Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्डले दियो नेप्से र धितोपत्र दलाललाई कार्यविधि बनाउन निर्देशन

बुधबार, २२ कार्तिक २०७४, ०८ : ४८ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डले दियो नेप्से र धितोपत्र दलाललाई कार्यविधि बनाउन निर्देशन

अर्थ संसार, काठमाडौं– नेपाल धितोपत्र बोर्डले धितोपत्र मार्जिन  ट्रेडिङको काम सुरु गर्न दलाल व्यवसायीलाई निर्देशन दिएको छ । बोर्डले मार्जिन ट्रेडिङको काम गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र दलाललाई कार्यविधि बनाउनसमेत निर्देशन दिएको छ ।

बोर्डले दिएको निर्देशनमा कम्तीमा १० हजार सेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत संगठित संस्थाको सेयरमा मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

मार्जिन कारोबार सुविधा उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्ति कम्तीमा ५ करोड रुपैयाँ हुनुपर्ने तथा धितोपत्र दलाल व्यवसायीले सूचीकृत संगठित संस्थाको सेयरको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशतले हुनआउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रूपमा लिनुपर्ने व्यवस्था गरेको छ ।

धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरेर ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने छ । ग्राहकले मार्जिन कारोबारमा खरिद गरेको सेयरमा आवश्यक पर्ने मेन्टिनेन्स मार्जिन भुक्तान गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले सो सेयर बिक्री गर्न सक्ने छन् । धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको बोर्डले गरेको छ ।

धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछन । धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आप्mनो नेटवर्थको बढीमा १० प्रतिशतसम्म मात्र कारोवार सुविधा उपलब्ध गराउन सक्ने ब्यवस्था बोर्डले गरेको हो ।

धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदा ग्राहकसँग सम्झौता गरी शुरु मार्जिन, सम्भार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क, खरिद गर्ने सेयरको विवरणलगायतका सर्तहरु खुलाउनुपर्ने छ । साथै यस सुविधाअन्तर्गत खरिद गरिएको सेयरसहितको मार्जिन रकम विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाइ राख्नुपर्ने, लेखापरीक्षण गरिएको कारोबार भएको सेयरको हिसाब किताब तथा लेखा बोर्ड र धितोपत्र बजारलाई पेश गर्नुपर्ने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

ग्राहकको परिस्कृत पहिचान गर्नेसमेत व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा उपलब्ध भइरहेको मार्जिन लेन्डिङको रूपमा रहेको सेयर धितो कर्जा यथावत् रहने बोर्डले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको