Like us!
Follow us!
Connect us!
Watch us!

५३ मेगावाटको मध्य कालीगण्डकी निर्माणको तयारी, १२ अर्ब लाग्ने

मंगलबार, २७ चैत्र २०७४, ०८ : ०८ मा प्रकाशित

५३ मेगावाटको मध्य कालीगण्डकी निर्माणको तयारी,  १२ अर्ब लाग्ने

अर्थ संसार, बाबियाचौर–म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ ।

हाइड्रो सपोर्ट प्रालि काठमाडौँले कालीगण्डकी नदीमा आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयार पार्नका लागि आयोजनाले सोमबार अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सार्वजनिक सुनुवाइ गरेको थियो ।

अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा बाँध रहने आयोजनाको विद्युत्गृह सोही पालिकाको २ नम्बर वडामा पर्ने ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको जानकारी गराइएको थियो । चार हजार १०० मिटर सुरुङ रहने आयोजनाको विद्युत्गृहदेखि फोरबेको उचाइ ११५ मिटर हुने जनाइएको छ ।

प्रतिवेदन तयार पारेर स्वीकृत भएपछि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरी विद्युत् विकास विभागले पूर्वाधार निर्माणको अनुमति दिने प्रक्रिया रहेको छ । लगानीको स्रोत जुटाएर आगामी डेढ वर्षभित्रमा पूर्वाधार निर्माणको चरणमा प्रवेश गर्ने तयारी भएको आयोजनाका प्रमुख चन्द्र ढकालले बताउनुभयो ।

ढकालले करीब  १२ अर्ब लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकको रुपमा लगानीका लागि प्रभावित क्षेत्रका लगानीकर्तालाई समेत आह्वान गर्नुभएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई पब्लिक शेयरको समेत सुविधा दिइने भएको छ ।

सार्वजनिक सुनुवाइमा सहभागीले कालीगण्डकी किनारमा अवस्थित पर्यटकीय महत्वको तातोपानी कुण्डलाई असर नपुग्ने गरी आयोजना निर्माण गर्न सुझाव दिएका वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो । भूगर्भविद्ले गरेको अध्ययनअनुसार जलविद्युत् आयोजना बनाउँदा तातोपानीको मुहानलाई असर नगर्ने जानकारी गराइएको थियो । अन्नपूर्ण गाउँपालिकामा हाल पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।

४ नम्बर वडामा पर्ने नारच्याङमा ४२ मेगावाटको नीलगिरि र ६२ मेगावाटको नीलगिरि क्यासकेट जलविद्युत् आयोजना निर्माणका लागि सडक निर्माणको काम भइरहेको छ । ३ नम्बर वडा दानामा सव स्टेशन र त्यहाँदेखि पर्वतको कुश्मासम्म विद्युत् प्रशारण लाइन निर्माणको काम तीव्ररुपमा अघि बढेको छ । प्रशारण लाइन र सवस्टेशन निर्माणसँगै जलविद्युत् आयोजना निर्माण कार्यले तीव्रता पाएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको