शुक्रबार, २८ मङि्सर २०७५, १७ : ३२
‘पार्टीले ठाडो अन्याय गर्दा झोक चलेको छ’
मङ्गलबार, २२ जेठ २०७५

सरल सहयात्री- अध्यक्ष. जनसाँस्कृति महासंघ नेपाल

सरल सहयात्री, जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर युद्धमैदानमा बिताए । अनेक उल्झनसँगै आरोह/अवरोहकाबीच उनको संघर्षमय राजनीतिक जीवनयात्रा अघि बढ्यो ।

२०४८ सालमा सिन्धुपाल्चोकको मानेश्वाँरामा गठित बाल संगठनमा संगठित भएर राजनीतिक जीवन सुरु गरेका उनी २०४९ सालमा तत्काल अखिल छैठौंको जिल्ला सदस्य भए । २०५५ सालमा अखिल क्रान्तिकारीमा आवद्ध भएपछि उनी तत्कालिन माओवादीद्वारा सञ्चालित जनयुद्धमा होमिए । २०५७ सालमा जनमुक्ति सेनाको सिपाहीहुँदै उनले राजनैतिक कमिसार र ब्रिगेड कमाण्डरसम्मको जिम्मेवारी कुशलापूर्वक सम्हाले ।

जनयुद्धका क्रममा भएका विभिन्न दोहोरो भीडन्तमा परी उनी चारपटक गम्भीरभन्दा गम्भीर घाइते भए । जनयुद्धकै क्रममा उनले आफ्ना दाजु शम्भु पौडेल र बहिनी रिता पौडेललाई गुमाउनुपर्यो । तत्काली शाही सेनाले घरमा अन्धाधुन्ध गोलीबारुद बर्साउँदा भाउजू गम्भीर घाइते भइन् । यसरी अतिविषम परिस्थितिका बीच राजनीतिक आन्दोलनमा निरन्तर सक्रिय सरल सहयात्री २०७० सालको संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यको उम्मेदवार भए ।

तर, उनी त्यतिबेला थोरैमतान्तरले पराजित हुन पुगे । अहिले उनी जनसाँस्कृति महासंघ नेपालको अध्यक्षको जिम्मेवारीमा रहेर राजनीतिक भूमिका निर्वाह गरिरहेका छन् । स्पष्टवक्ता र युवामा उर्जा भर्न माहिर उनी अहिले पनि भूगोलको राजनीतिमा उत्तिकै सक्रिय छन् । राजनीतिक परिवर्तनकै लागि आफ्नो निजी जीवन समर्पण गरेर लागिपरेका युवा नेता सरल सहयात्रीसँगको संक्षिप्त कुराकानीः


 एमाले–माओवादी एकताबारे तपाईं के भन्नु हुन्छ ?

नेपालको सन्दर्भमा यो एकता असाध्य जरुरी थियो । एउटा अवस्था थियो, जतिबेला नेपालमा सामन्तवादको अभेद्य मानिएको किल्लारुपि राजतन्त्र अस्तित्वमा थियो । त्यसले मूलतः राष्ट्रिय पुँजीवादको विकासलाईरोकेको थियो । बहुदलीय व्यवस्थामार्फत प्रणाली बदलिएपनि राजनैतिक दलहरु राजतन्त्रको एक प्रशासक जस्ता कमजोर सावित भएका थिए । जनताको राजनैतिक चेतनास्तर कमजोर थियो ।

संसारमा समाजवादी व्यवस्था कमजोर अवस्थामा पुग्दै गर्दा कम्युनिष्ट आन्दोलनलाई बचाउँने र अगाडि बढाउने सिद्धान्तअनुरुप कमरेड मदन भण्डारीको नेतृत्वमा तत्कालिन नेकपा (एमाले)ले जनताको बहुदलीय जनवादी कार्यक्रम अगाडि ल्यायो । र त्यही परिवेशमा ‘नौलो जनवादको स्थापना गर्नसामन्तवादी सत्तालाइ समुल नष्ट नगरी सम्भव छैन’ भन्दै कमरेड प्रचण्डको नेतृत्वमा तत्कालिन नेकपा (माओवादी)ले जनयुद्धको थालनी ग¥यो ।

समग्र कम्युनिष्ट आन्दोलनको विश्व अवस्था र नेपालकै परिवेशलाइ हेर्दा ती दुवै असम्भव प्रयास जस्ता लाग्थे । आफ्ना सिद्धान्त स्थापित गर्नका निम्ति एक अर्काको कटु आलोचकको रुपमा अगाडि देखा परे पनि आज साबित भएको छ कि ती दुवै पार्टीको उद्देश्य नेपालमा सामन्तवादको अन्त्य गरी समाजवादतिर अगाडिबढ्नु थियो। त्यसकारण दुवै कम्युनिष्ट पार्टीले लिने उद्देश्य अन्ततः एकै हुने सन्दर्भमा एकता अत्यन्त जरुरी थियो । त्यसको लागि दुवै पार्टीका  शीर्षस्थ नेताहरुलाई धन्यवाद दिनुपर्छ ।

 हिजो कटाक्ष गरेका नेताहरू आज एउटै पार्टीको हुनु भएको छ । कस्तो अनुभूति हुँदोरहेछ ?
    
म त लामो समय लालसेनाको रुपमा आफ्नो राजनैतिक संघर्ष गुजारेको व्यक्ति हुँ । म मारामारको युद्धमा सहभागी भएँ । सम्भवतः मेरो कारणले मैले चिन्दै नचिनेका तत्कालिन सरकारका सिपाहीहरूको रगत बग्यो होला र उनीहरूले नचिनेको मैले पनि झण्डै आधा दर्जन पटक बमको छर्रा र गोलीका पर्राले छेडिनु पर्यो ।

न मेरो ती सरकारी सिपाहीहरूसँग व्यक्तिगत दुश्मनी थियो न तिनीहरुको मसँग ! हामी देशलाइ प्रगतिको मार्गमा अगाडि बढाउन यथास्थितिवादी शासकका विरुद्ध लडेका थियौं र तत्कालिन सरकारलाई त्यो गलत लागेकोले आफ्नो संयन्त्र परिचालन गरेको थियो । शान्ति प्रक्रिया शुरु भयो । सम्भवतः सरकारका अन्य निकायहरु भन्दा प्रहरी÷सेनाका जुनियर कमाण्डर र सिपाहीहरुसँग निकै छिटो हाम्रो भावनात्मक सम्बन्ध गाँसिन पुग्यो । किनभने हाम्रो दुख र भावना एकै खालको थियो, तर मिसन फरक । जब मिसन उस्तै जस्तो हुन पुग्यो हामी छिटो मित्र भयौं ।

एमाले–माओवादीको कटाक्ष भने पनि बहस भनेपनि हाम्रो व्यक्तिगत अंशवण्डाको लागि थिएन । तत्कालिन एमालेलाईमाओवादीको बाटो ठीक लागेको थिएन होला र माओवादीलाई एमालेको बाटो ठीक लागेको थिएन । आफ्नो सिद्धान्त र उद्देश्यलाई पुष्टी गर्न भएको विवादहरु थिए ति सबै । आज हामी एउटै नदीमा समाहित भइसकेका छौं त त्यो कसरी फरक हुन सक्छ ? अलिक दूरीसम्म दुई नदी मिसिएपनि फरक जस्ता देखिन सक्ला र दुई किनारा समातेर बग्न सक्ला तर अन्ततः एकै नदी बनेर बग्नुमा नदीलाई पनि समस्या हुँदैन । हामीलाई पनि ।

एमाले–माओवादी एकताविचारको नभई सत्ता स्वार्थको कारण मात्रै भएको भनेर टिप्पणी पनि हुने गरेको छ नि !

कतिपय कम्युनिष्ट पार्टीहरु अझै छन् नेपालमा, जो माक्र्सवादलाई चण्डीपाठ घोकेझैं गरेर घोक्नुमा विचारको सम्मान भएको ठान्छन् । पार्टी, संगठन, राजनैतिक सत्ता यी सारा विषय उनीहरुको कार्यसूचीको असाध्य माइनर विषय हुन पुग्छन् । त्यसको अर्थ आज हामी जहाँ छौं, सम्पूर्ण रुपले माक्र्सवादी मार्गमा अविचलित छौं र हामी नै सच्चा कम्युनिष्ट हौं भन्ने होइन ।

आंशिक सत्य के छ भने आजकै कुरा गर्ने हो भने दुइ ठूला कम्युनिष्ट पार्टीहरुआफ्नो राजनैतिक मार्गमा सफल देखिएका हुन् । तर माक्र्सवादले घोषणा गरेका सैद्धान्तिक मार्गमा चाहिं छन् कि छैनन् भनेर शंका गर्न सकिने धेरै ठूला ठाउँहरु संगै छ । यद्यपि आज नेकपाको मार्ग उद्देश्यको आधा बाटोमा यात्रारत छ । यो पनि स्पष्ट छ कि, यात्रा उद्देश्यको दिशातिर नै लम्केको छ । आजै हामी निक्र्योल गरिहाल्न सक्ने अवस्थामा छैनौं कि, यो वैज्ञानिक समाजवादको मार्गमा पुग्छ कि पुग्दैन भनेर । हामी सबै मिलेर कोशिस गर्नुपर्छ, यो पार्टीलाई वैज्ञानिक समाजवादको मार्गमा पुर्याउनको लागि । तर चिन्ताजनक विषय सिद्धान्तको छैन । हामीसँग विकास भइरहेको गैरकम्युनिष्ट चरित्रको छ । चिन्तनशैलीको छ ।

नजानिँदो पाराले पुँजीवादले श्रृजना गरेको उपभोक्तावादतिरको यात्राको छ । यो कोणवाट विश्लेषण गर्ने हो भने सिद्धान्तमा कतै गडबडी भैरहेको त छैन ? भनेर गम्भीरर प्रश्न गर्ने ठाउँ छ । किनकी सिद्धान्त र त्यसको सही प्रयोगले नै संस्कारको जन्म हुने हो । योबाट हामी के निष्कर्षमा पुग्न सक्छौं भने या त हामीसँग सिद्धान्त नै खराब छ र यो अवस्था श्रृजना भएको हो या हामीले सिद्धान्तलाई कतै खोपीमा लगेर थन्काएका छौं र व्यक्तिका आफ्ना सनकहरुलाई सिद्धान्तको रुपमा मानिरहेका छौं । यद्यपि, हामी नयाँ परिवेशमा आइपुगेको कारण यसलाई सोझ्याएर अगाडि वढ्ने ठाउँ पर्याप्त छन् ।

 विचारको मामलामा एमाले र माओवादी दुवै स्खलित हुँदै गएको होइन र ?
    
संस्कृतिको मामलामा चाहिं विलकुलै सही हो । विचारको मामलामा आजपनि हामी कमजोर छैनौं । तत्कालिन एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवाद पनि सामन्तवादलाई परास्त गर्ने नेपालको नयाँ जनवादी कार्यक्रम थियो । र तत्कालिन माओवादीले अंगिकार गरेको एक्काइसौं सताब्दीको जनवाद पनि कम्युनिष्टहरु कसरी सत्तामा पुगेर बिग्रन सक्छन् ? भन्ने विषयको गम्भीर समीक्षाका साथ थियो । अन्ततः त्यो पनि नयाँ जनवादी कार्यक्रम नै थियो ।

यही मूल सिद्धान्तमा आधारित दुई पार्टी थिए । यो दुवैलाइ मिलाएर अहिले ‘जनताको जनवाद’लाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाउने भनेर घोषणा गरिएको छ । यो ठिकै छ । किनभने त्यो दुवै सिद्धान्तमा भएको आजको आवश्यक विषयलाई नयाँ सन्दर्भमा विकसित गरिने भनिएको हो ।

तर यो सन्दर्भमा ‘जनताको जनवाद’ भन्ने शव्दावलीले हाम्रो लक्ष्यलाई पक्रन सक्दैन । हामी समाजवादमा जाने कुरा स्पष्ट छ । यसर्थ जनयुद्धले श्रृजना गरेका सिद्धान्त र बहुदलीय जनवादले ग्रहण गरेको सिद्धान्त नयाँ जनवादका लागि थियो । अब समाजवादमा जाने भएपछि ‘जनताको जनवाद’ होइन नेपालको सन्दर्भमा ‘जनताको समाजवाद’ चाहिँ नेकपाको मार्गदर्शक सिद्धान्तको रुपमा राख्न जरुरी छ ।

तर सिद्धान्त मात्र भएर केही काम हुनेवाला छैन । सिद्धान्त निर्माण एक जटिल कर्म हो । त्यो भन्दा झनै जटिल कर्म कार्यान्वयन हो । आफ्ना सिद्धान्तको सही प्रयोगमा आफैंप्रति निर्मम हुन नसक्नुको परिणाम यीदुवै पार्टी वैचारिक स्खलनको मार्गमा देखिए जस्ता भएका हुन् ।

 हिजो लडाईंको मोर्चा सम्हाल्दाको सपना त यस्तो थिएन होला है ?
    
इमान्दारितापूर्वक भन्नुपर्दा यस्तो कल्पना चाहिं बिल्कुलै थिएन । म भर्जिन क्रान्तिकारी सोचसहित जनयुद्धमा सहभागि एक इमान्दार सिपाही थिएँ । चीनमा जसरी माओत्सेतुङले राज्यसत्ता कब्जा गर्नु भएको थियो, त्यस्तै तरिकाले नेपालमा कब्जा हुन्छ भन्ने सोचमा म बढी कन्भिन्सड थिएँ । जनयुद्धमा एकखालको क्रान्तिकारी अनुशासन कायम गरिएको थियो । त्यसको प्रयोग हामी राज्यमा गर्छौं÷गराउछौं भन्ने बुझाई थियो । संगठनको मामलामा कुनै स्थानलाई परिपूर्ति गर्नसम्बन्धित क्षेत्रका करिब सवै प्रतिस्पर्र्धीहरुको बारेमा उपल्लो कमिटीले मूल्यांकन गथ्र्यो । सो मूल्यांकन तल्लो स्तरमा कुनैपनि उपल्लो समितिको सदस्यले लुज टकिङ ग¥यो भने ऊमाथि स्पष्टिकरण सोध्ने मात्र होईन, उस्तै पर्दा निलम्वनको व्यवस्था थियो ।

आज सम्झिँदा त्यो एक मान्यता वनाइएको रहेछ । विधिको रुपमा त्यो कहिल्यै आएन । यस्ता खालका संस्कार त्यतिबेलासम्म कायम रह्यो, जतिबेलासम्म विभिन्न तहका नेताहरु क्रान्तिकारी रहे । यदि विधिको रुपमा व्यवस्थित भएको भए त्यो नेताको लागि समेत कानुन हुन्थ्यो । त्यो हुन सकेन । बिडम्वना के छ भने ‘एक्काइसाौं सताब्दीको जनवादबारे’  सिद्धान्तमा संसारका कम्युनिष्टहरु सत्ता प्राप्तिपछि जसरी विग्रिए भनेर समीक्षा गरिएको थियो, नेपालमा माओवादी नेताहरु पनि त्यही तरिकाले स्खलित भए । राजनैतिक कोणबाट हेर्दा आजको अवस्था जरुरी थियो, अन्य कोणवाट हेर्दा दुःख लाग्छ ।


 नेताले जनता र कार्यकर्तालाई धोका दिए जस्तो लाग्दैन ?
    
धोका त नभनौं । आज जुन खालको राजनैतिक परिवर्तन भएको छ, जनताले यसअघि प्राप्त नगरेको संवैधानिक अधिकार प्राप्त गरेका छन् । त्यसको जग भनेकै जनयुद्धको बल र जनआन्दोलनको तुफान थियो । जनयुद्ध नभएको भए जनआन्दोलन सम्भव थिएन । जनआन्दोलन नभएको भए जनयुद्धले आफ्नो लक्ष्यपूरा गथ्र्यो वा गर्दैन थियो, अनुमानित इतिहासको बहस हो ।

त्यसकारण धोका भन्ने शब्दको म प्रयोग गर्न चाहन्नँ । तर समग्र आचरण व्यवहार, विधि, पद्धति, आन्तरिक जनवाद, संगठनात्मक सिद्धान्त तथा प्रयोगको दृष्टिबाट हेर्दा चाहिं ‘ती नेताहरु झुठ बोल्नेहरु हुन्’ भन्छु । हिजोका लोकप्रिय नेता आजको समग्र चरित्रले तह अनुसारका सामन्तको रुप धारण गरेका छन् । इतिहासमा गरेको लगानीबाट सुदूर भविष्यसम्म बयाजको स्याज खाएर बस्ने काम सामन्त र सुदखोरले मात्र गर्न सक्छ, एक कम्युनिष्टले होइन ।

 दुइ ठूला पार्टीबीच एकता हुँदा नेता व्यवस्थापन चुनौतिको कुरा थियो होला । तर हिजो आफूभन्दा कम ओहोदामा भएकाहरु माथि पुगेर आफू यथास्थानमा नै बस्नु पर्दा कस्तो अनुभुति हुँदो रहेछ ?
    

पार्टीमा देखिने सामन्तवादको बढावा र विधि–पद्धतिको स्खलन भनेकै यस्तै सन्दर्भमा अभिव्यक्त हुने त हो । यति ठूला दुई पार्टी एकता हुँदा सबै नेता माथि मात्रै बसेर त सम्भव छैन नै । तर त्यसको निश्चित मापदण्ड र विधि खास कुनै समितिबाट निर्धारण गरेर यो कारणले फलाना माथि गयो, यो कारणले तिलाना तल वस्यो भन्दा एकाध बाहेक सबैले मान्नुपर्ने हुन्थ्यो । तर त्यस्तो देखिएन ।

ठाडै अपमान गर्नेगरी कार्य विभाजन हुँदा र व्यक्तिगत रुपले अन्याय हुँदा कसलाई मज्जा लाग्छ र ? आफ्नो समकालिन मित्र माथि गयो भनेर होईन, आफूमाथि अन्याय भयो भनेर ‘झोक’ चल्छ । मैले ‘झोक’ शब्द यसकारणप्रयोग गरेँ कि, यसमा संघर्ष मिसिएको छ । हो, मलाई दुख लागेको छैन तर नराम्ररि झोक चलेको छ । आफूमाथि ठाडा– ठाडो अन्याय हँुदा समेत झोक नचल्ने मान्छेले केही पनि गरिखाँदैन । मेरो व्यक्तिगत हैसियतको लागि मैले सम्हालेको कुनैपनि संगठनको हवाला दिन चाहदिनँ ।

तर म चुनौति दिएर भन्न चाहन्छु, मेरो समकालीन साथीहरुको तुलनामा कुनै नेताको छोरा, भतिजो, भाई, भान्जा, ज्वाईं, साला, भेना वा केही नभएपनि उहीं थरको वा एउटै गाउँको हुनुपर्ने मूल्यांकन बाहेक कुनैपनि मूल्यांकनधारी व्यक्तिले मेरो सक्रियता, प्रतिवद्धता, प्रतिस्पर्धा वा वैचारिक स्पष्टता र अन्य आवश्यक पर्ने तर्कबाट एक पोइन्ट मात्रै माइनस गर्ने हिम्मत राखोस्, म त्यो व्यक्ति सामू माफि माग्न तयार छु ।

हो, सामन्तवाद भनेको यही हो । हजारौं मान्छेहरुले रगत बगाएर सामन्तवादको अखडारुपी राजतन्त्र अन्त्य गरिएको हो । राजदरबारको प्रेत कम्युनिष्ट पार्टीभित्र प्रवेश गराउनको लागि होइन । समय लाग्ला तर यस्ता खाले सामन्तको प्रेतात्मालाई कसरी तह लगाउने भन्ने उपाय आजका आमयुवाहरुले राम्ररी वुझ्दछन् । निरन्तर संघर्षबिना कुनै उपलब्धी सम्भव छैन । हिलोकै बीचमै फूल्ने हो कमल, पहरा फोरेरै निस्कने हो पिपल ।


 अब राजनैतिक यात्रालाई कसरी अघि बढाउने वा कुन भूमिकामा रहेर काम गर्ने सोच्नु भएको छ ?
    
कुनै पद वा प्रतिष्ठाको कारणले मेरो राजनैतिक यात्रा रोकिने होइन । र मेरो राजनीतिको उद्धेश्य केवल पद मात्र पनि होइन । बिल्कुलै सत्य के हो भने, पद यात्राको सारथि भने हुन सक्छ । राम्रो सारथिले यात्रालाई कुशल र सहज बनाइदिन्छ । सारथिबिना युद्धनै नहुने हो र ? अब त झन् रथबिनापनि रथ भन्दा कमजोर नहुने गरी कुद्छु । सारधिबिना पनि विकृति र आन्तरिक सामन्तवादविरुद्धको युद्ध निरन्तर लड्छु ।

मलाइ केन्द्रीय भूमिकामा निगाह नगरिएको हो । मलाई राम्रो भएको छ । म लम्बे अभियानमा निस्किएको अथक सिपाही हुँ । ‘वैशाखी टेकेर मसँग युद्ध गर्छु’ भन्ठान्नेहरुले त्यस्तो कल्पना नगरे हुन्छ । उनीहरुलाई मेरो सुझाव छ कि, आफ्नो चारखुट्टे यात्रा जारी राखे हुन्छ । मेरो प्रतिस्पर्धा कुनै वैशाखीवाला सिपाहीसंग छैन ।

मेरो यात्रा, मेरो बेग, मेरो लक्ष्यआज कल्पना गरिएको भन्दा अझ अगाडिसम्म छ । नपुगौंला, त्यो भविष्यको कुरा हो । तर म पुग्छु भन्ने आत्मविश्वास बोकेर निस्किएको हुँ । मसिना लौराहरु समाएको थिएँ । त्योपनि फालिदिएको छु  ।  मेरो भूमिका म आफैं तय गरेर अगाडि बढ्छु । कसैले दिएको भूमिका होइन, मैले संघर्ष गरेर लिएको भूमिकामार्फत अगाडि बढ्छु ।

हिजो सर्वहारा वर्गको नेतृत्वको लागि लड्नुभयो । आज आफ्नो समृद्धिको लागि मात्रै ध्यान दिनुभयो भन्ने आरोप छ नि !
    
आजपनि र भविष्यको कुनै पनि पलसम्म आफूलाई सामान्यभन्दा सामान्य जनताको उज्जवल भविष्यको मार्ग निर्माण गर्ने एक कुल्लीको रुपबाट कमजोर पार्ने छैनँ । जहाँसम्म आफ्नैमात्र समृद्धिको कुरा छ, कहिलेकाहिँ आफ्नो हँसिलो जीवन देखेर आफैंलाई दुख पनि लाग्छ । यो समाज कस्तो छ भने आफूसँग भएको कपडा सफा गरेर लगाउने, आफ्नो सारा दुखलाई भित्रभित्रै पचाएर उन्मुक्त हाँसेर हिंड्नेर दुःख पर्दा जसोतसो सहयोग गर्नेलाई नै उछितो काड्न मन पराउँदो रहेछ ।

भएको लुगा समेत नधोई लगाउने, रातपरेपछि टन्न जाँड धोक्ने, पर्दा कसैलाई सहयोग नगर्ने र आँशु झार्दै भ्रष्टाचार गर्ने भ्रष्टचारीप्रति सदाशयता देखाउँदो रहेछ । यो मेरो अनुभव हो । बाँकि कुरा बाँच्नको लागि खानु त सबैले पर्छ । चाहे त्यो नेता होस् वा कार्यकर्ता । खानको लागि केही पनि गर्नु हुँदैन भन्ने माग कसैले गरेको हो भने त्यसले साधु नेता होइन, अन्ततः भ्रष्टचारी निर्माण गरिरहेको हो ।  

 

 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved