Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिकमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन

बुधबार, २६ बैशाख २०७५, १० : २० मा प्रकाशित

सामुदायिकमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन

अर्थ संसार, बैतडी– सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर बन्द हुने अवस्थामा पुगेपछि बैतडीका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका छन् । 

अंग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जान थालेपछि सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका हुन् । 

जिल्लाको दोगडाकेदार गाउँपालिकामा पनि शैक्षिक सत्र २०७५ देखि केही विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको छ । दोगडाकेदार गाउँपालिकाको वडा नं ३, श्रीकोटमा रहेका दुई सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको हो । 

खोचलेकमा रहेको सनातन धर्म मावि र खिरेगाउँमा रहेको केदारनाथ आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएको सम्बन्धित विद्यालयले जनाएका छन् । सनातन धर्म मावि, खोचलेकमा कक्षा १ देखि ३ सम्म र केदारनाथ आधारभूत विद्यालयमा बालविकास र कक्षा १ मा यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको हो । 

आधुनिक युग सुहाउँदो शिक्षाको आवश्यकता रहेकाले अंग्रेजी भाषाको पठनपाठन शुरु गरिएको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो । समयानुकूल शिक्षा प्रदान गर्नका लागि अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको उहाँले बताउनुभयो । 

यस्तै, गत शैक्षिक सत्रसम्ममा विद्यार्थी संख्या न्यून भएको केदारनाथ आधारभूत विद्यालयमा विद्यार्थीको संख्या बढाउन अंग्रेजी माध्यमबाट पठनपाठन गरेको प्रधानाध्यापक शंकरराम ओडले जानकारी दिनुभयो । 

सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन अंग्रेजी माध्यमबाट पढाइ गर्दा विद्यार्थी संख्या बढ्ने उहाँको भनाइ रहेको छ । सनातन धर्म मावि विसं २०१७ मा स्थापना भएको हो भने केदारनाथ आधारभूत विद्यालय विसं २०४३ मा स्थापना गरिएको हो । पछिल्लो समय देखासिकीको आधारमा निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो र बसाइँ सरेर तराई जानेक्रम बढी भएकाले पनि सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएका छन् । 

बैतडीका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर विद्यार्थीको संख्या घट्दै गएको छ । सरकारले अर्बौं रुपैयाँ लगानी तथा खर्च गरेर सामुदायिक विद्यालय सञ्चालन गरिरहे पनि स्तर घट्दै गएकाले पढाइको गुणस्तरमा सुधार ल्याउन आवश्यक रहेको जानकारको भनाइ रहेको छ । 

सामुदायिक विद्यालयको स्तर खस्किँदै गएपछि विद्यार्थीको आकर्षण निजी विद्यालयमा आकर्षित हुन थालेको छ । पढाइ पनि गुणस्तरीय हुने भन्दै अभिभावकको रोजाइ निजी विद्यालयमा जान थालेको हो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको