Like us!
Follow us!
Connect us!
Watch us!

संविधानले दिएको राजनीतिक अधिकार अल्सख्यक चेपाङ समुदाय स्थानीय तहमा निर्वाचित

शनिबार, ०६ जेठ २०७४, १९ : ४४ मा प्रकाशित

संविधानले दिएको राजनीतिक अधिकार अल्सख्यक चेपाङ समुदाय स्थानीय तहमा निर्वाचित

अर्थ संसार, 
काठमाडौँ- नौ महिना अनिकाल र तीन महिना मात्रै सहकालको रुपमा रहने अल्पसंख्यक चेपाङ समुदायलाई नयाँ संविधानले राजनीतिक रुपमा अधिकार सम्पन्न मात्रै बनाएन, स्थानीय तहमा नै निर्वाचित हुने वातावरण बनाएको छ ।

मुलुकभर नै राष्ट्रिय जनगणना, २०६८ अनुसार कुल ८६ हजार ३९९ जनसंख्या रहेको चेपाङ समुदाय निर्वाचित भएको र राजनीतिक अधिकार सम्पन्न भएको यो पहिलो पटक हो ।

धादिङ गोरखा, मकवानपुर र चितवनमा सो समुदायको बाक्लो उपस्थिती रहेको छ । धादिङमा मात्रै ८ जना चेपाङ समुदायका अगुवा यस पटकको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका छन् ।

धादिङको स्थानीय तहको निर्वाचनमा १४ जना चेपाङहरुले बेनिघाट रोराङ र गजुरी गाउँपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका थिए, ति मध्य एक महिला सहित ७ जनाले विजयी हाँसिल गरेका छन् ।

नेकपा एमालेबाट ३ जना, नेकपा माओवादी केन्द्रबाट ३ जना र नेपाली काँग्रेसबाट १ जना गरि ७ जना चेपाङ उम्मेदवार स्थानिय तहको निर्वाचनमा विजयी भएका हुन् ।

नेपाली काँग्रेसको तर्फबाट गजुरी वडा नं. ४ को वर्डा अध्यक्ष मा सुजन चेपाङ विजयी हुनुभएको छ भने भने अन्य चेपाङ उम्मेदवारहरु वडा सदस्यमा विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट विजयी हुने चेपाङ उम्मेदवारहरु विरबहादुर चेपाङ बेनिघाट रोराङ, गाउँपालिका १० सदस्य, पूर्णिमा चेपाङ, बेनिघाट रोराङ, गाउँपालिका ७ सदस्य, राम्जी चेपाङ, बेनिघाट रोराङ, गाउँपालिका ८ सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट विजयी हुने चेपाङ उम्मेदवारहरुमा  सिताराम चेपाङ बेनिघाट रोराङ, गाउँपालिका ६ सदस्य, हर्कबहादुर चेपाङ बेनिघाट गाउँपालिका रोराङ ९ सदस्य, सुजन चेपाङ गजुरी गाउँपालिका २ सदस्य नेपाली काँग्रेसबाट सुरेन्द्र चेपाङ गजुरी गाउँपालिका ४ बाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

अत्यत्नै सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ समुदाय स्थानीय तहको निर्वाचनबाट राजनीतिक मैदानमा उत्रेर विजयी भएका हुन् । धादिङका चेपाङ समुदायका अगुवा तिलक चेपाङले संविधानले गरेको नयाँ राजनीतिक व्यवस्थाले अल्पसंख्यक समुदायलाई पनि राज्यको मूल प्रवाहमा ल्याएको बताउनुभयो ।

चेपाङ समुदायको गाँस बास र कपासको समस्या नै सबैभन्दा जटिल समस्याको रुपमा रहेको छ । जलवायु परिवर्तन र मानवीय अतिक्रमणका कारण चेपाङ समुदायको परम्परागत खाद्यान्न गिट्ट्ठा भ्याकुर लोप हुँदै गएको छ ।

चेपाङ अगुवा तिलक चेपाङ संविधानको प्रावधानअनुसार धादिङ, गोरखा, चितवन र मकवानपुरको चेपाङ बाहुल्य क्षेत्रलाई विशेष संरक्षित क्षेत्रको रुपमा विकास गर्नुपर्ने र उनीहरुलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा खण्डिकरण गरिएकोमा दुःख व्यक्त गर्नुभयो ।

धादिङको बेनीघाट– रोराङ गाँउपालिकाको नाम नै चेपाङ समुदायसँग जोडेर राखिएको छ । चेपाङ भाषामा रोराङको अर्थ फूलबारी भन्ने हुन्छ । गोरखाको घ्यालचोक, भुम्लीचोक, ताङचोक, मकैसिंह, ताक्लुङमा चेपाङ समुदायको बाहुल्य रहेको छ ।

चितवनको लोथर, सिद्धी र कोराकमा समेत सो समुदायको बाहुल्यता रहेको छ । मकवानपुरको हाडीखोलामा वनकरियाका रुपमा रहेका समुदाय समेत चेपाङ नै रहेको तिलक चेपाङको भनाइ छ ।

नेपाली काँग्रेसबाट गजुरी गाउँपालिका ४ बाट निर्वाचित सुरेन्द्र चेपाङले आफ्नो पहिलो प्राथमिकता सडक निर्माण गर्नु रहेको बताउनुभयो । उहाँले चेपाङ समुदायको भाषा, संस्कृतिलाई संरक्षण गर्न एवम् उनीहरुलाई खाद्यान्न एवम् अन्य दैनिक जनजीवनलाई सहज बनाउने आफ्नो प्रयास रहने जानकारी दिनुभयो ।

प्रमुख राजनीतिक दलले पछिल्लो समय चेपाङ समुदायलाई राजनीतिको मूलप्रवाहमा ल्याउने प्रयास गर्नु सकारात्मक भएपनि आर्थिक विकास नगर्दासम्म अधिकारले मात्रै केही नहुने अगुवा तिलक चेपाङको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको