Like us!
Follow us!
Connect us!
Watch us!

आधुनिक प्रविधि नहुँदा ठगी गिरोह पक्रन कठिन

बुधबार, १४ चैत्र २०७४, १६ : ५९ मा प्रकाशित

आधुनिक प्रविधि नहुँदा ठगी गिरोह पक्रन कठिन

अथ संसार, काठमाडौँ– आधुनिक प्रविधि नहुँदा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिन महानगरीय प्रहरीलाई समस्या परेको छ ।

अनलाइन ठगी नेपालबाट भन्दा पनि बाहिरी देशबाट हुने हुँदा प्रहरीलाई समस्या भएको हो ।

सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह नै रहेको तर प्रहरीले ठगीको प्रमुख नाइकेलाई हालसम्म फेला पार्न नसकेको महानगरीय प्रहरी परिसर, टेकुका मुद्दा शाखाका प्रमुख एंव प्रहरी निरीक्षक मोहनकुमार थापाले बताउनुभयो ।

“अनलाइन ठगीमा विदेशी नम्बरको प्रयोग बढी भएको पाइएको छ,” उहाँले भन्नुभयो । ठगी गर्न गिरोहले विभिन्न प्रविधिमार्फत विभिन्न व्यक्तिलाई तपाईंलाई यति रकम चिठ्ठा परेको छ । रकमको यति प्रतिशत कर तपाईंले यो खातामा हालिदिनुस्, तपाईंको खातामा रकम पठाइदिन्छौं भन्ने सूचना मोबाइलमा पठाउने गरेको छ ।

रकम पाउने लालसाकै कारण मानिस सजिलै लोभमा परी सूचनामा उल्लेख भएअनुरुप खातामा रकम हालिदिने गर्छन् । तर पछि आफू ठगीमा परेको थाहा पाएपछि त्यस्ता व्यक्तिले प्रहरीसमक्ष उजुरी गर्ने गरेका छन् ।

पीडितलाई पठाएको सूचनामा भएको मोबाइल नम्बरका आधारमा प्रहरीले खोजी प्रक्रिया शुरु गर्छ । विशेष गरेर ठगीमा धनी व्यक्ति नै संलग्न हुने गरेको तथ्यांक प्रहरी परिसरमा छ ।

परिसरको तथ्यांकअनुसार अनलाइन ठगी १० प्रतिशत, साधारण तथा वैदेशिक ठगी २० प्रतिशत र बैंकिङ ठगी ७० प्रतिशत छ ।

झन्झटिलो कानूनी प्रक्रिया

गिरोहसम्म पुग्न प्रविधिको अभाव त छ नै तर कानूनी प्रक्रिया झन्झटिलो भएका कारण गिरोहसम्म पुग्न थप कठिनाइ भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक शेखर खनालले बताउनुभयो ।

शुरुमा पीडित पक्षले प्रमाणसहित आएर उजुरी दिएको आधारमा सूचना लिन पाउँ भनी अदालतमा सरकारी वकिलमार्फत रिट दायर हुने गर्छ । सोही रिटका आधारमा अदालतले नेपाल टेलिकम, एनसेल सेन्टर र टेरेसा टेलिकमबाट सूचना पाउन स्वीकृति दिन्छ ।

अदालतबाट अनुमति पाइसकेपछि टेलिकमबाट लिएको तथ्यांकको आधारमा योजनाकारसम्म पुग्नेगर्छ । भारतसम्म पुगेर ठगीको मध्यस्तकर्तालाई पक्रन सके पनि प्रमुख योजनाकारसम्म भने प्रहरी पुग्न सकेको छैन ।

मोबाइल फोनबाट गिरोहलाई पक्रन सके पनि सामाजिक सञ्जालबाट हुने ठगीमा गिरोहलाई समात्न नेपालमा हालसम्म पनि प्रविधिको विकास भएको छैन ।

कानूनी प्रक्रिया पूरा गर्दासम्म गिरोहसमेत भागिसकेका हुन्छन् । प्रक्रिया पूरा गर्न मात्र प्रहरीलाई एक महिना समय लाग्ने गरेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको