Like us!
Follow us!
Connect us!
Watch us!

भारतले सोध्यो ‘प्रतिबन्धित भारु नेपालमा कति छ’

शुक्रबार, २६ कार्तिक २०७३, ११ : ०१ मा प्रकाशित

भारतले सोध्यो ‘प्रतिबन्धित भारु नेपालमा कति छ’

अर्थ संसार
काठमाडौं– भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ एन्डिया (आरबीआई) ले नेपाल राष्ट्र बैंकसँग रहेको भारु पाँच सय र हजार दरका नोटको विवरण मागेको आजको कान्तिपुरमा छ ।  भारतमा पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लागेपछि राष्ट्र बैंकले बुधबार नेपालमा रहेका ती दरका नोट सटहीका लागि आरबीआईलाई पत्राचार गरेको थियो । 

बिहीबार साँझसम्म आरबीआईले सटही सुविधाको बारेमा कुनै जानकारी नदिई विवरण मात्रै मागेको छ । राष्ट्र बैंक र बंैंकिङ प्रणालीमा रहेका ती दरका नोटको विवरण आरबीआईले मागेको राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए । 

‘बैंकिङ प्रणालीमा कुन कुन दरका कति नोट छन् रु उक्त विवरण आरबीआईले मागेको छ,’ उनले भने, ‘सोहीबमोजिम विवरण हामीले पठाइसकेका छौ ।’ यसका आधारमा राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थामा रहेको भारु नोट सटहीमा सजिलो हुने उनले जनाए । 

यसका साथै सर्वसाधारण नागरिकसँग रहेको भारु पाँच सय र हजार दरका नोट सटहीका लागि राष्ट्र बैंकले आग्रह गरिरहेको पनि उनले बताए । ‘राष्ट्र बैंककै अनुमति अनुसार नागरिकले प्रतिव्यक्ति २५ हजार भारतिय रुपैयाँ सटही सुविधा पाएका छन,’ उनले भने, ‘उक्त कारण राष्ट्र बैंकले दिएको सिमा बराबरको नोट सटहीका लागि आग्रह गरिरहेका हौं ।’ 

राष्ट्र बैंकले बुधवार विहान ११ बजेभित्र आफूसँग रहेको भारु पाँच सय र हजार दरका नोटको विवरण पठाउन बैंक तथा वित्तीय संस्था र मनी चेञ्जर कम्पनीहरुलाई निर्देशन दिएको थियो । बिहीवार साँझसम्म राष्ट्र बैंकमा प्राप्त तथ्यांक अनुसार राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र मनी चेन्जर कम्पनीहरुसँग गरी करिब साढे ३ करोड रुपैयाँ बराबरको पाँच सय र हजार दरका नोट रहेको ढुङगानाले बताए । ‘सिमावर्ती क्षेत्रका केही मनी चेन्जर कम्पनीहरुको तथ्यांक आइ नसकेकाले यो रकम केही बढ्न सक्छ,’ उनले भने । 

पहिले देखि नै बैंक तथा वित्तीय संस्थामा भारतिय मुद्राको अभाव रहेकाले बैंकिङ प्रणालीमा ठूलो परिमाणमा भारु नरहेको बताइएको छ । भारु नोट भएकाहरुसँग पनि पाँच सय र हजार दरका कम छन् । विगतमा भारु पाँच सय र हजार दरका नोट प्रचलनमा बन्देज भएकाले प्रणालीमा ती दरका नोट थोरै रहेका हुन । 

करिब २ वर्ष अघि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा रहेको समयमा ती दरका नोट प्रचलनमा ल्याउने घोषणा गरका थिए । त्यसको केही महिनापछि आरबीआईले वैधानिक रुपमा ती दरका नोट नेपालमा चलाउन सक्ने अनुमति दिएको थियो । 

स्रोतका अनुसार बिहीवारसम्म राष्ट्र बैंकलाई प्राप्त तथ्यांक अनुसार भारु पाँच सय र हजारमा गरी ३ करोड ३२ अर्ब रुपैयाँ वित्तीय प्रणालीमा छ । ती मध्ये बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकसँग २ करोड ५२ लाख रुपैयाँ र मनी चेन्जरसँग ८० लाख रुपैयाँ रहेको देखिएको छ । तर, केही मनी चेन्जर कम्पनीहरुबाट विवरण आइनसकेको स्रोतले बताएको छ । 

स्रोतले भन्यो, ‘बाँकी कम्पनीहरुको तथ्यांक आउँदा पनि बढीमा ४ करोडभन्दा बढी पुग्ने सम्भावना छैन ।’ तर, बैंकिङ प्रणाली बाहिर भने ठूलो परिमाणमा पाँच सय र हजार दरका भारतिय मुद्रा रहेको र ती मुद्रा सटहीको सम्भावना न्यून रहेको स्रोतले बताएको छ । 

राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजारसम्म सटही सुविधा दिन आरबीआईलाई अनुरोध गरेको छ । तर, आरबीआईले केही जवाफ दिएको छैन । भारतमा मुद्रा सटहीमा कडाइ गरेकाले नेपालका लागि खुकुलो नीति बनाउने सम्भावना कम छ । 

यस्तै, भारतमा सरकारी सेवामा कार्यरत नेपाली कर्मचारी, सेना र भारतिय बैंकमा खाता खोलेका नेपालीका लागि भने नोट सटहीमा समस्या नहुने भएको छ । ती व्यक्तिहरुले भारतिय नागरिकले पाएको सुविधा अनुसार नै सटही सुविधा पाउने छन् । तर, नेपालमा व्यक्तिहरुले घरमै राखेको वा अनौपचारिक क्षेत्रमा प्रयोग भएका पाँच सय र हजार दरका नोट सटहीको टुङगो नभएको स्रोतले बताएको छ । ‘अनौपचारिक क्षेत्रसँग ठूलो परिमाणमा पाँच सय र हजार दरका नोट रहेको अनुमान छ,’ स्रोतले भन्यो,‘ तर, ती नोट सटहीको सम्भावना न्यून छ ।’
 
नेपालस्थित भारतीय दुतावासले पनि भारतमा खाता हुनेलाई समस्या नभएपनि यहाको सटहीबारे अहिले नै यकिन नभएको बताएको छ । दूतावासकी प्रेस सेक्रेटरी रुवी शर्माले पहल गरिरहे पनि दूतावासले भारतीय वित्त मन्त्रालय र आरबीआइलाई पहल गरिरहेको बताइन् । ‘नेपालमा सटही सुविधाबारे केहि पनि जानकारी नआएकोले यकिनसाथ यसै हुन्छ भन्न सकिएन,’ उनले भनिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको