Like us!
Follow us!
Connect us!
Watch us!

दोलखाबासीको लागि खुसीको खबर : माथिल्लो तामाकोशीको साधारण सेयर आगामी साउनमा आउँदै

विहीबार, ०४ जेठ २०७४, ११ : ५८ मा प्रकाशित

दोलखाबासीको लागि खुसीको खबर :  माथिल्लो तामाकोशीको साधारण सेयर आगामी साउनमा आउँदै

अर्थ संसार,
काठमाडौँ– माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीले आगामी साउनको दोस्रो साता स्थानीयबासीका लागि छुट्ट्याइएको साधारण सेयर निष्कासन गर्ने भएको छ ।

दोलखा जिल्लामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले स्थानीयका लागि १० प्रतिशत सेयर जारी गर्न लागेको आयोजनाले जनाएको छ ।

 आर्थिक वर्ष २०७४÷७५ को सुरुमै सेयर जारी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।
 
‘चालु आवभित्र स्थानीय र सर्वसाधारणका छुट्ट्याएको सेयर निष्कासन गर्ने योजना थियो,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनले ढिला हुन् भयो । अर्को आवको सुरुमै सेयर जारी गरिनेछ ।’

कम्पनीका अनुसार आयोजना प्रभावित स्थानीयका लागि जारी पुँजीको १० प्रतिशत अर्थात रु १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता जारी हुनेछ ।

स्थानीयको सेयर निष्कासन र बाँडफाँडपछि सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत अर्थात रु १ अर्ब ५८ करोड ८५ लाख बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता निष्कासन हुने कम्पनीले जनाएको छ ।

कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता नेपाल विद्युत प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि सेयर जारी भइसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको