Like us!
Follow us!
Connect us!
Watch us!

तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौतामा हस्ताक्षर

शनिबार, १६ असार २०७५, ०८ : २५ मा प्रकाशित

तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौतामा हस्ताक्षर

अर्थ संसार, काठमाडौं–नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

प्राधिकरणकातर्फका कार्यकारी निर्देशक कुलमान घिसिङले र आयोजनाको प्रवद्र्धक कम्पनीकातर्फबाट प्रवन्ध–सञ्चालक प्रदिप कुमार थिकेले शुक्रबार जलाशययुक्त आयोजनाको पहिलो पीपीएको रुपमा आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

प्राधिकरण र कम्पनीबीच सम्पन्न विद्युत खरिद–बिक्री सम्झौताको मुख्य प्रावधान निम्नअनुसार रहेका छन्।

सम्झौता अवधि आयोजनाबाट व्यापारिक उत्पादन शुरु हुने मिति देखि ३० (तीस) वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ ।आयोजनाको व्यापारिक उत्पादन शुरु गर्नु पर्ने मिति ३० चैत २०८० (१२ अप्रिल २०२४) तोकिएको छ ।

प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम(१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)मा प्रतियुनिट क्रमश ः १२.४० र ६.०८ रुपैयाँमा खरिद गर्ने छ । साथै उक्त दरमा कम्पनीले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यबृद्धि पाउने व्यवस्थाअनुसार मुल्यबृद्धि पश्चात(९७ औं महिनादेखि) आयोजना अवधिभर खरिद दर प्रतियुनिट सुख्खायाममा १५.३८ र वर्षायाममा ७.५४ रुपैयाँ कायम हुने छ ।

साथै व्यापारिक उत्पादन शुरु हुने मिति कायम भएको महिनाको अर्को वर्षमा वार्षिकरुपमा वर्षायाममा उपलब्ध गराइएको ऊर्जाको अनुपातमा उर्जाको खरीद दर समायोजन गरिने व्यवस्था गरिएको छ । आयोजनाको शुख्खा र वर्षायामको क्रमश ः १७ करोड ८९ लाख र ३२ करोड ३६ लाख युनिटलाई सम्झौता ऊर्जा कायम गरिएको छ ।

यदि कुनै वर्षमा आयोजनाबाट उपलब्ध गराइएको सुख्खायामको उर्जा कुल वार्षिक उपलब्ध गराइएको उर्र्जाको ३५% भन्दा कम भएमा उक्त वर्षको लागि आयोजनाले जलाशययुक्त आयोजनाको सट्टा अर्ध–जलाशययुक्त आयोजनाको लागि तोकिएको खरिद दर लागू हुने व्यवस्था छ । प्राधिकरणले अर्ध–जलाशययुक्त आयोजनाका लागि शुख्खा र वर्षायामका लागि प्रतियुनिट क्रमश: १०.५५ र ४.८० रुपैयाँ खरिद दर निर्धारण गरेको छ ।

प्राधिकरणले व्यापारिक उत्पादन शुरु हुने मितिदेखि प्रत्येक महिना आयोजनाबाट उत्पादन हुने सम्झौता ऊर्जाको परिमाणसम्मको उर्जा खरिद गर्नु पर्नेछ । साथै अतिरिक्त उर्जाको हकमा प्राधिकरणलेजारी गरी माथि तोकिएको खरीद दरको ५० प्रतिशत दरमा खरिद गर्ने छ ।

आयोजनाबाट उच्पादन हुने विद्युत ऊर्जा दमौली–भरतपुर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाहित गरिने छ ।  

आयोजनाको पूूर्वाधार निर्माण कार्यहरु सम्पन्न हुने अवस्थामा रहेका छन् भने मुख्य संरचना निर्माणको लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनाको मुख्य संरचनाहरुको निर्माण कार्य नोभेम्बर २०१८ बाट सुरु गर्ने र ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ ।

यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको