Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुलीको भिमानमा सेनाले अन्तराष्ट्रिय एयरपोर्ट बनाउने

शनिबार, १८ मंसिर २०७३, १२ : ११ मा प्रकाशित

सिन्धुलीको भिमानमा सेनाले अन्तराष्ट्रिय एयरपोर्ट बनाउने

काठमाडौं–नेपाली सेनाले आपतकालीन अवस्थामा प्रयोगमा ल्याउने गरी सिन्धुलीको चारनाथ भिमानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ । मुलुकमा अप्ठ्यारो पर्दा अत्यावश्यक हवाई सेवा सुचारु गर्न सेनाले वैकल्पिक विमानस्थल निर्माण योजना बनाएको हो ।

विपत् वा अन्य प्राविधिक कारणले त्रिभुवन विमानस्थल बन्द हुने अवस्था आए वैकल्पिक रूपमा प्रयोग गर्न मिल्ने गरी विमानस्थल बनाउन लागेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले जनाए । उनका अनुसार विमानस्थल बनाउने भनिएको क्षेत्रमा हाल सेनाले हवाई जम्पलगायत विभिन्न प्रशिक्षण दिँदै आइरहेको छ । भिमानमा सेनाको करिब ४ सय १५ बिघा जमिन छ । 

विमानस्थल बनाउन लागिएको दक्षिणी भागमा खिम्ती–ढल्केवर प्रसारण लाइन छ । उक्त प्रसारण लाइन पूर्वी भागबाट बिजुली काठमाडौं ल्याउन, माथिल्लो तामाकोसीलगायत आयोजनाको बिजुली पूर्वमा लान र भारतबाट आयात हुने बिजुली काठमाडौं ल्याउन निर्माण गरिएको हो । प्रसारण लाइन नहटाउने गरी सेनाले उत्तरतर्फको ३० बिघा सरकारी जग्गा लिने तयारी गरेको छ । ‘उत्तरतर्फको जग्गा प्राप्त भयो भने निर्माण कार्य सहज रूपमा अघि बढ्छ,’ प्रवक्ता कार्कीले भने । उनले ३० बिघा जग्गा प्राप्तिका लागि गृहकार्य भइरहेको जनाए । 

भौगोलिक स्थितिका कारण त्यहाँ बन्ने विमानस्थलबाट मध्यमस्तरका विमान मात्र अवतरण र उडान सम्भव हुन्छ । ठूला विमानलाई भने वरिपरिका चुरे डाँडाले अवरोध गर्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ । ‘यसका प्राविधिक पक्ष अध्ययन हुन बाँकी छन्,’ कार्कीले भने । निर्माण प्रक्रिया अघि बढिरहेको र विस्तृत इन्जिनियरिङ अध्ययनपछि निर्माणको लागत यकिन हुने उनले बताए । एक वर्षअघि टर्किस एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलको रनवेमा बिग्रँदा अन्तर्राष्ट्रिय उडानहरू अवरुद्ध भएका थिए । वैकल्पिक विमानस्थल नहुँदा नेपाली आकाशमा समस्या परेका बेला हाल अन्तर्राष्ट्रिय विमानहरू रि–रुट गरी भारतको पटनालगायत विमानस्थल पुर्‍याइने गरेको कान्तिपुर दैनिकले छापेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको