Like us!
Follow us!
Connect us!
Watch us!

सुन किन्ने सोचमा हुनुहुन्छ ? मौका यही हो

आइतबार, १२ मंसिर २०७३, १० : १८ मा प्रकाशित

सुन किन्ने सोचमा हुनुहुन्छ ? मौका यही हो

काठमाडौं–  यसै सिजनमा विवाहको लगनगाँठो जुराएका परिवारलाई सुनको भाउले साथ दिएको छ। विवाहको सिजनमा सुनको भाउ ओरालो लाग्न थालेपछि उपभोक्तालाई राहत मिलेको हो।

मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुन निरन्तर घट्दै गएर शनिबार प्रतितोला ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। यो मूल्य विगत १० महिनायताकै कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। यो विगत १० महिनायताको कम मूल्य हो, शाक्यले भने, यसअघि चैत महिनामा सुनको मूल्य झरेको थियो।

 साउन महिनामा प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शनिबारसम्म ५४ हजार २ सयमा झरेको छ।  २०७२ चैत महिनाको २२ र २३ गते छापावाल सुन प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघको तथ्यांकमा उल्लेख छ। गत साउनमा भने १० महिनाकै सबैभन्दा धेरै ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्य पनि निरन्तर घट्दै गएर शनिबार प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ।

नेपाली बजारमा सुनको भाउ अन्तराष्ट्रिय बजारका आधारमा निर्धारण हुन्छ। यसैकारण सुनको माग धेरै हुने समयमा पनि भाउ घट्नुमा अन्तर्राष्ट्रिय बजारको असर रहेको शाक्य बताउँछन्। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर घटिरहेको छ। अहिले अमेरिकी डलर बलियो भएको छ। अन्य सेयर बजारमा पनि सुधार देखिएको छ, शाक्यले भने, यसले गर्दा सुनको भाउ घटेको हो।

केही हप्ताअघि सम्पन्न अमेरिकी राष्ट्रपति चुनावको प्रत्यक्ष असर अहिले सुन र डलरको मूल्यमा परेको छ। राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जितेमा सुनको भाउ महँगो र डलर कमजोर हने अनुमान गरिएको थियो। ट्रम्पले चुनाव जितेपछि भने अनुमानभन्दा ठिक उल्टो भएको शाक्य बताउँछन्। ट्रम्पले चुनावपछिको भाषणमा सबैलाई समेटेर लैजाने भन्न थालेपछि डलर बलियो बनेको छ, शाक्यले भने, यसले पनि सुनको भाउ कमजोर हुन गएको हो।

अमेरिका र युरोपमा डलर बलियो बन्दै गएको छ भने संसारको दोस्रो ठूलो सुन बजार भारतमा भारु कमजोर हुँदै गएको छ। मोदी सरकारले १ हजार र ५ सयका नोट नचल्ने घोषणा गरेसँग भारु कमजोर हुदै गएको छ। 

त्यस्तै, अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेकाले विश्व बजारमा सेयर कारोबार बलियो बन्दै गएको शाक्यको भनाइ छ। उनका अनुसार धेरै पहिलादेखि ब्याजदर बढाउने कुरा आए पनि डिसेम्बरबाट लागू गर्ने घोषणा अमेरिकी केन्द्रीय बैंकले गरिसकेको छ। ब्याजदर वृद्धिले पनि डलरलाई बलियो बनाउन सघाउनेछ भने सुनको भाउ अझै घट्ने विश्लेषण गरिएको छ।

शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार २ सय डलरसम्म झर्ने अनुमान गरिएको थियो। तर, बजार अनुमानभन्दा विपरीत प्रतिऔंस १ हजार १ सय ८७, १ हजार १ सय ७५ हुँदै बिहीबार १ हजार १ सय ८५ डलरमा आएर बन्द भएको छ।

सुनको भाउ निरन्तर घट्दै गएकाले नेपाली उपभोक्ता अझै घट्ने आसमा पर्खेर बसेको शाक्य बताउँछन्। भाउ घटिरहेकाले उपभोक्ता पर्ख र हेर अवस्थामा रहेको देखिन्छ, शाक्यले भने, ुयसले गर्दा पनि सिजनका बेला जति सुन बिक्री हुनुपर्ने हो त्यति भएको छैन।

नेपाली उपभोक्ताले आश गरेअनुसार नै सुनको मूल्य नघट्ने शाक्यको अनुमान छ। अन्तर्राष्ट्रिय बजार प्रतिऔंस १ हजार १ सय ७५ डलरमा झरेर फेरि १ हजार १ सय ८७ डलरमा पुगी बन्द भएको छ, शाक्यले भने, यसले गर्दा अब घट्दैन कि भन्ने अनुमान लगाउन सकिन्छ। तर, फेरि पनि अमेरिकी नयाँ राष्ट्रपतिले कार्यभार सह्मालेपछि उनले प्रस्तुत गर्ने योजनाले सुन र डलरको भाउ प्रभावित बनाउने उनी बताउँछन्।

नेपाली उपभोक्ताले विगतका वर्षमा मंसिरमा प्रतिदिन ४० देखि ५० किलो सुन किन्थे। यसपटक भने प्रतिदिन ३० किलोमात्र उपभोग भइरहेको उनको भनाइ छ। मंसिर महिनामा सुनको माग उच्च हुन्छ। पुसमा फेरि सुस्ताएर माघ फागुनमा फेरि उच्च हुने आजको नागरिक दैनिकमा समाचार छ । 

विनाशकारी भूकम्पका कारण गत वर्षको दसैं तिहारमा सुनको कारोबार राम्रो हुन सकेको थिएन। यस वर्ष भने तिहारका बेला गत सालभन्दा २५ प्रतिशत बढी व्यवसाय भएको शाक्यको भनाइ छ।

दसै तिहारका बेला चाँदीको व्यवसाय झनै राम्रो भएको व्यवसायी बताउँछन्। त्यस बेला चाँदीको मूल्य सस्तो र सुनको मूल्य महँगो हुदा चाँदी व्यवसाय राम्रो भएको थियो। अरु बेला सामान्यतया पौने ३ सय किलो चाँदीको व्यवसाय हुनेमा यसपालि दैनिक १५ देखि १६ सय किलो चाँदीको व्यवसाय भएको व्यवसायीको भनाइ छ। अन्य बेला १ हजार १ सय प्रतितोलासम्म कारोबार भएको चाँदी दसैं तिहारमा ८ सय २५ रुपैयाँमा खरिदबिक्री भएको थियो। शनिबार चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको