Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ महानगरमा यसरी जडान हुँदै छ सौर्य प्रणाली

सोमबार, १२ असार २०७४, १६ : ४० मा प्रकाशित

काठमाडौँ महानगरमा यसरी जडान हुँदै छ सौर्य प्रणाली

अर्थ संसार, काठमाडौँ–काठमाडौँ उपत्यकालाई उज्यालो बनाउने लक्ष्यका साथ काठमाडौँ महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा धमाधम सौर्य बत्ती जडान भइरहेको छ ।

यही महिनाको अन्त्यसम्म एक हजार २८५ वटा सौर्य प्रणाली जडान कार्य सम्पन्न हुने महानगरले जनाएको छ ।

काठमाडौं महानगरभित्रका मुख्य–मुख्य सडकलाई उज्यालो र झिलिमिली बनाउने लक्ष्यका साथ सौर्य बत्ती जडान कार्य धमाधम अगाडि बढाइएको र त्यसमा महानगरको लगानी नपर्ने उल्टै फाइदा हुने प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

महानगरले काडमाडौंको सडक झिलिमिलि बनाउनका लागि बिके ट्रेर्डस एण्ड सप्लायर्सलाई सौर्य प्रणाली जडान गर्ने जिम्मा लिएको छ ।

हाल दैनिक रातको समयमा २० देखि ३० वटा सोलार प्यानल जडान भइरहेको छ । सार्वजनिक निजी साझेदारी अन्तरगत सप्लायर्सले २०७३ साल कात्तिकदेखि सडकमा सौर्य प्रणाली जडान गरिरहेको छ । विके सप्लायर्सका प्रमुख रोशन श्रीवास्तवले करिब रु पचास करोड लागतमा प्रणाली जडान भइरहेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार महानगर क्षेत्रमा जडान गरिएका सडक बत्ति आगामी दश वर्षपछि महानगरको स्वामित्वमा आउने छ । महानगरले उपलब्ध गराएको स्थानमा प्रवद्र्धकले प्रतिपोल रु आठ हजार ७०० वार्षिक शुल्क र विज्ञापन वापत रु सात हजार २०० महानगरलाई उपलब्ध गराउनेछ । त्यस वापत प्रवद्र्धकले सौर्य बत्तीको पोलमा विज्ञापन राख्न पाउनेछ ।

हालसम्म महानगरका सडकमा ५६० वटा सौर्य बत्ती जडान गरिसकिएको छ भने असार मसान्तसम्म सबै जडान हुनेछन् ।हाल जडान भएको सौर्य प्रणालीमा  लिथियम व्याट्री प्रयोग भएको छ भने आगलागी प्रतिरोधक पोल राखिएको प्रमुख श्रीवास्तव बताउनुहुन्छ ।

दश मिनेट सामान्य रुपमा घाम लागेपनि राती बल्ने प्रणाली जडान भएको जानकारी दिदै उहाँले हालसम्मकै अत्याधुनिक ‘ सोलार सिस्टम’ प्रयोग भएको बताउनुभयो ।

बर्षातको समय कतिपय स्थानमा सडक पेटी नभएको र नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीका कारण बत्ती जडानमा केहि समस्या आएको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।

आफूहरुले प्राधिकरणसँग पनि समन्वय गरेर काम गरिरहेको केही स्थानमा बत्ती जडानको समय विद्युत् कटौती गरेर भएपनि सहयोग हुने विश्वास राखेको उहाँको भनाइ छ ।

महानगरको कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपूरेश्वर, कृष्णपाउरोटी चोक, ज्ञानेश्वर, गौशला, पूरानेबानेश्वर, चावहिलमा सौर्य बत्ती यसअघि नै जडान भइसकेको छ ।त्यस्तै कलङ्की, त्रिपुरेश्वर, थापाथली चोक, माइतीघर चोक, केशरमहल चोक, ठमेल क्षेत्र, क्षेत्रपाटी, सोह्रखुट्टे चोक, बालाजु,नयाँ बसपार्क क्षेत्रमा ४००  बत्ती जडान गरिनेछ ।

दरबारमार्ग महेन्द्र सालिक चोक, काठमाडौं प्लाजा, कृष्ण पाउरोटी चोक, ज्ञानेश्वर चोक, मैतिदेवी, बत्तिसपुतली सडक खण्ड, मैतिदेवी डिल्लीबजार पुतलीसडक खण्डमा  ३०० बत्ती जडान हुनेछ ।

महानगरका प्रवक्ता कार्कीकाअनुसार पुरानो बानेश्वर चोकबाट नयाँ बानेश्वर, शङ्खमुल पुल, तीनकुने, कोटेश्वर, जडिबुटी, नरेफाट, पुरानो बानेश्वर, भिमसेन गोला हुँदै सिनामङ्गल चोकसम्म ३८५ वटा सौर्य बत्ती राखिनेछ ।

यसैगरी अनामनगर हनुमानथान, बिजुली बजार, नयाँ बानेश्वर खण्ड, गौशला, चाबहिल, चुच्चेपाटी, बौद्ध हुँदै जोरपाटीसम्म २००बत्ती जडान हुने लक्ष्य राखिएको छ ।  

काठमाडौँ उपत्यकामा चर्को विद्युत्भार कटौतीको समयमा नै सौर्य प्रणाली जडान गर्ने कार्य सुरु भएपनि विविध कारणले रोकिदै आएको थियो । तर दक्षिण एसियाली क्षेत्री सहयोग सङ्गठन(सार्क)को शिखर सम्मेलनको क्रममा जडान भएका सौर्य प्रणाली बल्न बन्द भइसकेको छ ।

उचित मर्मत सम्भारको अभावमा ती प्रणाली बन्द भएका छन् । मर्मत गर्ने तर्फ पहल भएको महानगरका प्रवक्ता कार्की बताउनुहुन्छ । सौर्य प्रणाली जडान पछि सडक बत्ती प्रयोग गरे वापत महानगरले तिर्नुपर्ने रकम समेत कम हुने महानगरको विश्वास छ ।

तर जथाभावी रुपमा सौर्य प्रणाली जडान गर्दा शहरी सौन्दर्य भने बिग्रने भन्दै सरोकार भएकाले चिन्ता व्यक्त गरेका छन् ।सरकारले त्यस्ता प्रणाली हटाउन चाहेको खण्डमा प्राविधिक मूल्याङ्कन गरेर आवश्यक निर्णय गरिने प्रवक्ता कार्कीको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको