Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो तामाकोसीको सुरुङमार्ग एक साताभित्र खुल्ने

शुक्रबार, १० मंसिर २०७३, ०९ : ३० मा प्रकाशित

माथिल्लो तामाकोसीको सुरुङमार्ग एक साताभित्र खुल्ने

अर्थ संसार 

दोलखा – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लामाबगरस्थित बाँधस्थल पुग्ने पहुँचमार्गका लागि निर्माणाधीन सुरुङमार्गको काम एक साताभित्रै सकिने भएको छ ।

यो सुरुङमार्ग निर्माण सम्पन्न भएपछि बाँधस्थलसम्म पुग्ने पहुँचमार्ग खुल्नेछ भने ०७२ वैशाख १२ को भूकम्पपछि रोकिएको लामाबगरस्थित बाँधस्थलको काम पुनः सुरु गर्न मार्गप्रशस्त हुनेछ । सुरुङमार्ग खुलेपछि लामाबगरसम्मको सडक पनि सुचारु हुनेछ ।

भूकम्पले प्रवेशमार्गको काब्रेभिर क्षेत्रमा सडक भत्किएको थियो । भिर काटेर निर्माण गरिएको सडक भूकम्पले भत्किएर त्यही ठाउँबाट सडक लैजान अप्ठ्यारो भएपछि काब्रेभिरबाट सुरुङमार्ग निर्माण गर्न थालिएको आजको कारोवार दैनिकले समाचार छापेको छ । 
काब्रेभिरमा सडक भत्किएर यातायात अवरुद्ध भएपछि अहिलेसम्म बाँधस्थलको काम हुन सकेको छैन । दोलखा बजारबाट लामाबगरसम्मको ६८ किलोमिटर पहुँचमार्गमध्ये भोर्ले र काब्रे भिरमा सबैभन्दा बढी सडक क्षति भएको थियो ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार अन्तिम भागमा कमजोर चट्टान आएकाले केही दिनयता कामको गति घटेको छ । विगतमा दैनिक ५ मिटरसम्म सुरुङको काम हुँदै आएकोमा केही दिनयता दैनिक मुस्किलले २ मिटर प्रगति भएको उनले बताए । 

सुरुङमार्ग निर्माणको काम चौबिसै घण्टा भइरहेको छ । तथापि लामाबगरसम्म जाने यातायात अभावमा सुरुङमार्ग काब्रेभितिरबाट मात्रै खन्नुपरेकोले ढिलो भएको हो ।

इलेक्ट्रोमेकानिकल सामान ढुवानीमा ढिलाइ भएर पनि आयोजनाको काम ढिलो भएको हो । अत्यधिक भारका सामान ल्याउनका लागि सिन्धुपाल्चोकको खाडीचौरमा डाइभर्सन निर्माण गर्नुपर्छ ।

तर, सुनकोशीको पानी नघटिसकेकोले डाइभर्सन निर्माणमा ढिलाइ भएको आयोजनाका प्रवक्ता डा। न्यौपानेले बताए । उनका अनुसार पुस तेस्रो सातासम्ममा सुनकोशीमा डाइभर्सन बनिसकेपछि इलेक्ट्रोमेकानिकल कामले पनि निरन्तरता पाउँछ ।

हेडरेस सुरुङको ३ किलोमिटरमा डेढ वर्षयता पानी भरिएको छ । सुरुङमा भरिएको पानी एकैपटक फ्याँक्दा सुरुङ खुम्चिने भएकोले मिलाएर फ्याँक्दा ३ महिनाभन्दा बढी समय लाग्ने आयोजनाको अनुमान छ ।

विद्युत् लाइन केही दिनमा बनिसक्ने र त्यसपछि सुरुङमा जमेको पानी फ्याँक्ने काम सुरु हुने आयोजनाले जानकारी दिएको छ । आयोजनाको गोगरडाँडाबाट पनि हेडरेस सुरुङ निर्माणको तयारी भएको छ ।

ठाडो सुरुङको माथिल्लो भागसम्म पुग्ने ३ किलोमिटर पहुँचमार्ग पनि क्षतविक्षत भएकाले वैकल्पिक मार्ग बनाएर त्यहाँसम्म गाडी पुग्ने व्यवस्था भएको छ । आयोजनाको ठाडो सुरुङ निर्माणको काम पनि रोकिएको छ । 

प्रवक्ता न्यौपानेले केही दिनमै ठाडो सुरुङ निर्माणको काम सुरु हुने जानकारी दिए । २ वटा ठाडो सुरुङमध्ये ३ सय ६० मिटरको तल्लो खण्ड २ वर्षअघि नै पूरा भएको छ । माथिल्लो ३ सय १० मिटरमध्ये तलबाट १ सय ४० मिटर पनि पूरा भएको छ ।

बाँकी सुरुङ माथिबाट तल ‘डाउन दी होल’ विधिबाट खन्नुपर्ने अवस्था भएको न्यौपानेले बताए । आयोजनाको विद्युत् गृहको काम र प्रसारण लाइनको काम भूकम्प र नाकाबन्दीले ८ महिनाजति रोकिए पनि त्यसपछि निरन्तर जारी छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् प्रसारण गर्न विद्युत् गृह गोंगरबाट खिम्तीसम्म बिजुली जोड्नका लागि २२० केभी क्षमताको प्रसारण लाइनको काम भइरहेको छ । आयोजनाको काम चार लटमा भइरहेको छ ।

आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेसन, हाइड्रोमेकानिकलमा टेक्सम्याको इन्डिया लिमिटेड, इलेक्ट्रोमेकानिकलमा अस्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा भारतको केईसी इन्टरनेसनल लिमिटेडले काम गरिरहेका छन् । आयोजनाको काम करिब ८३ प्रतिशत पूरा भएको छ ।

निर्माण अवधिको ब्याजबाहेक आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ ९४४ करोड १० लाख अमेरिकी डलर० छ । यो लागत १ डलरबराबर ८० रुपैयाँलाई आधार मानेर तय गरिएको हो ।

हाल डलरको भाउ बढेर, एक वर्षजति काम ठप्प भएर र बजार मूल्य वृद्धिका कारण थप ८ अर्बभन्दा बढी आयोजनाको लागत अझ बढ्ने सम्भावना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको