Like us!
Follow us!
Connect us!
Watch us!

यूट्यूबभरी चुनावी गीत : भोट माग्दै कलाकार

बुधबार, २९ कार्तिक २०७४, १३ : ५३ मा प्रकाशित

  • रमेश लम्साल

अर्थ संसार, काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रीत गरेर चुनावी गीत सार्वजनिक गर्ने क्रम बढेर गएको छ ।

डिजिटल दुनियाँमा चुनाव लक्षित गीत संगीतको बाढी नै आएको देख्न सकिन्छ । यूट्यूब च्यानलमा नै यतिबेला चुनाव लक्षित गीत नै बढ्ता चल्तीमा देख्न सकिन्छ । लोक दोहोरी गीतमा प्रसिद्धी कमाएका बद्री पंगेनीले वाम गठबन्धनको पक्ष्मा भोट माग्दै गीत तथा संगीत तयार पार्नुभएको छ ।

विशेष गरी नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा नै उहाँले चुनावी गीत तयार पार्नुभएको छ ।

विभिन्न जिल्लाका चुनावी अभियानमा व्यस्त रहनु भएका पंगेनीले भन्नुभयो ‘राष्ट्रिय आवश्यकता र चाहानालाई सम्बोधन गर्ने दायित्व हामी कलाकारको पनि हो । सोही दायित्वलाई पूरा गर्ने लक्ष्यका साथ हामीले वामगठबन्धनको पक्षमा गीत गाएका हौ ।’
यूट्यूवबमा पंगेनीले गाएको एमाले अध्यक्ष ओलीलाई विजयी गराउ भन्ने गीत ३४ हजारले हेरेका छन् भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विजयी गराऊ भन्ने गीत ८८ हजारले हेरेका छन् ।

स्थानीय निर्वाचनको क्रममा पंगेनीले नै गाएको ‘ मै पनि एमाले’ भन्ने गीत १६ लाखले हेरेका छन् । अर्का लोक दोहोरी गायक विष्णु खत्रीले पनि निर्वाचलाई केन्द्रीत गरेर गीत तयार पार्नुभएको छ ।

खत्रीले गीतमा भन्नुभएको छ  ‘माओवादी केन्द्र, एमाले, मसाल देश हाँक्ने संयुक्त वामले हो ,  कमरेड प्रचण्ड देशका राजनेता, मिलिजुली जिताउने हाम्ले हो’ ।
खानेपानी, सिँचाई, सडक, स्वाथ्य अनि शिक्षा, पर्यटन प्रबद्र्धन गर्ने वाम गठबन्धन जरुरी रहेको भन्दै खत्रीले गीत मार्फत, बेरोजगारले रोजगार पाउने सामाजिक सुरक्षा भक्ता बढाउने जस्ता राष्ट्रिय आवश्यकता पूरा गर्न वामपन्थीको सत्ता जरुरी रहेको बताउनुभएको छ । खत्रीको उक्त गीत हालसम्म १७ हजारले यूट्यूबमा हेरेका छन् ।

यस्तै टिका पुन र नविन खडकाले पनि चुनावलाई केन्द्रीत गरेर ‘ आयो वाम गठबन्धन’ नामक गीत प्रस्तुत गर्नुभएको छ । मध्यपश्चिम क्षेत्रमा प्रचलित ‘सिंगारु टप्पा’लोकलयमा तयार पारिएको उक्त गीत हालसम्म २३ हजारले हरेका छन् ।
उनै गायक खड्का र पुनको वाम गठबन्धन नै मुलुकको अत्यावश्यक रहेको भन्दै गीत तयार पारेका छन् ।

यस्तै माओवादीको सामाना परिवारमा लामो समयदेखि काम गर्दै आएका झंकार बुढाले पनि चुनावी गीत ल्याउनु भएको छ । सारङ्गी लयमा तयार भएको सो गीतमा ‘वाम गठबन्धनलाई किन विजयी गराउने’ भन्ने विषय समेटिएको छ ।

यस्तै लोकगायक सुनिल परियार, सम्झना बिसिले ‘मिलाउ हातमा हात, देश बनाउने पार्टी हो एमाले’ भन्ने लोकलयको गीत तयार पार्नुभएको छ ।

यूट्यूबमा सो गीतले पनि राम्रो दर्शक पाएको छ । सार्वजनिक भएको सात दिनमा सो गीतले ३६ हजार दर्शक पाएको छ । गायक तारानाथ आचार्य र तारा पौडेलले ‘ देशले खोजेको वाम एकता, जनताले रोजेको वाम एकता’ नामक गीत सार्वजनिक गर्नुभएको छ । सो गीतले हालसम्म ६६ हजार दर्शक पाएको छ ।

लोकगायक डिल्ली परियार र अमित परियाले पनि पूर्वमा लाली छाउँदैछ भन्ने चुनावी गीत तयार पार्नुभएको छ । सार्वजनिक भएको तीन दिनमा  सो गीत १२ हजारले हेरेका छन् ।

वरिष्ठ लोकदोहोरी गायक पूरुषोत्तम न्यौपानेले ‘एमाले जनताको साथमा छ ’ भन्ने गीत मार्फत संविधान कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । सो गीतले हालसम्म एक लाख ६१ हजारले हरेका छन ।

लोक दोहाराी गायिका राधिका हमालले काँग्रेस हो सुख र दुखमा भन्ने गीत सार्वजनिक गर्नुभएको छ । स्थानीय तहको निर्वाचनकै क्रममा सार्वजनिक गरिएको सो गीतले राम्रो दर्शक पाएको छ । लोकदोहोरी गायक विमलराज श्रेत्री र स्मृति शाहीले पनि काँग्रेसका लागि चुनावी गीत गाउनु भएको छ ।

यस्तै नेता पिच्छे पनि चुनावी प्रचारका गीत बनाउने गतिविधि बढेर गएको छ । जाजरकोटमा वामगठन्धनका उम्मेदवार शक्तिबहादुर बस्नेतको नाममा चुनावी गीत बनाइएको छ । यस्तै गोरखाबाट प्रदेशसभाका उम्मेदवार प्रकाशचन्द्र दुवाडीको नाममा पनि लोकदोहोरी गायक राजु ढकालले चुनावी गीत तयार गर्नुभएको छ ।

नेपाल सांस्कृतिक संघ रोल्पाले ‘चार तारे झण्डालाई’ भन्ने चुनावी गीत तयार पारेको छ । सो गीतले हालसम्म २० हजार दर्शक पाएको छ ।  त्यस्तै लोक गायक भानुभक्त जोशीले ‘प्रधानमन्त्री शेरबहादुर देउवा विशेष’ भन्ने चुनावी गीत गाउनु भएको छ । लोकगायक बैकुण्ठ महत र पूर्णकला बिसिले पनि ‘ आयो एमाले आयो ’ भन्ने गीत सार्वजनिक गर्नुभएको छ ।

यस्तै गायक तथा संगीतकार चेतन सापकोटाले पनि चुनावी गीत गाउनु भएको छ । संगीतकार समेत रहनु भएका नेकपा(माओवादी केन्द्र)का नेता मणि थापा गीत संगीतको माध्यमबाट चुनावी अभियान चलाउने विषय सकारात्क भएको बताउनुहुन्छ । उहाँले जनतालाई प्रत्यक्ष प्रभावमा पार्ने भनेकै गीत संगीत भएकाले पछिल्लो दिनमा गीत संगीतको मात्रा बढेको जानकारी दिनुभयो ।

यूट्यूबको टे«न्ड हेर्दा लोकशैलीमा गाइएका चुनावी गीतले बढ्ता दर्शक पाएका छन् । लोकशैलीमा मात्रै होइन, लोक आधुनिक शैलीमा पनि चुनावी गीत तयार पारिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भने वामगठबन्धनलाई विजयी गराऊ भन्ने गीत नै यूट्यूबमा बढी देखिन्छ ।

https://www.youtube.com/watch?v=lIx9iOuzye0

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको