जानकारी दिनुभयो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको