Like us!
Follow us!
Connect us!
Watch us!

नागार्जुन नगरपालिकाको चुनावी माहोल : उम्मेदवार घरदैलोमा भोट भाग्दै

बुधबार, २७ बैशाख २०७४, १५ : ४४ मा प्रकाशित

नागार्जुन नगरपालिकाको चुनावी माहोल : उम्मेदवार घरदैलोमा भोट भाग्दै


अर्थ संंसार 

काठमाडौँ-लामो समयको प्रतिक्षापछि हुन लागेको स्थानीय तहको निर्वाचनमा विजयी हुनका लागि दलका उम्मेदवार र भोट हाल्न मतदाता निकै उत्साहित देखिन्छन् । 

उपत्यकामा भूगोलका हिसाबले सबैभन्दा सानो नागार्जुन नगरपालिकामा स्थानीय तहको निर्वाचनको चहलहपहल बढेको छ । नागार्जुन नगरपालिकामा प्रमुख र उपप्रमुख पदका लागि नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाका उम्मेदवार घरदैलोमा व्यस्त छन् । 

नगरपालिका प्रमुखमा नेपाली काँग्रेसबाट मोहनबहादुर बस्नेत, नेकपा (एमाले) का तर्फबाट कृष्णहरि खत्री, नेकपा (माओवादी केन्द्र) कुमार तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माले) बाट सुष्मा श्रेष्ठ (छन्त्याल) र नयाँ शक्ति नेपाल प्रताव दानी धमाधम दरदैलोमा खटेका छन् । 

मुख्य दलसहित तीनजना स्वतन्त्र उम्मेदवार विष्णुबहादुर गोतामे, शङ्करबहादुर थापा र श्रीकृष्ण बस्नेत गरी नगरप्रमुखमा १५ जनाको उम्मेदवारी परेको छ । उपप्रमुखमा सातजनाको उम्मेदवारी परेको छ । उपप्रमुखमा सबै पार्टीले महिलालाई नै उम्मेदवारी बनाएका छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसबाट कल्याणी खड्का, एमालेबाट सुशीला अधिकारी, माओवादी केन्द्रबाट देवकी पौडेल भुजेल, राप्रपाबाट मीरा कुँवर, राष्ट्रिय जनमोर्चाबाट कविता गुरुङ, नयाँ शक्तिबाट सिर्जना सुवेदी चुनावी मैदानमा हुनुहुन्छ । 

सो नगरपालिका प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार कृष्णहरि खत्रीले उक्त सबै नगरमा पुग्ने गरी चक्रपथको निर्माण गर्ने र एक घर एक धारा मुहानदेखि मुखसम्म स्वच्छ पानी पु¥याउने आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो । 

“पर्यटकीय दृष्टिकोणले निकै सुन्दर नगर छ, भूकम्पपछि निर्माण हुन लागेको घरहरुको निःशुल्क नक्सापास गर्ने, सामाजिक सुरक्षा भत्ता घर–घरमा पु¥याउने”–उहाँले आफ्नो प्रतिबद्धता सुनाउनुभयो । 

नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतको पनि नगर सुधारकै लागि मुख्य प्रयास हुनेछ । “निकै पछाडि घोषणा भएको यो नगरपालिकाको समग्र विकासमा मेरो ध्यान केन्द्रित हुनेछ”–उहाँले भन्नुभयो । 

नेकपा (माओवादी केन्द्र)का तर्फबाट नगरप्रमुखका उम्मेदवार कुमार तामाङको सबै जातिको समग्र विकास र सिंहदरबारमा केन्द्रित अधिकारलाई घरघरमा ल्याउने योजना छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर प्रमुखका उम्मेदवार उद्धप थापाले पर्यटकीय सम्भावना प्रसस्त भए पनि प्रचारप्रचारको कमी भएकाले आफूले पर्यटकीय नगरीको रुपमा विकास गरी आर्थिकस्तर बढाउने प्रतिबद्धता गर्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (माले) बाट सुष्मा श्रेष्ठ (छन्त्याल) को पनि नगरलाई सडक, खानेपानीलगात सबै सुविधासम्पन्न बनाउने योजना छ । 

नागार्जुन नगरपालिकाका कानुन तथा महाशाखा विभाग प्रमुख भुवन गिरिका अनुसार उक्त नगरपालिकामा २७ पदका लागि २६६ जनाको उम्मेदवारी परेको छ । सो नगरपालिकामा निर्वाचनको माहोललाई र सङ्गठनको उपस्थितिलाई आधार मान्दा एमाले र काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । सो नगरपालिकामा वडा सङ्ख्या १०, निर्वाचनका लागि १६ स्थान र ४२ निर्वाचन केन्द्र तोकिएको छ । 

नागार्जुन नगरापालिका पहाडको फेदीमा मयुर आकारमा फैलिएको कहीँ उच्च भू–भागदेखि समथर भू–भाग, तरेली परेको फाँट अनि तीव्रगतिमा बढिरहेको सहरीकरणको क्षेत्र साबिकका भीमढुङ्गा, रामकोट, सीतापाइला, इचङगुनारायण र स्युचाटार गाविसका सम्पूर्ण क्षेत्र समावेश भएको नगरपालिका हो । नेपाल सरकारले २०७१ मङ्सिर १६ गते नाजार्जुन नगरपालिका बनाएको हो । यो भूगोलका हिसाबले सानो नगरपालिका भए पनि भौगोलिक हिसाबले सबैभन्दा सानो, सुन्दर र मनोरम रहेको छ । 

यो नगरपालिका २०६८ सालको जनगणनाअनुसार कूल जनसङ्ख्या ६७ हजार ४२० रहेको छ । जसमा महिलाको सङ्ख्या ३३ हजार ३५६ र पुरुष ४३ हजार ०६४ बसोवास गर्दछन् । यो नगरपालिकाको क्षेत्रफल २९.८ वर्ग किमि रहेको छ ।

समुद्री सतहबाट एकहजार ३०० मिटरदेखि दुई हजार ५०० मिटरको औसत उचाइमा रहेको यो नगरपालिका पूर्वमा काठमाडौँ महानगरपालिका, पश्चिममा धादिङ जिल्लाको धुनीबंँेसी नगरपालिका, उत्तरमा तारकेश्वर नगरपालिका र दक्षिणमा चन्द्रागिरि नगरपालिका पर्दछ । 

भौगोलिक बनावटको दृष्टिकोणले उत्तरपश्चिम क्षेत्रमा केही माग होचा, पहाडी र पूर्व–दक्षिण समथर भू–भागमा निकै राम्रो सम्भावना भएको, स्वच्छ प्राकृतिक दृश्य, नागार्जुन शिवपुरी राष्ट्रिय निकुञ्जदेखि सामुदायिक वन र निजी वनको मनमोहक सौन्दर्य र जैविक विविधताले धनी मानिन्छ । 

ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहर बोकेको यो नगरपालिकामा चार नारायणमध्ये इचङ्गु नारायण, महाभारत–रामायण र स्वस्थानी कथामा उल्लेख गरिएका भीमढुङ्गा, रामकोट, सीतापाइला, हरिसिद्धि माता, कल्पेश्वर महादेव, आदेश्वर महादेव, हल्चोक आकाशभैरव, बद्री नारायणधाम, भुवनेश्वरी मन्दिर, कोटश्यभैरव, तारकेश्वर मन्दिर, पञ्चकन्या माता, भीमसेनस्थान, महेशनारायण रहेका छन् । 

नेपाल–अङ्ग्रेजबीच भएको नालापानी युद्धका कमाण्डर बलभद्र कुँवर यही नगरका बासिन्दा थिए । नेपाल एकीकरणका अभियानमा पृथ्वीनाराण शाहले उपत्यका र कीर्तिपुर आक्रमण गर्दा बनाएका किल्ला, गढी, सहिद प्रद्युम्न खड्काको सालिक, पुरानो गौचरनसमेत नगरका ऐतिहासिक धरोहर हुन् ।

रानीवन क्षेत्र, थाप्लेलगायतमा होमस्टे, गणेशमान श्यामेश्वर पार्क, सहिद पार्क, स्विट्जरल्यान्ड पार्क, ह्वाइट गुम्बा आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक थलो बनेका छन् । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको