Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा एटिम ह्याकिङ बढ्दो, दुई वर्षमा १७ विदेशी पक्राउ

विहीबार, २२ भदौ २०७४, ०७ : १७ मा प्रकाशित

नेपालमा  एटिम ह्याकिङ बढ्दो,  दुई वर्षमा १७ विदेशी पक्राउ

अर्थ संसार, काठमाडौं– गत वर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एटिएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चारवटा समूहलाई पक्राउ गर्यो ।

पटक–पटक पक्राउ गरेपछि एटिएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटिएममार्फत पैसा चोर्ने देशका रूपमा दुरुपयोग नगर्ने प्रहरीको विश्वास थियो । तर, मंगलबार फेरि एक टर्किस नागरिक नक्कली एटिएममार्फत पैसा चोरी गर्ने क्रममा पक्राउ परेका छन्।

सिआइबीले ३० वर्षीय एकरेम ओरमान्चीलाई पक्राउ गरेको हो । नौ हजार सात सय १० अमेरिकन डलर, एक हजार दुई सय २५ युरो, ३३ हजार रुपैयाँसहित उनलाई ठमेलको रोयल पेन्गुइन होटेलबाट पक्राउ गरिएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।

नक्कली एटिएम कार्डमार्फत नेपालमै निकालिएको पैसा बरामद भएको उनले बताइन् । ३४ वटा नक्कली एटिएम, कार्ड स्किमर मेसिन र ल्यापटपसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले एटिएमबाट पैसा निकाली डलर र युरो साटेका थिए ।

नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग गरी उनले पटक–पटक नक्कली एटिएमबाट पैसा निकालेको सिआइबीले जनाएको छ । विदेशी नागरिकको विदेशी बैंकमा रहेको खाताबाट पैसा निकालिएको हो । भिसा तथा मास्टरकार्डहरू विश्वभरि चल्ने भएकाले नेपाल आएर उनीहरूले पैसा निकाल्ने गरेका हुन् ।

२ वर्षमा १७ जना पक्राउ

पछिल्लो दुई वर्षमा सिआइबीले मात्र १५ जना विदेशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले एकजना बुल्गेरियन तथा अपराध महाशाखाले एक भारतीयलाई नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा पक्राउ गरेको छ ।

सिआइबीले रोमानियन र बुल्गेरियन ४–४, तीनजना टर्किस तथा दुईजना भारतीयलाई पक्राउ गरिसकेको छ । विश्वभरि नै एटिएम ठगीमा टर्की, बुल्गेरिया तथा रोमानियाका नागरिकहरू कुख्यात छन् । जसको मुख्य नाइकेहरू भने टर्कीमा रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

कसरी हुन्छ ह्याकिङ ?

प्रहरीको अनुसन्धानअनुसार तीन तरिकाबाट एटिएम ह्याकिङ हुने गरेको छ । सबैभन्दा धेरै ह्याकिङ सपिङ मलहरूमा हुने गरेको छ । सपिङ गर्ने क्रममा ग्राहकले कार्ड स्वाइप गर्दा पिओएस मेसिनमा अतिरिक्त डिभाइस जडान गरी डाटा ह्याक गरी नयाँ एटिएम बनाउने गरिएको छ ।

त्यस्तै एटिएम बुथमा गोप्य डिभाइस र गोप्य क्यामरा राखेर डाटा र पिन नम्बर नै चोरी हुने गरेको छ । उक्त डाटा खाली कार्डमा भरेर नक्कली एटिएम बनाई सोही पिन नम्बर बनाएर पैसा चोरी हुने गरेको छ । जुन अपराधको ट्रेन्ड पछिल्लो समय नेपालमा देखिएको छ ।

ग्राहककै मिलेमतोमा चोरी

कतिपय अवस्थामा भने ग्राहककै मिलेमतोमा समेत चोरी हुने गरेको स्रोत बताउँछ । ग्राहकहरूले नै ह्याकरसँग मिलेर आफ्नो कार्डको विवरण दिई पैसा निकाल्न लगाउने र आफ्नो कार्ड ह्याक भएको भन्दै बैंकमा पैसा दाबी गर्दछन् ।

ह्याकरहरूले अर्को देशमा गएर पैसा निकाल्ने भएकाले बैंकहरूले यस्तो बदमासी थाहा पाउँदैनन् । ह्याकरले निकालेको पैसा पनि बैंकले हालिदिने र ह्याकरहरूसँग पनि कमिसन खाने प्रवृत्तिसमेत देखा परेको छ । कतिपय देशमा बैंकका कर्मचारीहरू नै ह्याकरसँग मिल्ने गरेका छन् ।

बैंकहरूले पनि ग्राहकको पैसाको बिमा गर्ने गरेकाले बिमा कम्पनीबाट चोरी भएको रकम खातामा जम्मा गरिदिन्छन् । त्यसकारण यस्ता घटना बैंकले पनि गुपचुप राख्ने गरेका छन् । तर, एक गिरोहले त गोप्य क्यामरा र स्किमर मेसिन एटिएम बुथमा राखेर नेपाली ग्राहककै एटिएम ह्याक गरी पैसा चोरेका थिए ।

 नेपाल किन आए ह्याकर ?

च्किउँदा एटिएमप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ । विश्वका धेरै देशमा ‘फेजआउट’ भइसकेको मेग्नेटिभी स्ट्रिप प्रविधिको कार्ड नेपालमा प्रचलन छ । सुरक्षाका कारण विश्वभरि युएमभी चिप प्रविधिको कार्डहरू प्रयोग भइरहेका छन् ।

तर, युएमभी चिप प्रविधिका कार्ड जारी गर्न धेरै खर्च लाग्ने भएकाले बैंकहरूले त्यसलाई प्राथमिकता दिन सकेका छैनन् । ह्याकरहरू सक्रिय भएपछि मात्र हाल बैंकहरूले चिप प्रविधिमा जोड दिएका छन् ।

चिप प्रविधिका एटिएम कार्ड ह्याक गर्न कठिन हुन्छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकहरूलाई चिप प्रविधिमा जान फेरि निर्देशन दिएको छ । मास्टरकार्ड र भिसाकार्डले पनि अबको ६ महिनाभित्र अनिवार्य रूपमा चिपकार्ड जारी गर्न डेडलाइन दिइसकेको छ । अर्कोतर्फ नेपालको सुरक्षा संयन्त्र कमजोर ठानेर पनि ह्याकरले नेपाललाई एटिएमबाट पैसा चोर्ने गन्तव्य बनाएको हुन सक्ने प्रहरी आशंका छ ।

पूर्वी युरोपियन देशका नागरिकहरू पटक–पटक नेपालमा पैसा चोरेर जाने गरेको खुलिसकेको छ । यसमा अन्तर्राष्ट्रिय गिरोह भएको र नेपाल आउनेहरू उक्त गिरोहका लागि काम गर्ने सामान्य व्यक्तिहरू मात्र भएको प्रहरी अधिकारीहरू बताउँछन् । यसबारे प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनसँग समेत समन्वय गरेर अनुसन्धान गरिरहेको आजको नयाँ पत्रिकामा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको