Like us!
Follow us!
Connect us!
Watch us!

दशैंको मिति नजिकिदै जाँदा बजारमा नयाँ नोट सटहीदेखि काठमाडौंबाट बाहिरिने गतिविधि बढ्दै

शुक्रबार, २३ भदौ २०७४, ०८ : ०६ मा प्रकाशित

दशैंको मिति नजिकिदै जाँदा बजारमा नयाँ नोट सटहीदेखि काठमाडौंबाट बाहिरिने गतिविधि बढ्दै

उपत्यकामा दसैँका खाद्य सामग्री आयात गर्नेदेखि काठमाडौंबाट बाहिरिनेसम्मका गतिविधि बढ्दै

दसैँका लागि ४५ हजार खसी, बोका र च्याङ्ग्रा

व्यवसायीले दसैँका लागि उपत्यकामा ४५ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने जनाएका छन् । चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले मागअनुसार ल्याउन आफूहरू तयार भएको बताए । हाल साप्ताहिक रूपमा पाँच हजार खसी, बोका आयात र खपत भइरहेको छ ।

प्रतिकिलो पाँच सय स् हाल जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ४५० रुपैयाँ छ । दसैँँमा आयात बढाउनुपर्ने भएकाले मूल्य बढ्ने अध्यक्ष पाठकले बताए । हाल काटेको खसीको मासु प्रतिकिलो ८५० देखि ९ सयसम्म पर्छ । व्यवसायीले करिब ३ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेका छन् । हाल प्रतिकिलो ७ सय छ । दसैँमा केही बढ्ने अनुमान छ ।

एकजनालाई २७ हजारबराबरका नयाँ नोट
नेपाल राष्ट्र बैंकले दसैँमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकले आफ्ना आठवटा कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत सुविधा दिनेछ । आगामी २८ भदौदेखि सर्वसाधारणले नयाँ नोट लिन सक्ने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए ।

४० अर्ब नयाँ नोट साटिने स् यस वर्ष करिब ४० अर्बको नयाँ नोट सटही हुने अनुमान गरिएको छ । उनका अनुसार अघिल्लो वर्ष करिब ३२ अर्ब नयाँ नोट सटही भएका थिए । राष्ट्र बैंकले ३ वर्षका लागि अनुमानित नयाँ नोट मौज्दात गर्ने गरेको छ । सोही मौज्दातबाट दसैँका वेलामा नयाँ नोट सटही सुविधा दिने गरेको छ ।

बसको अग्रिम टिकट बुकिङ अनिश्चित
यातायात व्यवसायी भन्छन्, चार माग पूरा नभई बुकिङ खुल्दैन
चाडपर्वमा घर जाने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ । सरकारले बिहीबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने घोषणा गरे पनि व्यवसायीले असहयोग गरेपछि खुल्न सकेन । विभागले तोकिएको समयमा अग्रिम टिकट खुला नगरेको भन्दै व्यवसायीलाई जरिवाना गर्ने तयारी गरेको छ ।

चाडपर्वलाई दैनिक सात हजारसम्म सवारी
नेपाल यातायात व्यवसायी महासंघका अनुसार यात्रुको चाप बढेपछि चाडपर्वको समयमा दैनिक सात हजारसम्म सवारीसाधन काठमाडौंबाट बाहिर जानेछन् । अन्य समयमा काठमाडौंबाट दैनिक बाहिरिने भाडाका सवारीसाधनको संख्या २८ सयदेखि तीन हजारसम्म रहेको छ ।

हवाई टिकटमा चाप
आन्तरिक उडानमा दसैँलक्षित टिकट बुकिङ अत्यधिक रहेको वायुसेवा कम्पनीहरूले बताएका छन् । विशेषगरी घटस्थापनादेखि दशमीसम्मका सबैजसो टिकट बिक्री भइसकेको सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्वल थापाले बताए । उनका अनुसार नियमित उडानका टिकट सबैजसो बिक्री भएपछि वायुसेवा कम्पनीले माग हेरेर अतिरिक्त उडान थप्ने गर्छन् । सामान्यतः एक महिनाअघि नै टिकट होल्ड गरेर राख्ने प्रवृत्तिका कारण आन्तरिक उडानमा चाडबाड र पर्यटकीय मौसममा हवाई यात्रा कठिन हुने गरेको छ ।

सुपथ पसलमा १० रुपैयाँसम्म छुट
सरकारले १६ भदौदेखि उपत्यकाका ९ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । उपत्यकाबाहिर साल्ट ट्रडिङ कर्पोरेसनका २२ कार्यालयमा समेत सुपथ पसल सञ्चालनमा आएका छन् । खाद्य संस्थानले पनि छुट मूल्यमा चामल, फापर बिक्री गरिरहेको छ । उपत्यका र बाहिर २२ वटा घुम्ती पसल सञ्चालनमा छन् । सुपथ पसलमा एउटा परिवारले चामल ३० किलो र नुन ६ किलो खरिद गर्न पाउने व्यवस्था गरिएको छ । नुनमा २ र चामलमा ५ रुपैयाँ तथा घिउ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट गरिएको छ ।

उपत्यकाबाट बाहिरिने सबै नाका सुचारु छन्
रमेशकुमार सिंह, सहप्रवक्ता, सडक विभाग

काठमाडौंबाट बाहिर जाने सबै राजमार्ग अहिले सुचारु छन् । कलंकी–नारायणघाट सडकका खाल्डाखुल्डी पुर्ने र सवारी आवतजावतलाई सहज बनाउने काम भइरहेको छ । मुग्लिङ–नारायणघाट खण्डमा सवारीसाधन सञ्चालन हुने समय वृद्धि गरेर यातायात सुचारु राख्ने तयारी भइरहेको आजको नयाँ पत्रिकामा समाचार छ ।

बसको छतमा बसेर दसैँमा घर जान पाउनुहुन्न
सर्वेन्द्र खनाल, प्रमुख, महानगरीय ट्राफिक

टिकट फिर्ता नलिने र ठग्न खोज्नेलाई तत्काल कारबाही हुन्छ । सवारीसाधन बिग्रिएर रोकिँदा पनि ढिलाइ हुने गरेको छ, त्यसलाई समाधान गर्न यातायात व्यवस्था विभागसँग क्रेनको माग गरेका छौँ । बसको छतमा बसेर यात्रा गर्न दिइन्न । नियमनमा कडाइ गर्दै छौँ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको