अर्थ संसार
काठमाडौं– चौथो सातामा प्रर्दशन भइरहेको चलचित्र ‘जात्रा’ लाई पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उत्कृष्ट फिल्मको उपमा दिएका छन् । सुन्धारास्थित सिभिल मलको क्युएफएक्स सिनेमा हलमा बिहिबार पत्नी हिसीला यमी, नयाँ शक्ति पार्टीकी सदस्य तथा अभिनेत्री करिश्मा मानन्धरसँगै फिल्म हेरेपछि उनले जात्रा उत्कृष्ट फिल्म मध्ये एक रहेको प्रतिक्रिया दिए ।
प्रदीप भट्टराई निदेर्शित ‘जात्रा’ नेपाली समाज र राज्यको जीवन्त, रोचक चित्रण गर्ने फिल्म रहेको उनले बताए । ‘समाजमा आर्थिक रुपको जुन खालको विपन्नता छ । र, त्यो कारणले राज्य सत्तामा जुन खालको विसंगती छ,’ उनले भने, ‘आज कसैले कसैमाथि विश्वास गर्न सक्ने वातावरण छैन ।
त्यसको सजिव चित्रण फिल्ममा गरिएकाले निकै मन पर्यो ।’ बाबुराम पत्नी यमीले ‘जात्रा’ ले आफुलाई गम्भिर बनाएको बताइन् । ‘जात्रा’ एशियामै अवार्ड पाउनलायक सिनेमा रहेको उनको भनाई छ ।
यस्तै, अभिनेत्री मानन्धरले जात्रालाई हाँसो र रोनदयुक्त फिल्म भनी व्याख्या गरेकी छिन् । ‘जात्रा नहेरेको भए मैंले राम्रो फिल्म छुटाउने रहेछु’ उनले भनिन् । रविन्द्रसिंह बाँनिया निर्मित फिल्म ‘जात्रा’ मा कलाकार विपिन कार्की, रविन्द्र झा, निर्माता बाँनिया र नायिका बर्षा राउतको मुख्य भूमिका छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस