Like us!
Follow us!
Connect us!
Watch us!

बेरोजगार बढाउने शिक्षाः नपढ्दा तनाव, पढेपछि झन् तनाव

बुधबार, ०८ मंसिर २०७३, ११ : ४५ मा प्रकाशित

बेरोजगार बढाउने शिक्षाः नपढ्दा तनाव, पढेपछि झन् तनाव

दीपेन्द्र भण्डारी
काठमाडौं–शैक्षिक प्रमाणपत्र बोकेर गल्ली–गल्ली चहार्दा उनी थाकिसकेका छन् । गाउँमा कमाइ नहुँदा चुलो बल्न छोडेपछि झोलामा प्रमाणपत्र बोकेर केही महिनाअघि बाजुराका पदमराज रेग्मी जागिर खोज्न काठमाडौं छिरे ।सुदूरपश्चिमको विकट जिल्ला बाजुराबाट २०६१ सालमा एसएलसी गरेका उनले पढाई सकेको ५ वर्ष भइसक्यो । विविएससम्मको पढाई गरेका उनी हालसम्म वेरोजगार छन् ।

आर्थिक अवभावका कारण जागिर खोजेर अधुरो पढाई पूरा गर्ने धोको सपना जस्तै भएको उनी बताउँछन् । गाउँमा निजीस्तरका बोडिङको शिक्षण पेशाले घरखर्च धानेन । उल्टै कर्जा थुप्रिरह्यो । त्यसपछि सर्टिफिकेट बोकेर काठमाडौंछिरे राम्रो अवसर खोज्न ।

तर, दुई महिनादेखि राजधानीका गल्ली–गल्ली चहार्दा जागिर नभेटेपछि उनी निराश बनेका छन् ।  ‘स्वदेशमै केही गर्नुपर्छ भनेर विदेश गइएन, अब त जागिर पाउने आशासमेत मरिसक्यो’ उनले भने । जागिर नपाएको चिन्ताभन्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यताले बढी पिरोल्ने गरेको उनी बताउँछन् । ‘म नपढेको भए यति टेन्सन हुन्थेन । स–सानो काम गरेर भएपनि जीवन चलाउन सक्थे । बेरोजगारको बजारमा शिक्षित भएर बढी पीडित भएँ’ मंगलबार रोजगारी पसलमा भेटिएका उनले गुनासो गरे ।

नेपालमा वर्षेनी लाखौं विद्यार्थी एसएलसीदेखि उच्च शिक्षाको पढाई सक्ने गरेको सरकारी आकडा छ । उनीहरुमध्ये केहीले अपेक्षाअनुरुपको काम पाउँछन् । बाँकी सबै बेरोजगारी बजारका हिस्सा बन्न थाल्छन् । उच्च शिक्षा हासिल गरेका उनीहरुले न त बाबुबाजेको बिँडो सम्हाल्न गाउँ फर्कने आँट गर्न  सकेका छन्, न अवसर नै पाउँछन् । पढेलेखेको केटो जागिर पाउँला भन्ने विश्वास गरेका हुन्छन्, देशको वेरोजगारीले उल्टै पिरोल्ने गरेको उनीहरु बताउँछन् ।

‘हाम्रो शिक्षा पद्धती नै यस्तै छ । प्रमाणपत्र तह, स्नातक, स्नातकोत्तर उतीर्ण गर्दा पनि व्यवसायिक सीप सिकिँदैन, हातमा प्रमाण पत्र छ तर सीप छैन्’ सप्तरीका सरोज पोखरलले भने ‘जति पढ्यो त्यति बेरोजगारी हुँदै गइयो ।’ सरोजले एमविएस गरेका छन् । ‘पढ्दा लागेको खर्च उकास्छु भन्ने सोचेथें, पढाई सकेपछि जागिर नपाउँदा झन् पीडा भएको छ,’ उनले भने । उनी दुई वर्षदेखि अधिकृतको तयारी कक्षा लिइरहेका छन् । जता विज्ञापन खुल्यो, त्यतै आवेदन भर्छन् । अहिलेसम्म चित्त बुझ्दो जागिर पाउन सकेका छैनन् ।

उनी मात्र होइन्, अहिले काठमाडौंका विभिन्न स्थानमा सञ्चालित करिअर तयारी कक्षामा ठूलो भीड देखिन्छ । जागीरको लागि योग्य बन्न एकेडेमिक पढाईले नपुगेपछि प्रतिस्पर्धी क्षमता बढाउन अतिरिक्त शिक्षा लिनुपरेको उनीहरु बताउँछन् ।
‘हाम्रो शिक्षा नै बेरोजगार बनाउने छ । क्याम्पस कलेज पढेर कहाँ जागिर पाइँदो रहेछ र ?’ काठमाडौ रामशाहपथस्थित नेम इन्स्च्यिुटमा तयारी कक्षा लिइरहेको बताउने दिनेशराज जोशीले भने ‘कहिलेकाही त बेरोजगार हुन पढिए जस्तो लाग्छ’  दिनेश पनि जागिरको खोजी गर्दै घर छोडेको एक वर्ष भइसक्यो । कैलाली बहुमुखी क्याम्पस धनगढीबाट स्नाकोत्तर उनी नेपालको शैक्षिक प्रणाली अनुत्पादक भएकोले शैक्षिक क्षेत्रमा बेरोजगारी बढेको बताउँछन् । ‘म मात्र होइन, हजारौ युवाहरु पढाई सकेर बेरोजगार छन्’ उनले भने ‘युवाहरु नेपालमा कुनै सिप नलागेपछि पढाई सकेपछि विदेशिँदै छन् ।’ 

हातमा प्रमाणपत्र बोकेर आएकी चितवनकी मल्लीका राई बानेश्वरस्थित रोजगारी पसलमा भेटिइन् । जागिरको लागि यो उनको अन्तिम प्रयास भने थिएन ।  ‘मैले धेरै खोजें, शिक्षक, खरिदारको तयारीसमेत गरे । केही सिप नलागेपछि यता आएँ, हेरौं, के हुन्छ’ उनले भनिन् । नेपालको शिक्षा प्रणाली व्यहारिक हुन नसक्दा शिक्षित जनशक्ति पनि बेरोजगार बनेको सरोकारबाला बताउँछन् । रोजगारदाता र रोजगारीविच मध्यस्थताको काम गर्दै आएको द क्यापिटल सोसल सर्भिस सेन्टरका अध्यक्ष तेजराज भुजेल नेपालको शिक्षाले बजारमा विक्न सक्ने जनशक्ति उत्पादन गर्न नसक्दा बेरोजगारी बढाएको बताउँछन् ।
 
‘स्नाकोत्तर गरेकाहरु समेत सामान्य जागिर खोज्न यहाँ आउँछन् । बेरोजगारी समस्या विकराल छ । देशको शिक्षा पद्धती व्यवहारिक र व्यसायीक हुन नसक्दा वर्षेनी वेरोजगारी दर बढ्दैछ’ उनले भने । उनले रोजगारी खोजिदिन हालसम्म करिब ३ लाख युवाहरुले आफूकहाँ (क्यापिटलमा) बायोडाटा दिएको बताए । नेपालको दक्ष जनशक्तिले भने अनुरुपको अवसर नपाउँदा ९० पतिशत युवा विदेश ताक्ने गरेको समेत उनी बताउँछन् ।’ युवा शक्तिलाई स्वरोजगार र अवसर प्रदान गर्न शिक्षा प्रणाली र स्थायित्वको बातावरण बनाइनुपर्छ,’ उनले भने ।  जागिरको लागि तयारी कक्षा लिइरहेका युवाहरुको संख्या हेर्ने हो भने त्यहीबाट पनि नेपालको वेरोजगारी समस्या झल्कने गर्छ ।


काठमाडौको रामशाहपथस्थित नेमका संयोजक माधव पाण्डेयका अनुसार वार्षिक ७ हजार बढी विद्यार्थीे उक्त इन्सिच्युटबाट तयारी कक्षा लिन भर्ना हुन्छन् । त्यसैगरी राजधानीमा सञ्चालित अन्य इन्स्च्यिुटमा समेत विद्याार्थीको चाप कलेज तथा विद्यालयको भन्दा बढी हुने गरेको देखिन्छ । ‘वेरोजगारी समस्या बढ्दै जाँदा हरेक क्षेत्रमा तीब्र प्रतिस्पर्धा बढ्यो, आफूलाई योग्य बनाउन शैक्षिक योग्यतालाई प्रतिस्पर्धी बनाउन विद्यार्थी तयारी कक्षा लिन थाल्छन्’ उनले भने ।

शिक्षाको जग बलियो भयो भने राम्रो जनशक्ति आफंै तयार हुन्छ । त्यसको लागि वर्तमान शिक्षा क्षेत्रका कमजोरी सुधार गर्नुपर्ने उनको धारणा छ । शिक्षामा अभिमुखीकरणको अभावले शिक्षित बेरोजगारको समस्या बढेको शिक्षाविद् डा.विद्यानाथ कोइराला बताउँछन् । ‘पढेपछि जागिर खानुपर्छ भन्ने ज्ञान दिइयो तर स्वरोजगारको ज्ञान दिइएन, त्यसले गर्दा समस्या देखिएको हो,’ उनले भने । 

उनले नेपालको बेरोजगारी समस्या तीन तरिकाले हल गर्न सकिने बताए । शिक्षा पद्धतीमा देखिएको प्रकृया बदल्नु, शिक्षा दिँदा उद्योगी व्यापारीलाई कस्तो जनशक्ति चाहिन्छ त्यही किसिमको शिक्षा दिनु वा औद्यिगिक शिक्षाको विकास गर्नु वर्तमान शिक्षालाई अभिमुखीकरण गर्नु अहिलेको आवश्यकता हो’ डा. कोइरालाले भने । इन्डोनेसिया, मलेसियाजस्ता देशहरुमा यसखाले शिक्षा दिइने गरेको भन्दै उनले जागीर उद्योग र सरकारको नीतिसँग सम्बन्धित भएकाले वर्तमान शिक्षामा देखिएको प्रक्रिया बदल्नु अपरिहार्य भएको उनको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको