प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहको भूमिकाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। सिंहदरबारमा आज बिहान आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता थापाले सुनसरीमा शान्ति सुरक्षा कायम गर्ने मामिलामा प्रधानमन्त्री शाह केवल सामाजिक सञ्जालको 'स्टाटस' मा मात्र सीमित भएको टिप्पणी गरेका हुन्।
‘यो बेलामा प्रधानमन्त्रीले रिच आउट गर्नु पर्दैन ? सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन? सबैको भएर सबैलाई जोडेर लैजाने प्रयास गर्नु पर्दैन ? गर्नुपर्छ भन्ने हामी ठान्छौँ’ उनले भने, ‘सरकार बन्दुकको गोली र लाठीमा मात्र भेटिनु हुँदैन। स्टाटसहरूमा मात्र सीमित रहनु हुँदैन। सरकार भनेको अभिभावक मात्र होइन, लिडर पनि हो। लिडरले कोलेबरेट गर्न सक्नुपर्छ। अरूलाई विश्वास गर्न सक्नुपर्छ। अनि अरूले पनि विश्वास गर्छ। यतिबेला प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउने हो, राष्ट्रपतिलाई भेट्ने हो, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने हो। आफूले गरिरहेका प्रयासका बारेमा बताउने हो। साझा प्रयासका लागि आधार पनि निर्माण गर्ने हो। भूकम्प र कोभिडका बेला दलहरूका बिचमा तनाव व्यापक थियो तर प्रधानमन्त्रीले बोलाउँदा सबै जना दौडिएर आएका थियौँ। यो नेपाली राजनीतिक दलहरूको क्यारेक्टर हो। नेपालका सबै प्रधानमन्त्रीहरूले अप्ठेरो पर्दा यो गर्दै आउनुभएको छ।’
सरकार नेतृत्वर्कता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज बिहान सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक बसेको थियो।
लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक राखेका हुन् । बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन तथा सांसद खुस्बु ओलीलगायत नेता सहभागी भएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस