Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी कार्यालय अनुगमन गर्दै सरकार

सोमबार, ३२ असार २०७५, ११ : १४ मा प्रकाशित

सरकारी कार्यालय अनुगमन गर्दै सरकार

अर्थ संसार, काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयको कार्ययोजनाको कार्यान्वयनको अनुगमन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुझाइएको आर्थिक वर्ष २०७५/७६ को कार्ययोजनाको अनुगमन गर्ने भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी गराउनुभयो ।

सबै मन्त्रालयका मन्त्री र सचिवले सरकारको नीति तथा कार्यक्रममा रहेर आव २०७५/२०७६ को कार्ययोजना प्रधानमन्त्रीलाई शनिबार पेश गरेका थिए ।

प्रधानमन्त्री ओलीले सबै मन्त्री तथा सचिवलाई एक महिना पहिले सरकारको नीति तथा कार्यक्रममा रहेर समृद्ध मुलुक बनाउनका लागि आ–आफ्नो मन्त्रालयको कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको थियो ।     उहाँका अनुसार भदौ १ गतेदेखि कार्ययोजना कार्यान्वयन भए/नभएको अनुगमन हुनेछ ।

“प्रत्येक मन्त्रालयमा पनि आ–आफ्ना अनुगमन संयन्त्र रहेका छन् । तर त्यसले मात्र पर्याप्त अनुगमन नहुने भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुगमन गर्नेछ”, उहाँले भन्नुभयो, “ठूलाठूला योजना प्रधानमन्त्री आफैँले र अन्य आवश्यकता अनुसार सचिव र सहसचिवले अनुगमन गर्नुहुनेछ ।”

प्रधानमन्त्री ओलीले पेश गरिएका कार्ययोजनालाई नतिजा निकाल्ने गरी कडाइका  साथ कार्यान्वयन गर्नसमेत निर्देशन दिनुभएको मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कुँवरले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आव २०७५/०७६ को बजेट साउन १ गतेदेखि कार्यान्वयन गर्न र आव २०७६\०७७ को बजेट पनि साउन १ गतेदेखि नै बनाउनका लागि सबै मन्त्रालयलाई निर्देशन दिनुभएको उहाँले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको