Like us!
Follow us!
Connect us!
Watch us!

एटीएमबाट रकम चोरी बढ्दो, कसरी जोगाउने आफ्नो रकम ?

शनिबार, ११ मंसिर २०७३, २० : ०१ मा प्रकाशित

एटीएमबाट रकम चोरी बढ्दो, कसरी जोगाउने आफ्नो रकम ?

शर्मिला ठकुरी
काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइवी) ले कात्तिक ११ मा बुल्गेरियन नागरिक डिमो एटान्सोभलाई पक्राउ गर्यो । नक्कली एटीएम कार्ड प्रयोग गरेर रकम चोरी गरेको अभियोगमा उनलाई सिआइवीले पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि अन्य व्यक्तिहरु पनि यस कार्यमा संलग्न छन् भन्ने कुरा सिआइवीले थाहा पायो । त्यसपछि एटीएमबाट हुने चोरी रोक्नका लागि टोली खटायो ।

सोही टोलीले कात्तिक १९ गते फेरि पूर्वी युरोपेली मुलुक रोमानियाका तीन जना नागरिक घायटा हुजुम, आसिफ मोरारु र एलेक्स क्रिस्चियनलाई पक्राउ गर्याे । उनीहरुलाई दरबारमार्ग, ठमेललगायतका स्थानबाट एटीएम ह्याक गरी रकम चोरी गरेको आरोपमा सिआइवीले पक्राउ गरेको थियो ।

त्यसको एक हप्ता बित्न नपाउँदै कात्तिक २५ गते फेरि अर्को युरोपेली मुलुक टर्कीका दुई नागरिक मुहरम आजन र सल्लहटिन यवरलाई सिआइवीले पक्राउ गर्यो । सोधपुछपछि सिआइवीले थाहा पायो, एटीएम कार्डको डाटा र पिन नम्वर चोरीमा संलग्न यी ६ जना युरोपियन नागरिक एउटै अन्तराष्ट्रिय गिरोहका सदस्य रहेछन् ।

माथिका यी घटनाबाट के प्रष्ट हुन्छ भने नेपालमा एटीएम कार्डको प्रयोग सुरक्षित छैन । यसरी नेपालीहरुको पैसा कति चोरी भएको होला ? यहिलेसम्म एकिन भएको छैन । 

कार्डको प्रयोग बढ्दो
पछिल्लो दशकमा नेपालमा एटीएमको प्रयोगकर्ता ह्वात्तै बढेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले १ हजारभन्दा बढी एटीएम मेसिन सञ्चालनमा ल्याएका छन् । त्यस्तै ४६ लाखभन्दा बढी डेबिट कार्ड, ५२ हजारभन्दा बढी क्रेडिट कार्ड तथा ८२ हजारभन्दा बढी प्रिपेड कार्ड जारी गरिसकेका छन् ।
एकतर्फ बैंक तथा वित्तीय संस्थाले यसरी एटीएम कार्ड जारी गर्दै गइरहेका छन् भने अर्कोतर्फ एटीएम कार्डको सुरक्षामा भने पटक्कै ध्यान नदिएको नेपाल राष्ट्र बैंकको आरोप छ । राष्ट्र बैंकले बैंकहरुलाई विद्युतीय कारोबारलाई सुरक्षित बनाउन पटकपटक निर्देशन दिँदै आएको छ ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनका अनुसार नेपालमा भित्र्याइएका एटीएम मेसिन पछिल्लो प्रविधिका अत्याधुनिक मेसिन हुन् । जुनसुकै देशमा पनि यही टेक्नोलोजी भएको मेसिनको प्रयोग भइरहेको छ । अन्य देशका नागरिकभन्दा नेपालका नागरिकले एटीएम कार्डको प्रयोग गर्दा लापरबाही अपनाएका कारण पनि एटीएमबाट सहजै रकम चोरी हुने गरेको महर्जनको दावी छ ।

‘एटीएम कार्डको प्रयोग गर्नेले पहिले आफूले प्रयोग गर्ने एटीएम मेसिनमा राम्रोसँग हेर्नुपर्छ, कसैले नदेख्ने गरेर पिन कोड हान्नुपर्छ, पैसा आएपछि राम्रोसँग लगआउट नभएसम्म हिँड्नु हुँदैन । रकम आएको स्लिपसमेत त्यत्तिकै फ्याक्नु हुदैन, त्यसलाई च्यात्नुपर्छ,’ उनले एटीएम मेसिन प्रयोग गर्ने तरिका सिकाउँदै भने । 

बैंकहरुले अहिले एटीएमबाट रकम चोरी हुन नदिन ग्राहकहरुलाई शिक्षित गर्ने काम गरिरहेको उनको भनाई छ ।
नक्कली एटीएम कार्ड बनाएर रकम चोरी हुने क्रम बढेपछि बैंकहरुले आफ्ना आइटी विभागका कर्मचारीहरुलाई सतर्क भएर काम गर्न भनेका छन् । त्यस्तै बैंकहरुले आफ्ना कर्मचारीहरुलाई प्रत्येक दिन विहान र बेलुका एटीएम मेसिन सफा छ कि छैन भनेर जाँच गर्न लगाएका छन् । प्रत्येक एटीएम मेसिनमा सीसी क्यामेरा हुने भएकोले त्यसको रेकर्ड रहेर शंका लागेको खण्डमा एटीएम प्रयोगकर्तालाई सोधपुछसमेत गर्ने गरिएको महर्जनले बताए ।

प्रहरी उपरिक्षक दीवेश लोहनी एटीएम प्रयोगकर्ता होसियार हुनुपर्ने बताउँछन् । एटीएम प्रयोगकर्ताले मेसिमा शंकास्पद बस्तुको प्रयोग भएको पाईएमा, आफ्नो पैसा चोरी भएको जानकारी प्राप्त भएमा तत्काल बैंकलाई तथा प्रहरीलाई खबर गर्न उनी आग्रह गर्छन् । एसएमएस एलर्ट लिने ग्राहकले पैसा चोरी भएको छिटो जानकारी पाउने भएकोले निक्षेपकर्ता सबैले एसएमएस एलर्ट प्रयोग गर्नु राम्रो हुने उनी बताउँछन् ।

विद्युतीय (इलेक्ट्रोनिक्स) कारोबार ऐनअनुसार त्यसरी रकम चोरी गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुने सक्ने व्यवस्था छ । त्यस्तै बैंकिङ कसुर तथा सजाय ऐनअनुसार एटीएमबाट रकम चोरी गर्नेलाई न्यूनतम एक वर्ष र अधिकतम पाँच वर्षसम्म कैद तथा बिगो तिर्न लगाउने व्यवस्था छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको