Like us!
Follow us!
Connect us!
Watch us!

किसान चैते धानखेतीतर्फ आकर्षित

बुधबार, २४ जेठ २०७४, १४ : ०२ मा प्रकाशित

किसान चैते धानखेतीतर्फ आकर्षित

अर्थ संसार,  कञ्चनपुर–बेलडाँडी गाउँपालिका झिलमिलाका किसान बर्खे धानभन्दा दोब्बर उत्पादन दिने चैते धानखेतीतर्फ आकर्षित भएका छन् । छोटो अवधिमै बढी प्रतिफल दिने भएपछि यहाँका किसान चैते धानखेतीतर्फ आकर्षित भएका हुन् ।

माघको अन्तिम हप्ता बेर्ना राखेर फागुनको मध्य र चैतको पहिलो हप्ता चैते धानको रोपाइँ गर्ने किसानको सङ्ख्यामा यहाँ एक सय ५० भन्दाबढी रहेको छ । झिलमिलाका किसान ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती गर्दै आएका छन् । स्थानीयवासी तेजबहादुर रावतले प्रतिवर्ष रु १८ हजार रकम तिर्ने गरी जग्गा भाडामा लिई चैते धानखेती गर्दै आउpनुभएको छ ।

चैत महिनामा रोपेको धानको उत्पादन चार महिनामै ३० बोरा बढी हुने गरेको उहाँले बताउनुभयो । “परम्परागत धानबालीको तुलनामा आधुनिक तरिकाले चैते धानको खेती गर्दा उत्पादनमा वृद्धि हुने गरेको छ,” उहाँले भन्नुभयो । उहाँले चैते धानबारे तालिम समेत लिनुभएको छ । दुई वर्षदेखि चैते धानखेतीमा संलग्न छविलाल सेजवाल रासायनिक मल, तोरीको पिना र पोटासको प्रयोग गरे चैते धानले अधिक उत्पादन दिने बताउनुहुन्छ ।

डेढ बिगाहा खेतमा गत वर्ष ४० बोरा धान फलेको उहाँले बताउनुभयो । महाकाली सिँचाइको नहर पुगेपछि यस क्षेत्रका किसानले चैते धानखेतीलाई निरन्तरता दिँदै आएका छन् । जिल्लाका अन्य क्षेत्रका किसानले वर्षमा दुई बाली मात्रै भित्र्याउँदा झिलमिलाका किसानले वर्षमा चैते धान, बर्खे धान र गँहुबाली गरी तीन बाली भित्र्याउने गरेका छन् । चैते धानबालीकै कारण किसानको आयस्तरमा समेत वृद्धि हुँदै गएको छ । थोरै जग्गामा गरिने खेतीले परिवार पाल्न यहाँका किसानलाई विगतमा निकै सास्ती हुने गरेको थियो ।

अधिकांश किसान खेतीपाती सकेपछि भारतमा मजदुरीका लागि जाने गरेका थिए । “नहरको पहुँचसँगै चैते धानखेती गर्न सहज भएको हो,” स्थानीय गम्भीर बूढाले भन्नुभयो । किसानले चैते धान बिक्री गरेर रु ७० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्ने गरेका उहाँको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार महाकाली सिँचाइको सुविधा पुगेका भीमदत्तनगरपालिकाको वसन्तपुर, बेदकोट नगरपालिकाको दैजी र बेलडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रमा गरी ८५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिँदै आएको छ ।

आव २०७२/७३ देखि बृहत्तर धान उत्पादन कार्यक्रमअन्तर्गत चैते धानखेती गर्ने किसानलाई प्रतिहेक्टर रु पाँच हजारका दरले प्रोत्साहन पुरुस्कार समेत दिने गरेको वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । पाँच हेक्टर क्षेत्रफलको नमुना ब्लक बनाई चैते धान उत्पादन गर्ने कृषक समूह र सहकारीलाई रु ५० हजार प्रोत्साहन पुरस्कार तथा १० वटा झार निकाल्ने मेसिन उपलब्ध गराएको जोशीले बताउनुभयो ।

कार्यालयले चार सय हेक्टर जग्गामा यस वर्ष प्रोत्साहन रकम दिने योजना बनाएको छ । किसानलाई यस वर्ष ४० क्विन्टल चैते धानको बीउ निःशुल्क उपलब्ध गराएको कार्यालयले जनाएको छ । “मसिनो चामल आयात हुँदै आएकाले त्यसलाई निरुत्साहित गर्न चैते धानखेतीमा जोड दिइएको हो,” जोशीले भन्नुभयो । गत वर्ष कार्यालयले बेलडाँडी झिलमिलाका ३४ दशमलव १३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गर्ने ३७ किसानलाई रु एक लाख ९५ हजार प्रोत्साहन रकम उपलब्ध गराएको थियो ।

कार्यालयले बेलौरी नगरपालिकाका चैते धानखेती गर्ने छजना किसानलाई रु २२ हजार, झलारी कृष्णपुरका किसानलाई रु सात हजार पाँच सय, बेदकोटका पाँच किसानलाई रु २५ हजार र भीमदत्तनगरपालिकाका ३४ किसानलाई रु ९० हजार प्रोत्साहन रकम उपलब्ध गराएको थियो । किसानले हर्दिनाथ जातको चैते धानको खेती गर्दै आएका छन् । चैते धान काटेर भित्राएपछि किसानले सो जग्गामा तरकारी खेती र बर्खे धान रोप्ने गरेका छन । चैते धानको खेती कञ्चनपुरमा विसं २०५७ देखि गरिँदै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको