Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार बनायो ‘ब्युटी पार्लर’ले

बुधबार, २६ बैशाख २०७५, १६ : ४१ मा प्रकाशित

स्वरोजगार बनायो ‘ब्युटी पार्लर’ले

सुरेन्द्र भण्डारी

अर्थ संसार, सुरुङगा, झापा– नेपाली समाजमा नक्कल पार्ने व्यवसायका रूपमा हेरिएको ‘ब्युटी पार्लर’ सौन्दर्य प्रशाधन व्यवसाय अहिले महिलाको आम्दानीको राम्रो स्रोत बन्न पुगेको छ ।

यस व्यवसायबाट महिलाले मनग्य आम्दानी हुने देखेपछि पछिल्लो समय जिल्लामा ब्युटी पार्लर व्यवसाय गर्ने महिलाको संख्या बढ्दै गएको छ । ‘ब्युटी पार्लर’ व्यवसाय सञ्चालन गरेर अहिले झण्डै पाँच हजार महिला स्वरोजगार बनेका छन् ।

उनीहरु दैनिक न्यूनतम् रु पाँच हजार आम्दानी गर्न सफल भएका छन् । भद्रपुरमा श्रद्धा ‘ब्युटी पार्लर’सञ्चालन गरिरहनु भएकी सरस्वती लिम्बूले अहिले घरखर्च मात्र चलाउनुभएको छैन, उहाँले आफ्ना छोराछोरीलाई काठमाडौँमा नाम चलेका बोर्डिङमा पढाउँदै हुनुहुन्छ ।

पच्चीस वर्षअघिदेखि ‘ब्युटी पार्लर’ सञ्चालन गर्नुभएको उहाँले शुरुका दिनमा एक÷दुई सय रुपैयाँ मात्र आम्दानी गरेपनि अहिले दैनिक रु पाँच हजारसम्म कमाउँदै हुनुहुन्छ ।

लिम्बूले भन्नुभयो– “शुरु–शुरुमा यस व्यवसायमा कमाइ हुँदैन थियो, विस्तारै कमाइ हुन थालेको छ । अहिले यस व्यवसायबाट म सन्तुष्ट छु ।” उहाँले ब्युटी पार्लर व्यवसाय सञ्चालन गरेर मासिक रु एक लाख ५० हजारसम्म आम्दानी गरिरहनुभएको छ

यस्तै, विर्तामोडमा ‘लिफन ब्युटी पार्लर’ की सञ्चालिका आशा शर्मा लिम्बूले विगत दश वर्षदेखि यही व्यवसाय अगाल्नुभएको छ । यस व्यवसायबाटै उहाँले अहिले दैनिक रु पाँच हजारभन्दा बढी आम्दानी गर्दैआउनुभएको छ ।

“एउटा याममा रु २० हजारसम्म कमाइ हुन्छ,” उहाँले भन्नुभयो । आफूले ब्युटी पार्लर व्यवसाय शुरु गर्दा त्यत्ति प्रतिस्पर्धा नभए पनि अहिले तीव्र प्रतिस्पर्धा भइरहेको शर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “यस पेशाप्रति आकर्षण बढ्दै गएको छ ।”

ब्युटी पार्लर सम्बन्धी तालीम लिएर व्यवसाय शुरु गरेको शर्माको भनाइ छ । उहाँ अहिले झापा प्राविधिक शिक्षालयमा प्रशिक्षकको समेत काम गर्दै आउनुभएको छ । ब्युटी पार्लर व्यवसाय स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले तालीम लिएर दक्षता हासिल गरेर प्रवेश गर्नु उचित हुने शर्मा बताउनुहुन्छ ।

बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा ब्युटी पार्लर सञ्चालन गर्दैआउनुभएका भीमा बस्नेतले आफू स्वरोजगार बन्दै अरुलाई समेत रोजगार दिलाउनुभएको छ । उहाँले बुधबारेमा सरस्वती ब्युटी पार्लर सञ्चालन गरेको दश वर्ष भएको छ । उहाँको पनि कमाइ अरुको भन्दा कम छैन । उहाँ भन्नुहुन्छ– “अहिले रु पाँच हजारसम्म दैनिक कमाइ हुने गरेको छ । घरखर्च ब्युटी पार्लर व्यवसायबाटै चलेको छ, श्रीमान्को कमाइको भर पर्नु परेको छैन ।”

शुरुमा आफैंलाई मात्र काम लाग्ला भनेर शुरु गरेको उहाँको व्यवसाय अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । सुन्दरता हरेक मानवको रुचिको विषय हो । हरेक मानिस आकर्षक देखिन चाहन्छ । तसर्थ महिला स्वरोजगारको गतिलो माध्यम बनेको यस व्यवसायमा आवद्ध महिलालाई थप दक्षताका लागि सीप र तालीम प्रदान गर्न सके स्वदेशमै महिलाले मनग्य आम्दानी गर्न सक्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको