Like us!
Follow us!
Connect us!
Watch us!

तन्नमदेखि भारतमा घर भएकासम्म छन् मन्त्री, डेड लाखको पलङमा सुत्छन् माओवादी मन्त्री, कसको कति सम्पत्ति ?

विहीबार, ३० मंसिर २०७३, ११ : ४० मा प्रकाशित

तन्नमदेखि भारतमा घर भएकासम्म छन् मन्त्री, डेड लाखको पलङमा सुत्छन् माओवादी मन्त्री, कसको कति सम्पत्ति ?

अर्थ संसार

काठमाडौं–पत्याउदै गाह्रो । हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहालको नाममा कुनै चलअचल सम्पत्ति छैन भन्दा कसले पत्याउला । सरकारले निर्णय गरेर ४ महिनापछि सार्बजनिक गरेको प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति देख्दा पत्याउने आधार देखिँदैन । नपत्याएर के गर्नु ? ।

प्रधानमन्त्री दाहालले  श्रीमती सीता दाहालका नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन रहेको उल्लेख गरेका छन् । उक्त सम्पत्ति प्रचण्डले पैत्रिक रुपमा प्राप्त गरेको बताएका छन् । 

प्रचण्डले सार्बजनिक गरेको सम्पत्ति विवरणलाई सामाजिक संजालमा नराम्रोसँग उडाइएको छ । केही दैनिक पत्रिकाले कार्टुन प्रकाशित गरेर प्रधानमन्त्रीको सम्पत्ति माथि ब्यंग्य गरेका छन् । नागरिक दैनिकले प्रधानमन्त्रीको सम्पत्ति हात्ती जस्तै भएको र उनी त्यही हात्तीमाथि चढेर सम्पत्तिका नाममा पुच्छर मात्र देखाएको कार्टुन प्रकाशन गरेको छ । 

अन्नपूर्ण पोस्टले प्रधानमन्त्रीको सम्पत्ति विवरण सुनेर सर्वसाधारण पेट मिचिचिची हाँसेको कार्टुन प्रकाशन गरेको छ । 

उपप्रधानमन्त्री निधिको सम्पत्ति अर्बमाथि  

उपप्रधानमन्त्रीहरुमा विमलेन्द्र निधिको सम्पत्ति हेरेर सबैले धेरैले जिब्रो टोकेका छन् । उनको नाममा सुन ६० तोला र चाँदी १५० तोला छ । उनीसँग नगद १० लाख ९६ हजार ८ सय २५ रुपैयाँ छ । जनकपुरका निधीको भक्तपुरको टुन्जेमा धेरै जग्गा देखिन्छ । उनले कटुञ्जेमा १२ लाख ५० हजारमा १ रोपनी जग्गा किनेका छन् । कटुञ्जेमै ६ आना जमीन १३ लाख ५० हजार रुपैयाँमा किनेको देखाएका छन् । सोही स्थानमा निधिका नाममा थप ३ आना जग्गा छ । त्यसको खरिद मूल्य ३ लाख ८० हजार रहेको विवरणमा उल्लेख छ । यस्तै त्यहीँ उनको नाममा रहेको थप ४ आना जमीन छ । 

 नीधिको नाममा धनुषा जिल्लाको नगराइनमा १९ विघा जमीन छ । निधिको नाममा विभिन्न बैंकमा करिब २९ लाख रुपैयाँ रहेको छ । गृहमन्त्री निधिले करिब १३ लाख ५० हजार रुपैयाँ विभिन्न व्यक्तिलाई सापट दिएका छन् । उनको २०५४ सालमा ७ लाख रुपैयाँमा किनेको निशान भ्यान छ । उनीसँग विभिन्न संस्थाको २ हजार १ सय ६० कित्ता साधारण शेयर पनि छ ।

अर्का करोडपति मन्त्री केसी

सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीको नगद सम्पत्ती कराड नाघेको छ ।  बैंकमा नगद डेढ करोड छ । उनकी श्रीमती प्रतिमाको नाममा गोंगबुमा घर छ । नुवाकोटमा केसीको आफ्नै नाममा घर छ ।यस्तै श्रीमती प्रतिमाका नाममा लितपुरको सैवुमा घर,  काठमाडौंको साङला, ललितपुरको हरिसिद्धीमा जग्गा छ । मन्त्री केसीसँग ५० तोला सुन र ५२५ तोला चाँदी छ । केसीकै नाममा विपि स्मृति समुदायिक अस्पतालमा २ लाखको शेयर छ । उनले ३० लाख ऋण दिएका छन् । 

मन्त्री बुढाथोकीको नामा जग्गैजग्गा 

केशवकुमार बुढाथोकी इलाम, झापा र काठमाडौंमा घर भएका करोडपति मन्त्री हुन् । सामान्य प्रशासनमन्त्री बुढाथोकीको इलाम र झापामा सयौं रोपनी जग्गा छ । उनीसँग ५० तोला सुन र ५०० तोला चाँदी छ ।  विभिन्न बैंकमा गरेर ५० लाख नगद छ । उनीसँग ३६ लाख पर्ने गाडी छ ।

अर्का जग्गावाल मन्त्री खाँड

रक्षामन्त्री बालकृष्ण खाँडसँग रुपेन्देहीको तिलोत्तमा र बुटबलमा गरी चार वटा र काठमाडौंमा घर छ ।

उनको श्रीमतीसमेतका नाममा तिलोत्तमा, बुटबल र ललितपुरको सैबुमा २२ कित्ता जग्गा छ । उनीसँग ४० तोला सुन, ६० तोला चाँदी र १० लाख नगद छ । उनले विभिन्न बैंकमा झण्डै २५ लाख बचत गरेका छन् । खाँडसँग दुई वटा गाडी पनि छ ।

थानी ऋणी मन्त्री 

सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीको सुर्खेतमा घरसहित विभिन्न चार ठाउँमा जग्गा छ । उनीसँग ६६ तोला सुन र ३ किलो चाँदी छ । विभिन्न बैंकमा गरेर २ लाख बढी बैंक ब्यालेन्स र ४ हजारको शेयर छ।

मन्त्री थानीले घरको तला थप्दा लिएको २० लाख रुपैयाँ ऋण तिर्न बाँकी छ । यस्तै नेपाल बैंकबाट ३० लाख ऋण लिएर सुर्खेतमा कलेजमा लगानी गरेका छन् । उनले आयल स्टोरमा समेत २५ प्रतिशत लगानी गरेका छन् ।हिराका हारका मालिक मन्त्री गिरी सिंचाई मन्त्री दीपक गिरीको काठमाडौं र दाङमा घर छन् । काठमाडौंको टोखा चण्डेश्वरीमा घर २ रोपनी ९ आना जग्गामा बनेको घर,  दाङमा दुई घर र ५ विगाहा २ कण्ठा १२ धुर जग्गा उनको नाममा छ ।

उनीसँग ५० तोला सुन र डेढ किलो चाँदी छ । हिराको गहनाका ३ सेट छन् । झण्डै चार लाख बैंक ब्यालेन्स छ । स्वर्गद्वारी क्रसर उद्योगमा १० प्रतिशत र योगी ब्रदर्स क्रसर उद्योगमा २५ प्रतिशत शेयर लगानी गरेका छन् । उनको स्कर्पियो गाडी पनि छ । ।

अर्की हिरावाल मन्त्री यादव 

शान्तिमन्त्री मन्त्री सीतादेवी यादवका नाममा सिराहामा एकतले पक्की घर र केही जमीन छ । उनीसँग ५३ तोला सुनका साथै हिराका ७ वटा औंठी छन् । उनको १३ लाख ऋण छ। उनले कार किन्न ऋण लिएकी हुन् । 

दुर्गमका अर्बपति मन्त्री शाही

पर्यटनमन्त्री जीवनबहादुर शाहीको हुम्लामा तीन वटा घर छन् । त्यस्तै हुम्ला र बाँकेमा सगोलको जग्गा छ । उनले काठमाडौंमा श्रीमतीको नाममा जग्गा किनेका छन् ।

उनीसँग ५७ तोला सुन, १ किलो चाँदी, विभिन्न बैंकमा ५५ लाख बचत छ । उनको चिलिमे, ज्योती विकास बैंक, माउन्ट कैलाश इनर्जी र कृषि विकास बैंकलगायतको ८ करोडभन्दा बढीको सेयर छ ।

हिरामणि मन्त्री जोशी 

उद्योगमन्त्री नविन्द्रराज जोशीको काठमाडौंमा घर र जग्गा छ । उनीसँग १ सय तोला सुन,  हिराका २ सेट, हिराका १६ औंठी र ६ वटा टप छन् । उनीसँग मणि २/२ सेट, मोतीको सेट २ थान, मोतिमा सुन जडेको ५ सेट, मुगाको माला ४ सेट छन् ।

मन्त्री जोशीसँग मणिकको चुरा २ सेट, मोती र मंगल सुत्र १ थान, झण्डै १८ लाख बैंक ब्यालेन्स विभिन्न बैंक तथा स्कुलमा सेयर छन् । उनीसँग भक्सवागन कार छ । 

थकाली मुस्ताङका जमिन्दार मन्त्री 

वाणिज्य मन्त्री रोमी गौचन थकालीसँग मुस्ताङमा ७० रोपनीभन्दा बढी जमीन छ । यस्तै काठमाडौँमा १४ आना घडेरी, ललितपुर सैँबुमा ८ आना जमीन, उनीसँग ७० तोला सुन, १० सेट हिराका गहना छन् ।

विभिन्न बैंकमा गरेर ८२ लाख बचत, २१ लाख बराबर शेयरमा लगानी छ। उनले आफन्तसँग ७० लाख ऋण सापटी लिएको र १२ लाख ऋण दिएको उल्लेख गरेका छन् । उनीसँग ५० लाखको एउटा कार, ७८ लाखको अर्को कार र २० लाखको अर्को गरी तिनवटा मोटर छन् ।

अर्का सेयरका धनी मन्त्री महत

परराष्ट्र मन्त्री महतका नाममा काठमाडौँमा ७ आनामा बनेको घर छ ।  झापामा ५ विघा ४ कट्ठा जमीन, इलाममा १० रोपनी जमीन, काठमाडौं चपलीमा २० आना जमीन छ । मन्त्री महतको गाउँघर नुवाकोटको कविलासमा ५० रोपनी जमिन र त्यसमा बनेको घर छ । उनले ८४ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् । उनीसँग एउटा कारसमेत छ ।

अर्का सुन मन्त्री 

वनमन्त्री शंकर भण्डारीको काठमाडौं र तनहुँमा घर छन् । ती दुवै ठाउँमा उनले जग्गा समेत जोडेका छन् । उनीसँग ४५ तोला सुन र ६० तोला चाँदी छ । बैंक तथा फाइनान्समा गरी साढे २ लाख बचत छ । 

पश्चिमका मन्त्री काठमाडौंका जमिन्दार लेखक 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको काठमाडौंस्थित चन्द्रागिरी नगरपालिकामा २ रोपनी जमीन छ  उनका नाममा कञ्चनपुर र वैतडीमा २० रोपनी जमीन छ । उनीसँग ३० तोला सुन, विभिन्न बैंकमा ८ लाख बचत, ११ सय कित्ता शेयर छ ।

भेडा पाल्ने मन्त्री गुरुङ

श्रममन्त्री सूर्यमान गुरुङको ताप्लेजुङ र काठमाडौंमा घर छन् । ताप्लेजुङमा २५ रोपनीभन्दा बढी जग्गा,  ७५ तोला सुन, २०० तोला चाँदी, २ सेट हिराका गहना, १० लाख बैंकमा नगद, १०० जति भेडा छन्। घर किन्दा लिएको ५ लाख ऋण छ ।  

 सेयरधनी मन्त्री थापा

स्वास्थ्यमन्त्री गगन थापाको परिवारका नाममा ४५ भन्दा बढी कम्पनीमा शेयर छ। उनको नाममा ९ हजार रुपैयाँ नगद छ । अरु सम्पत्ति श्रीमतीका नाममा छ । उनकी श्रीमती अन्जनाको नाममा २० लाख रुपैयाँ भन्दा बढी नगद छ । त्यस्तै १६ तोला सुन, २०० तोला चाँदी र हिराका केही गहना रहेको मन्त्री थापाले उल्लेख गरेका छन् । उनको काठमाडौंको रातोलुपमा घरजग्गा, सल्यान र सुनसरीमा जग्गा छ

 महरा गरिवमध्ये एक मन्त्री 

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराका नाममा रोल्पाको लिवाङ्ग ८ मा २ तले घर र १ तले गोठ छन् । उनको लिवाङमै ८ रोपनीको सुख्खा पाखो बारी र एभरेष्ट बैंकमा ८० हजार रुपैँया ब्यालेन्स छ ।

सुन थोरी भएका धनीराम

शिक्षा मन्त्री धनीराम पौडेलसँग चितवन माडीमा २ विघा जमिन, ५ तोला सुन, उनका नाममा विभिन्न बैंकमा करिब ४ लाख बचत, ५ लाख बराबरको शेयर छ ।उनको १ लाख ५० हजार ऋण छ । उनीसँग २ वटा भैंसी र २ वटा बाख्रा छन् ।

शेयरवाला माओवादी मन्त्री पाण्डे 

स्थानीय विकास मन्त्री हितराज पाण्डेसँग विभिन्न बैंकमा १३ लाख रुपैँया बचत छ । उनका नाममा १६ सय १४ कित्ता शेयर, गोरखा पालुङटारमा १० हजारमा खरिद गरेको १ रोपनी ३ आना जमीन, १६ रोपनी पैत्रिक पाखो जमीन छ । पाण्डेसँग ९ तोला सुन छ ।  उनले १० लाख ऋण सापटी दिएका छन् ।

भारतमा घर भएका माओवादी मन्त्री कार्की 

सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको श्रीमतीका नाममा सिक्किम र दार्जीलिङ्गमा घर जग्गा छन् ।  उनको र छोराको नामा २० लाख रुपैयाँ बैंकमा बचत छ । उनको १० तोला सुन  

अर्का सेयरधनी मन्त्री शर्मा 

उर्जामन्त्री जनार्दन शर्माकी श्रीमतीका नाममा १३ लाख लाख ६० हजार बैंक बचत छ । यस्तै श्रीमतीकै नाममा ५ हजार कित्ता शेयर छ । उनका तीन दाजुभाइका नाममा ६० लाख रुपैँया बराबरको सम्पत्ति छ ।

तराइका जमिन्दार माओवादी मन्त्री नायक 

कानुन मन्त्री अजय शंकर नायकसँग सिराहा वडमरामाल ६ मा सगोलमा ५ विघा ८ कट्ठा जमिन छ । उक्त जमिन उनको पैतृक सम्पत्ति हो । यस्तै सिराहा, धनुषा र उदयपुरमा थप ९ विघा पैत्रिक जमिन छ ।

धनमायासँग टन्नै नगद 

शिक्षा राज्यमन्त्री धनमाया विकको विभिन्न बैंकमा करिब ५८ लाख रुपैँया बचत छ । उनीका बाबुको नामा धनकुटामा ४५ रोपनी पाखो बारी छ । धनमायाका नाममा धनकुटा नगरपालिकामा ५ आना घडेरी र इटहरी नगरपालिकामा ६ धुर घडेरी छ । उनको १० तोला सुन छ । उनको डेड लाख रुपैयाँ पर्ने पलङ पनि छ । उनीसँग आइफोन, कम्प्युटर, दुई थान ल्यापटप, २ थान टिभी, चार थान दराज छन् । ति सबै बजार मूल्यभन्दा अस्वाभाविक रुपमा महंगोमा खरिद गरेकी छन् । 

कृषि फार्म चलाउने कृषि मन्त्री

कृषि राज्यमन्त्री राधिका तामाङ्गले काठमाडौं तारकेश्वरमा ४ आना जग्गा खरिद गरेर कृषि फार्म खोलेकी छिन् । यस्तै उनीसँग पाँच तोला सुन छ । जग्गा किन्दा र फार्म बनाउँदा उनलाई ९ लाख ऋण लागेको छ । 

ऋणी मन्त्री विश्वकर्मा 

युवा तथा खेलकुद मन्त्री दलजीत विश्वकर्माका नाममा रुकुममा पुख्र्यौली घरबारी रहेको छ । उनले दाङ घोराही नगरपालिकास्थित सुकुम्बासी बस्तीमा १५ कठ्ठा जमीन खरिद गरेका छन् । उनीसँग २ तोला सुन, बैंकहरुमा ११ हजार रुपैयाँ बचत छ । उनले विभिन्न व्यक्तिसँग १० लाख ऋण सापटी  लिएका छन् । उनले आफूसँग ५ हजार ५ सय पर्ने एक थान मोबाइल, ८ हजारको एउटा घडी, १२ हजार ५ सयको एउटा टीभी किनेको देखाएका  छन् । 

घरैघरका मालिक चौधरी 

कृषि मन्त्री गौरीशंकर चौधरीका नाममा कैलालीको बसौटीमा ४ वटा कच्ची घर, धनगढीमा २ वटा पक्की घर र २ कच्ची घर छन् । उनको ४ विघा ६७ धुर जमीन छ । उनीसँग पाँच तोला सुन, १० लाख रुपैँया बचत, २ थान मोटरसाइकल छन् ।

५ लाखका किताब किन्ने मन्त्री

स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जगेवुसँग पाँचथरमा करिब २२ लाख पर्ने ५३ रोपनी पाखो जमीन, इलाममा २० लाखको ४ आना घडेरी, पाँचथर फिदिममा करिब ५ करोड बराबरको जमीन र घडेरी छन् । उनीसँग १५ तोला सुन, बैंकमा ५ लाख ४० हजार बचतसमेत छ । उनले ५ लाख रुपैयाँका मार्क्सवादी दर्शनशास्त्र र राजनीतिक विषयवस्तुका किताब खरिद गरेका छन् । उनका १० वटा सुँगुर पनि छन् ।

सुनवाला राज्यमन्त्री भगत 

उर्जा राज्यमन्त्री सत्यनारायण भगतका नाममा करिब १ विघा जमीन, पुरानो जीप बेचेको ९ लाख रुपैयाँ र २१ तोला सुन छ ।

अर्का अर्बपति मन्त्री पाण्डे

विक्रम पाण्डेका नाममा काठमाडौंमा ११ रोपनीभन्दा बढी जग्गा छ । त्यस्तै चितवन र नवलपरासीमा करीव ३० बिघा जमिन छ । ती जग्गा करीव १० करोडमा खरिद गरेका हुन् ।उनको एक सय तोला सुन, प्राइम, ग्लोबल, रेष्टलगायतका बैंकमा करीव ७ करोडको शेयर लगानी छ ।

त्यस्तै कालिका पावर, कालिका इनर्जी र कालिका कन्सट्रक्सन कम्पनीमा २७ करोड रुपैयाँको शेयर रहेको पाण्डेले सम्पत्ति विवरण बुझाएका छन । मन्त्री पाण्डेले करीव ४३ करोड रुपैयाँ ऋण रहेको देखाएका छन् । 

बैंक खातामै करोडौं भएका बोहोरा

अर्का मन्त्री दीपक बोहोरा दम्पत्तीका बैंक खातामा डेढ करोडभन्दा बढी नगद छ । उनीसँग १५ लाख रुपैयाँ साथमै हुन्छ । उनको काठमाडौं काभ्रे लगायतका ठाउँमा करीव ४ करोडको जग्गा जमिन, सुनका गहना १ सय २० तोला र हिराका गहना तीन सेट छ ।

यस्तै बैंक अफ काठमाडौंमा मेजर शेयरसहित विभिन्न बैंक तथा वित्तीय र व्यवसायिक संस्थामा बोहोराको ६ करोड भन्दा बढीको शेयर छ ।

यो पनि पढ्नुहोस्

उद्योगमन्त्री र राज्यमन्त्री पालैपालो उद्योग विभागमा बस्ने​

यौन र मदिरा विवादमा ट्याक्सी चालकको हत्या

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको