बुधबार, ३१ असोज २०७५, ०७ : ४२
तटिय क्षेत्रको संरक्षणमा ध्यान नपुग्दा वन्यजन्तु जोखिममा
बुधबार, १९ बैशाख २०७५

– नारायण ढुंगाना 
अर्थ संसार, रत्ननगर, चितवन – माथिल्लो तटिय क्षेत्रको संरक्षणमा ध्यान नपुग्दा चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन्यजन्तुमाथि जोखिम बढेको छ । विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो संरक्षित क्षेत्र हो । 

वन्यजन्तुको संख्यामा वृद्धि, जलवायु परिवर्तन, वासस्थान क्षेत्रमा आएको उतार, चढाब, बाढीपहिरो र कटानले संरक्षित क्षेत्र प्रभावित बन्दै आए पनि यसको दायरा फराकिलो बनाउनेतर्फ कसैको ध्यान पुग्न सकेको छैन । 

‘वन्यजन्तुको अस्तित्व जोगाउन निकुञ्ज मात्रै पर्याप्त हुन्न, माथिल्लो तटिए क्षेत्र जोगाउनु उत्तीकै महत्वपूर्ण छ,’ चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल भन्नुहुन्छ, “अब यसतर्फ ध्यान नपुगे अवस्था प्रतिकूल हुनसक्छ ।” दिगो संरक्षणका लागि मुहान क्षेत्रका समुदायलाई समेत संरक्षणमा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याउनुहुन्छ, प्रमुख ढकाल । 

पछिल्ला समयमा चोरी शिकारका घटनाभन्दा अन्य कारणले वन्यजन्तु क्षतिको क्रम बढ्नुमा पनि कतै न कतै यी कुरा जोडिएका वन्यजन्तु विज्ञ बताउँछन् । वन्यजन्तुको चाप थेग्नका लागि वैकल्पिक बासस्थान बनाउनुपर्ने, संरक्षित क्षेत्रको दायरा फराकिलो पार्नुपर्ने र भइरहेको क्षेत्र जोगाउनुपर्ने संरक्षणकर्मीको जोड छ । चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि वन्यजन्तुको उपचारमा संलग्न वरिष्ठ पशु चिकित्सक डा कमल गैरे जँुधेर वन्यजन्तु मर्ने क्रम बढ्नुले पनि यसतर्फ गम्भीर हुनुपर्ने अवस्था आएको बताउनुहुन्छ । 

उहाँका अनुसार पछिल्लो चैत र वैशाख महिनामा मात्रै जुधेर चारवटा बाघ मरेको छ । अघिल्लो हप्ता सौराहास्थित राप्ती नदीमा मरेको बाघको प्रकृति हेर्दा आहाराका लागि संघर्ष गरेको निष्कर्ष डा गैरेको छ । अर्को कारण भनेको बाढीले बासस्थान प्रभावित बनाएकाले टेरिटोरी क्षेत्र मेन्टेन गर्न जाँदा बाघ जुधेर मरेको हुनसक्ने गैरेको अनुमान छ । 

अर्को एउटा बाघ कुहिएको अवस्थामा मरेकाले यकिन कारण नभए पनि जुधेकै आशंका छ । गैँडा पनि पटक÷पटक जुधेर मरेको घटना छ । मानवीय बस्तीमा वन्यजन्तु पसेर क्षति पुर्याउने क्रम पनि जारी छ । यसरी बाघ, गैँंडा जुधेर मर्नुमा बाढीले बासस्थानमा असर गर्नु, संख्यामा वृद्धि हुनु, आहारा प्रजाति कम हुनु र मुहान क्षेत्र जोगिन नसक्नु लगायत कारण रहेको डा गैरे बताउनुहुन्छ । 

विसं २०२९ मा बनाएको निकुञ्ज ऐनअनुसार यहाँको संरक्षित क्षेत्र ९३२ वर्गकिलोमिटर थियो । पछि पुरानो पदमपुर क्षेत्र समेटेर अहिले ९५३ वर्ग किलोमिटरमा क्षेत्र विस्तार भएको छ । चितवन निकुञ्जले कति वन्यजन्तु थेग्न सक्छ भन्ने वास्तविक अध्ययन नभए पनि आन्तरिक व्यवस्थापन चुस्त पार्दै जोडिएका क्षेत्र र माथिल्लो तटिय क्षेत्र जोगाउन सके क्षति कम हुनेछ । 

पहिले सुख्खा हुने वरण्डाभार क्षेत्र पनि अहिले वन्यजन्तुको महत्वपूर्ण बासस्थान बन्न पुगेको छ । अब वरण्डाभार क्षेत्रभन्दा अझ माथिल्लो भागलाई समेटेर संरक्षणका कार्यक्रम अघि बढाउनु जरुरी रहेको बाघ विज्ञ डा चिरञ्जीवी पोखरेल बताउनुहुन्छ । 

निकुञ्ज र वरण्डाभार क्षेत्रभन्दा बाहिर पनि समुदायसँग सहकार्य गरेर नयाँ मोडलको संरक्षित क्षेत्र जरुरी रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । चुरे तथा महाभारत जोड्ने क्षेत्रलाई जोगाउनतर्फ ध्यान जानुपर्छ । चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठक टिकौली जस्तै पूर्वी क्षेत्रमा रहेका एक दुईवटा कोरिडोर क्षेत्र खुलाउनु अति आवश्यक भएको बताउनुहुन्छ । 

“एक चरणमा जनप्रतिनिधिसँग समेत छलफल गरिएको छ, त्यस्ता कोरिडोर बढाउन पाए वन्यजन्तुको क्षेत्र विस्तार हुन्छ”, पाठकले भन्नुभयो । निकुञ्जको मुहान क्षेत्र, जैविक मार्ग तथा जोडिएका क्षेत्रको संरक्षणमा राम्ररी ध्यान नपुग्दा पनि बेलाबेलामा आउने बाढी पहिरोले संरक्षित क्षेत्रमा ठूलो असर गरिरहेको छ । 

गएको वर्ष साउन २८ मा आएको बाढीमा टनका टन फोहर बगाएर निकुञ्जमा थुपारेको, जसकारण बासस्थानमा असर गर्दा वन्यजन्तुले स्थान परिवर्तन गर्न खोज्दा जुध्ने क्रम बढेको अनुमान गरिएको छ । बाढीले गैँंडासहित दर्जनांै वन्यजन्तु बगायो । केहीलाई भारतबाट उद्धार गरिए पनि सयांसइयै वन्यजन्तु मरे । वन्यजन्तु आपसमा जुधेर मर्नुका पछाडि बाढीले बासस्थान नाश गर्नु एउटा महत्वपूर्ण कारण भएको बाघ संरक्षण उपसमिति रत्ननगरका संयोजक जीतु तामाङको भनाई छ । 

पहाडी भेगमा बनेका भौतिक पूर्वाधार र सडकले डाँडाकाँडा नाङ्गा भएका छन् । ‘रुख बिरुवा रोप्नेतर्फ कसैको ध्यान नपुगेको देखिन्छ’, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त प्रमुख रामकुमार अर्याल भन्नुहुन्छ, “अब त्यसतर्फ ध्यान दिएन भने जोखिम बढ्नसक्छ ।” 

सोही कुरालाई दृष्टिगत गरी कोषले अहिले चितवनको पहाडी क्षेत्र अजिंगरे, कङ्काली, थाङखोलालगायत क्षेत्रलाई समेटेर संरक्षण कार्य अगाडि बढाइ स्थानीयवासीलाई वनमा आश्रित हुनबाट जोगाएर वैकल्पिक आयआर्जनमा सहभागी गराएको प्रमुख अर्यालको दाबी छ । तर यति मात्रै पर्याप्त छैन । ठूलै परियोजना सञ्चालन गरेर बोट बिरुवा लगाउँदै वन्यजन्तुको बासस्थान बनाउनतर्फ जोड दिनुपर्ने आवश्यकता देखिएको छ । रासस

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved