सविता सापकोटा
काठमाडौँ–देशका युवा रोजगारीका लागि विदेश होमिने क्रम बढ्दो छ । पढेर भनेजस्तो जागिर नपाउँदा दिनहुँ हजारौँको संख्यामा युवाहरु विदेशिएको खबर सुन्नमा आउँछ । विदेश गएर भाँडै माझ्न परे पनि तयार हुने युवाहरु स्वदेशमा काम गर्न अल्छि मान्छन् भन्ने गुनासो धेरैबाट सुनिन्छ । के साच्चै देशमा अवसर छैन् त ?
बाटोमा हिड्दै गर्दा मेरो नजर नरिवल बेचिरहेका एक बालकमा पर्यो । उनको कालो वर्णलाई टुक्रा पारेर बेच्न राखेको सेतो नरिवलको भागले टल्काईरहेको थियो । उनी काठमाडौँको भद्रकालीनजिकको सडक गल्लिमा सिङ्गो नरिवलको पानी र टुक्रा पारेर नरिवल बेच्दै थिए । उनको नाम भोला चौधारी हो । बाबाआमाको न्यानो काखमा बस्ने समयमा उनी टोकरीमा नरिवल बेचिरहेका छन् ।
पढ्न भनि आफ्नो बीरगञ्ज नजिकको गाउँ छोडेर राजधानी आएका उनी भोटेबहालमा आफ्नो ठूलोबाबा ठूलोममीसँग बस्छन् । १२ वर्षोय चौधारी पिपलबोटको नेपाल आर्दश बिद्यालयमा ४ कक्षामा पढ्छन् । बिहान ९ बजेदेखि ३ बजेसम्म उनी स्कुल जान्छन् । स्कुलबाट फर्किएपछि बेलुकी ५ बजेसम्म उनी नरिवल बेच्ने गर्छन । कहिलेकाही नरिवल बेच्नका लागि उनी स्कुल नै जादैँनन् ।
अचानक मलाई मेरो बाल्यकालको याद आयो । १२ वर्षको उमेरमा म स्कुल गएर कहिलेकाही खाजा दिन ढिला हुदाँ आमासँग झगडा गर्थें । स्कुलबाट आएर एकछिन् खेलेपछि होमवर्क गर्थें । आफ्नो खुट्टासमेत आफै धुन सक्दिनथे ।
उनको खल्तिमा रहेको पैसामा मेरो नजर अड्कियो । सय, पचास, बिस, दश र पाँचको नोटले उनको खोजी भरिएको थियो । ‘दिनभर नरिवल बेच्दा एकदिनमा ४ सयदेखि ५ सय रुपैयाको व्यापार हुन्छ,’ आफ्नो गोजी छाम्दै उनले मिठो मुस्कानसहित भने ।
झापादेखि आउने नरिवल उनका ठूलोबाबाले बिहानै बल्खु पुगेर ल्याउने गर्छन् । पहिले उनका दाजुले त्यही ठाउँमा नरिवल बेच्थे । केही दिनका लागि दाजु बाहिर गएकाले उनको काम आफूले समाल्दै आएको उनले बताए । दाजु हुदाँ उनी स्कुलबाट फर्किएपछि त्यही ठाउँमा उनलाई सघाउन आउँथे । दिनभरमा उनी ८ देखि १० वटा नरिवल बेच्ने गर्छन् । ३५ रुपैयामा किनेर ल्याउने एउटा नरिवल काटेर बेच्दा ५० रुपैया आउँछ ।
सडकको छेउमा बसेर बेच्दा कहिलेकाही नगरपालिकाका कर्मचारी आएर दुःख दिने गरेको गुनासो उनले गरे । आफू सानो भएकाले केही ग्राहकले थर्काएर पैसा कम दिने गरेको गुनासोसमेत उनको थियो । ‘सडकको छेउमा बसेर नरिवल बेच्दा लाज लाग्दैन’ भनी सोध्दा उनले ‘काम गरेर खान केको लाज’ भने । बेल्ुकी घर फर्केर उनले आफ्नो गृहकार्य गर्छन् भने कहिले गृहकार्य गर्न नभ्याउँदा त्यतिकै स्कुल जान्छन् ।
भ्विष्यमा के बन्ने योजना छ ? भनेर सोध्दा भने उनी केही बोलेनन् ।कुनै पनि काम आफैमा सानो ठूलो हुदैँन । तर यसरी सडकको छेउमा बसेर व्यापार गर्ने बुढाबुढी र अल्लि परिपक्व उमेरका मानिसहरु धेरै देखिन्छन् । स्कुल पढ्ने उमेरमा यसरी आयआर्जन गर्न लागेका बालकको भविष्य भोलिको दिनमा कस्तो होला ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस