अर्थसंसार
काठमाडौँ । थापाथलीको व्यस्त सडकमा सबै मानिसहरु आआफ्नो गन्तव्यतिर लम्किँदै थिए ।कसैलाई हिँडेर टाढा पुग्नु थियो त कोही त्यही सडकमा आफ्नो गन्तव्य तय गर्दै थिए । साँझ परेकोले मलाई पनि कोठामा पुग्न हतार थियो । कोही मानिस बसको प्रतिक्षामा थिए । कोही हिँड्दै थिए ।
सडकको छेउमा रहेकी दुब्ली महिलामा मेरो नजर पर्यो । सडकमा हिँड्दा सिर्सिर् हावाले हानिरहेको थियो । बिहानदेखि बेलुकासम्म सडकमा बस्दा उनलाई कति हान्ला हावाले ? चिसो बतासले सेकिरहेका बेला उनको दुब्लो शरिर उडाउला जस्तै देखिएको थियो । अफिस छुट्टी हुने समय भएकोले सडकमा मानिसहरुको भिड थियो । त्यही भिडमा छेकिएको थियो उनको सानो पसल ।
उनीसँग अर्को दिन कुरा गर्न म थापाथलीको सडक छेउमा पुगें । सुन्तलाको दानालाई एकातिर बोरामा र बदामलाई अर्कोतिर नाङलोमा राखेकी थिईन् ।सानो बाटो त्यही छेउमा रहेको उनको सानो व्यवसाय ।
‘बदाम कसरी हो ?’
‘एक मानाको ५० रुपैयाँ ।’
‘१ माना दिनुस न ।’
ग्राहक र उनीबीच यसरी सवाल जवाफ हुँदै थियो ।
ग्राहकहरु आउँदै थिए ।
उनको नाम किरण साह रहेछ । बिहान ९ बजेदिखि बेलुकी ६ बजेसम्म उनी त्यही सडकको छेउमा बदाम र सुन्ताला बेच्ने गर्छिन । प्राईभेट अफिसमा काम गर्ने कर्मचारीको भन्दा बढि छ उनको व्यवसायको समय ।१० वर्षअघि आफ्नो सहर अर्थात जनकपुर छोडेर उनी आफ्नो परिवारसहित राजधानी आएकी हुन् । हेर्दा उमेर अल्लि बढी देखिए पनि उनी ३६ वर्षकी मात्र भईन ।सहरमा ब्युटी पार्लर धाएर मुहार चम्काउने महिलाको जस्तो चम्किलो थिएन उनको मुहार ।
बिहानै ५ बजे उठेर मन्डी जाने भएकोले कपाल पनि कोर्न नभ्याउने उनले बताईन । ‘यो सहरमा कसैले कसैलाई केहि दिँदैन्’, कुरा गर्दै जाँदा अल्ली कठिन स्वरमा उनले भनिन् ।उनका श्रीमान् ज्यामी काम गर्छन । ‘कति पढ्नु भएको छ ?’ भनेर सोध्दा ‘पढेको मान्छेले यसरी सडकमा बसेर व्यापार गर्छ भन्दै ठूलो स्वरमा बोलिन्् ।’ तीन सन्तानकी आमा बनिसकेकी उनले बाटोमा बस्दा मानिसहरुले हेप्ने गरेको गुनासो गरिन् ।
मानिसहरु हिड्ने व्यस्त सडक भएकोले कहिलेकाहीँ लातीले समेत कुल्चिने गरेको उनले बताईन् । बोलेर ग्राहकलाई आकर्षित गर्ने खुवी भएकी उनी यो राजधानीमा नबोल्ने मानिसलाई सबैले हेप्ने गरेको तितो अनुभव सुनाइन् । ‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन्’ भन्ने उखान सुनाउँदै उनी मिठो हाँसो हासिन् ।उनको बोल्ने कला देख्दा सबैले उनलाई पढेलेखेकी ठान्छन् ।
पढेर जागीर खाने सपना भएपनि त्यो अधुरै रहेको उनले बताईन् । आफ्ना छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने उनको रहर छ । दिनमा ४ सयदेखि ६ सयसम्म कमाई गर्छिन उनी । त्यो कमाई घर खचैमै ठिक्क हुने उनले बताईन् ।‘सबैको जीवन एकैनासको हुदैन् । भाग्यमा जे लेखेर आएको छ त्यो भौग्ने पर्छ’, जीवनलाई भाग्यसँग तुलना गर्दै उनले भनिन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस