Like us!
Follow us!
Connect us!
Watch us!

वर्षाको भलसँगै बग्यो करोडौँ बजेट

आइतबार, ३१ असार २०७५, ११ : ३७ मा प्रकाशित

वर्षाको भलसँगै बग्यो करोडौँ बजेट

अर्थ संसार, जाजरकोट– यहाँका स्थानीय सरकारले डोजर लगाएर बनाएका दर्जनौँ सकड बर्खायामको भलले छियाछिया पारिदिएको छ ।

जमीन नै कमजोर हुने गरी जिल्लाका सात स्थानीय सरकारले निर्माण गरेका सडक वर्षाको भलले कतै भत्काएको छ भने कतै बाटो पुरिदिएको छ । वातावरणीय प्रभाव मूल्यांकन बिना खनिएका यहाँका सडकले दर्जनौँ गाउँसमेत जोखिममा पारेको स्थानीयवासी बताउँछन् ।

छेडागाड नगरपालिकाले खनेको आन्तरिक सडक वर्षाको भलले बगाउँदा अहिले यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । यो नगरपालिकाले कति सडक निर्माण गरेको छ भनी सोध्दा नगरप्रमुख लालबहादुर महतराले सडक त खनियो तर कति किलोमिटर पुग्यो थाहा छैन भन्नुभयो ।

उक्त नगरपालिकाले वडा ७ र ८ वडामा मात्र सडक निर्माण नभएको र अन्य सबै वडामा सडक सञ्जालले छोएको उहाँले जानकारी दिनुभयो । सडक निर्माण गरिएका सबै ठाउँमा अहिले यातायात सेवा बन्द भएको छ । वर्षाको भलले सडक अवरुद्ध बनाएपछि सडकमा यातायात सञ्चालन हुन नसकेको हो ।

त्यस्तै शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले आफ्नो गाउँपालिकाभित्र निर्माण गरिएको सडकको यकिन विवरण आउन नसकेको बताउनुभयो । यो गाउँपालिकाभित्र आन्तरिक रुपमा सञ्चालनमा रहेका सबै सडक अवरुद्ध भएकाले अहिले यातायातका साधनहरु चल्न सकेका छैनन् ।

त्यस्तै जुनिचाँदे गाउँपालिकाभित्र २० किलोमिटर सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिनुभयो । यो गाउँपालिकामा यातायातका साधनहरु सञ्चालन छैनन् । सडक निर्माणका काम भइरहेकोले अर्को वर्ष यातायातका साधन चल्ने अध्यक्ष केसीले बताउनुभयो ।

नलगाड नगरपालिकाले १६ किलोमिटर नयाँ सडक निर्माण गरेको छ भने १५ किलोमिटर पुरानो सडकको स्तरोन्नति गरेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । यो नगरपालिका जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने भएकाले यहाँ यातायातका साधनहरु सञ्चालनमा छन् । केही नगरपालिका भित्रका आन्तरिक सडक अवरुद्ध भए पनि पुनःनिर्माण गर्दै यातायातका साधनहरु सञ्चालन गर्ने काम भएको उहाँले जानकारी दिनुभयो ।
सडक विभागले निर्माण गरेको नलगाडको वडा ८ स्थित मन्मै–हल्चौर सडक, कायखेत–हल्चौर सडकमा यातायात चल्न सकेको छैन् । यी सडकमा हिउँदयाममा नै यातायातका साधनहरु सञ्चालन हुन सकेका थिएनन् । सडकको मापदण्डभन्दा बाहिर गएर निर्माण गरिएका कारण यातायातका साधनहरु सञ्चालन हुन नसकेको नगरप्रमुख रावलले बताउनुभयो ।

वडा नं ८ का वडाध्यक्ष गोविन्द शाहीले आफँै डोजर लगाएर दुई वटा सडक खन्नुभएको थियो । यो सडकले कायखेत गाउँ, बगारा र मन्मै गाउँसमेत जोखिममा परेको छ । कायखेतमा सयौँ रोपनीमा लगाएको धानबाली नष्ट हुनाका साथै पाँच घरपरिवारसमेत विस्थापित भएको नगरपालिकाले बताएको छ ।

बारेकोट गाउँपालिकाले यो वर्ष १० किलोमिटर सडक निर्माण गरेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताउनुभयो । कुशेगाउँपालिका सबै वडामा यातायातको पहुँच पुगे पनि बर्खायाममा सबै सडक अवरुद्ध भएका छन् । वर्षाको भलले सबै सडकमा क्षति पुगेको हो ।

भेरी नगरपालिका भित्रका अधिकांश स्थानीय सडक पनि अवरुद्ध छन् । नयाँ निर्माण गरिएका सबै सडक अवरुद्ध भएको भेरी नगरपालिकाले जनाएको छ । नयाँ सडक कति निर्माण भयो भन्ने यकिन विवरण यो नगरपालिकाले पनि दिन सकेन । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको