Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम मध्यपहाडी राजमार्गमा १० नयाँ सहर बन्दै, हेर्नुहोस् कति काम भयो ?

विहीबार, ०७ मंसिर २०७४, ०८ : २० मा प्रकाशित

धमाधम मध्यपहाडी राजमार्गमा १० नयाँ सहर बन्दै, हेर्नुहोस्  कति काम भयो  ?

अर्थ संसार, काठमडौं– सहरी विकास मन्त्रालयले मध्यपहाडी राजमार्गमा १० नयाँ सहर विकासका लागि आवश्यक पूर्वतयारीस्वरूप पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकतासाथ अघि बढाएको छ ।

मन्त्रालयले सहर विकास गर्नुपूर्व आवश्यक हुने पूर्वाधारका ११ वटा क्षेत्र तोकेर निर्माणको कामलाई अघि बढाएको हो । ती क्षेत्रहरूमा बसपार्क निर्माण, सडक निर्माण तथा स्तरोन्नति, एकीकृत सरकारी अवधारणाअनुसारको कार्यालय भवन निर्माण, तरकारी बजार तथा संकलन केन्द्र निर्माण रहेका छन् ।

त्यस्तै, सार्वजनिक पार्क निर्माण, सहरी सेवा केन्द्र, खानेपानी, रिङरोड, सरकारी जग्गा संरक्षण, जग्गा एकीकरण आयोजना ब्लक योजनाअनुसार बाटो खोल्ने कार्य र ढल निर्माण रहेका छन् । नयाँ सहरी विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको नयाँ  सहर आयोजना समन्वय कार्यालय निमित्त आयोजना निर्देशक पराग कायस्थले बताए ।

(९ सालभित्र १० नयाँ सहरलाई गुरुयोजनाअनुसार विकास गर्ने सरकारको तयारी छ । त्यसरी विकास गरिएका प्रत्येक सहरमा १ लाख जनसंख्या अट्ने गरी व्यवस्थित गरिनेछ । सरकारले आर्थिक वर्ष ०६७(६८ को नीति तथा कार्यक्रममा आधुनिक नयाँ सहरको विकास तथा निर्माण गर्ने सोच पहिलोपटक सार्वजनिक गरेको थियो ।

कहाँ के काम, कति भयो ?

बसपार्क निर्माण : अहिले ४ वटा बसपार्क निर्माण भइरहेका छन् । फिदिम, वसन्तपुर, चौरजहारी र पाटनमा बसपार्क निर्माण भइरहेका हुन् । त्यस्तै, डुम्रे–भन्सार र साँफेबगरमा पनि आवश्यक तयारी पूरा भएर लगत इस्टिमेट भइरहेको छ । अन्य ठाउँमा पनि तयारी थालिसकेको छ।

सडक निर्माण तथा स्तरोन्नति : १० वटै नयाँ सहरमा सडक निर्माण भइरहेको छ । अहिलेसम्म सबै सहर रहने ठाउँमा कुल ४८ किलोमिटर सडक निर्माण भइसकेको छ ।

एकीकृत सरकारी अवधारणाअनुसारको कार्यालय भवन निर्माण : १० मध्ये ८ वटा सहरमा यससम्बन्धी कार्य भइरहेको छ । जसमा फिदिम, खुर्कोट, बैरेनी–गल्छी, डुम्रे–भन्सार, बुतिवाङ, चौरजहारी, साँफेबगर, पाटन छन् । वसन्तपुर र राकम–कर्णालीमा पनि भवन निर्माणकार्य अघि बढाउने प्रयास भइरहेको भए पनि जग्गा उपलब्ध नभएकाले प्रगति भएको छैन ।

तरकारी बजार तथा संकलन केन्द्र  अहिले वसन्तपुर, बैरेनी–गल्छी र डुम्रे–भन्सारमा निर्माण भइरहेको छ । राकम–कर्णाली, साँफेबगर र पाटनमा तत्काल जग्गा उपलब्ध नभएकाले कुनै प्रगति भएको छैन । त्यस्तै, अन्य ठाउँमा पनि प्रक्रिया अघि बढाउने तयारीमा सहरी विकास तथा भवन निर्माण विभाग रहेको छ ।

सार्वजनिक पार्क निर्माण  अहिले फिदिम, वसन्तपुर र खुर्कोटमा निर्माण भइरहेको छ । डुम्रे–भन्सारमा डिजाइन भई लगत इस्टिमेट तयार भइरहेको र राकम–कर्णालीमा जग्गा प्राप्त गर्ने काम भएको छ ।

सहरी सेवा केन्द्र : विभागले वार्षिक लक्ष्यअनुसार बैरेनी–गल्छीमा सहरी सेवा केन्द्र निर्माण गरिरहेको छ । थप अन्य ठाउँमा पनि चाँडै प्रक्रिया अघि बढाउने तयारी छ ।

खानेपानी : नयाँ सहर विकास गर्नुपूर्व आवश्यकमध्येको एक खानेपानी व्यवस्था गर्ने कामलाई पनि उच्च प्राथमिकता दिइएको छ । अहिले बैरेनी–गल्छी र साँफेबगरमा खानेपानी व्यवस्थापनका लागि आवश्यक निर्माणकार्य भइरहेको छ । थप अन्य ठाउँमा पनि चाँडै योजना अघि बढाउने नयाँ सहर आयोजना समन्वय कार्यालयले जानकारी दिएको छ ।

रिङरोड : अहिले फिदिम, वसन्तपुर, बैरेनी–गल्छी, चौरजहारीमा रिङरोड निर्माण भइरहेको छ । यसलाई नयाँ सहर विकास गरिने ठाउँमा पनि निर्माण गरिनेछ ।

सरकारी जग्गा संरक्षण : १० वटै नयाँ सहरमा संरक्षण कार्य भइरहेको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।

जग्गा एकीकरण आयोजना ब्लक प्लानअनुसार बाटो खोल्ने कार्य : अहिलेसम्म खुर्कोटमा विकास हुने नयाँ सहरमा बाटो खोल्ने कार्य भइरहेको छ । त्यस्तै, फिदिम, वसन्तपुर, बैरेनी–गल्छी र डुम्रे–भन्सारको ब्लक प्लान स्वीकृत भएको छ । अन्य ठाउँमा पनि यस प्रक्रियालाई अघि बढाइने तयारी भइरहेको छ ।

ढल निर्माण : फिदिम, वसन्तपुर, खुर्कोट, डुम्रे–भन्सार र बुर्तिवाङमा ढल निर्माणकार्य सुरु भएको छ । अन्य ठाउँमा पनि ढल निर्माण अघि बढाइने नयाँ सहर आयोजना समन्वय कार्यालयले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको