Like us!
Follow us!
Connect us!
Watch us!

कतै तपाइको ब्लुबुक पनि नक्कली त होइन ? नत्र फन्दामा परिएला

आइतबार, २६ मंसिर २०७३, १३ : ३६ मा प्रकाशित

कतै तपाइको ब्लुबुक पनि नक्कली त होइन ? नत्र फन्दामा परिएला

काठमाडौं -यातायात व्यवस्था कार्यालयकै कर्मचारीको मिलेमतोमा नेपालमा चोरीका गाडीको कारोबार हुँदै आएको खुलेको छ । चोरीका तीनवटा गाडीसहित प्रहरीले कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले पर्सा कांग्रेसका नेता सेख निजामुद्दिन नेतृत्वको गिरोहलाई पक्राउ गरेको  हो । पक्राउ पर्ने अन्यमा दोलखाका सन्तोष कुँवर, सुरेश थापा, झलक बस्नेत र सिन्धुपाल्चोकका सुरेशलाल श्रेष्ठ छन् । बस्नेतलाई आई–२० गाडीसहित पक्राउ गरिएको र अन्य चारजना चोरीको फर्चुनर गाडीसहित पक्राउ परेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) प्रकाशजंग कार्कीले बताए । सो गिरोहले ठूलो संख्यामा चोरीका गाडी नेपाल भित्राएर नक्कली ब्लुबुक बनाई बिक्री गरिसकेको प्रहरी अनुसन्धानमा खुलेको आजको नयाँ पत्रिकाले समाचार छापेको छ । 

खाली नम्बर राखेर ब्लुबुक

प्रहरीले बरामद गरेका सबै गाडीमा यातायात व्यवस्था कार्यालयमा दर्ता नभएका नम्बरहरू राखिएका छन् । यस्तो यातायात व्यवस्था कार्यालयका कर्मचारीको मिलेमतोविना सम्भव नभएको प्रहरी अधिकारी बताउँछन् । जथाभावी नम्बर राख्दा अन्य गाडीसँग मिल्न सक्ने र चोरीको पत्ता लाग्ने भएकाले नामसारी भएर खाली रहेका नम्बर राखेर उनीहरूले नक्कली ब्लुबुक बनाएका थिए ।

नक्कली ब्लुबुक बनाएको आरोपमा प्रहरीले उनीहरूविरुद्ध सरकारी छाप तथा दस्तखत किर्ते मुद्दामा समेत कारबाही गरेको छ । सो मुद्दामा धरौटीमा छुटेपछि उनीहरूलाई राजश्व अनुसन्धान विभागमा पठाइएको एसपी कार्कीले बताए । जसमा अदालतले बस्नेतबाहेक अन्य चारजनालाई ८०–८० लाख रुपैयाँ धरौटी मागेको छ । धरौटी तिर्न नसकेपछि उनीहरू जेल चलान भएका छन् । बस्नेतलाई भने विभागले १६ लाख रुपैयाँ धरौटी मागेको छ ।

१० लाखमा फर्चुनर

२०१३ मोडलको फर्चुनर कारको मूल्य नेपालमा करिब सवा करोड रुपैयाँ पर्छ । तर, दोलखाका व्यवसायी सन्तोष कुँवरले १० लाख रुपैयाँमा नै सो कार हात पारे । निजामुद्दिनसँग उनले गाडी किनेका हुन् । उनले सुरेश थापामार्फत निजामुद्दिनलाई चिनेका हुन् । तस्करीको समूहमा थापा पनि संलग्न भन्दै प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।

५ लाखमा आई २०

त्यस्तै, झलक बस्नेतले पाँच लाख रुपैयाँमा नै आई २० गाडी किनेका थिए । चोरीका गाडी भएकाले सस्तो मूल्यमा नेपालमा खरिद बिक्री हुँदै आएको थियो । ट्राफिक प्रहरीले पनि चिन्न नसक्ने गरी उनीहरूले नक्कली ब्लुबुकमार्फत झुक्याउँदै आएका थिए । भारतभन्दा नेपालमा गाडीको मूल्य झन्डै तेब्बर महँगो भएकाले गाडी चोरीको धन्दा मौलाएको हो । केहीले त्यस्ता गाडीमा नक्कली नेपाली नम्बर प्लेट राखेर बिक्री गर्छन् भने केहीले पार्टपुर्जा निकालेर बिक्री गर्दै आएको प्रहरी अधिकारी बताउँछन् ।

ठूलो समूह सक्रिय

भारतबाट गाडी चोरी गरी नेपालमा बिक्री गर्ने ठूलो समूह छ । नेपालमा नक्कली नम्बरप्लेट र नक्कली ब्लुबुकका आधारमा सयौँ गाडी सञ्चालनमा रहेको प्रहरी आशंका छ । युपीका एक एसपीकै गाडी चोरी गरी नेपालमा ल्याएर बिक्री गरेको २ साताअघि मात्र खुलेको थियो । क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले भारतीय एसपीको गाडी चोरी गर्ने समूहलाई गत ९ मंसिरमा पक्राउ गरेको थियो । डिआइजी पशुपति उपाध्यायका अनुसार उनीहरूले चोरी गरेको सो गाडीको पाटपुर्जा दुर्घटनामा परेको एक एम्बुलेन्समा जडान गरेका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि भन्सार छलेर तथा भारतबाट चोरी गरेर ल्याइएका गाडी बरामद गर्दै आएको छ । महाशाखाले आर्थिक वर्ष ०७२/७३ मा मात्र ४८ वटा भन्सार छलीका कार तथा जिप कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको थियो ।

भारतबाट चोरी,  नेपालमा खरिद बिक्री

महाशाखाका प्रहरी अधिकारीका अनुसार नेपालमा नक्कली नम्बर प्लेट राखेर सञ्चालन हुने गाडी भारतबाट चोरी गरी भित्रने गरेका छन् । भारतका पेसेबर गाडी चोर समूहले नेपालमा ल्याएर ती गाडी सस्तो मूल्यमा बिक्री गर्दै आएको छ । सो समूहको चिनजान पर्साका कांग्रेस नेता तथा स्थानीय व्यापारी निजामुद्दिनसँग छ । भारतीय समूहसँग गाडी किनेर नक्कली ब्लुबुक बनाई उनै निजामुद्दिनले नेपालमा चोरीका गाडीको धन्दा गर्दै आएका व्यक्ति हुन् । चोरीका गाडीको कारोबारमा लामो समयदेखि उनी बदनाम व्यक्ति हुन् ।

पक्राउ परेका श्रेष्ठले नक्कली ब्लुबुक बनाउने काम गर्दै आएका थिए । बानेश्वरस्थित एक ड्राइभिङ इस्न्टिच्युटका सञ्चालक रहेका श्रेष्ठ यसअघि पनि यातायातमा दलाली तथा किर्ते काममा पक्राउ परी छुटेका व्यक्ति हुन् । नेपालमा गाडीका पार्टपुर्जासमेत महँगो भएकाले पार्टपुर्जाका लागि पनि चोरीका गाडीको खरिद बिक्री हुने गरेको छ । जसमा ग्यारेज तथा वर्कसपको समेत मिलेमतो हुने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको